गाउँ सहर

भारतीय जंगलमा फेला परेको नेपाली गैंडा एसएसबीद्वारा नेपाल ल्याउनमा अवरोध 

  • अंगद यादव 
  • २५ मङ्सिर मंगलबार, २०७५ | २१:४६:०० मा प्रकाशित
तस्बिर : अंगद यादव, गाउँ सहर ।

नवलपरासी । दुर्लभ वन्यजन्तु गैंडा गएको साउन महिनाको बाढीमा नारायणी नदिमा बगेर भारतीय भूमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अवस्थामा रहेका छन् । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने प्रयास गरिए पनि एसएसवी र वनका कर्मचारीले अवरोध गर्दै आईरहेका छन् ।

गैंडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति बिना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताएका छन् ।

भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी राखेको र नेपालतर्फ आउन रोक लगाएको सुस्ताका स्थानीयहरुले बताएका छन् । नेपालबाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो ।  २ वटा गैंडा विहारको सिर्सिया जंगलमा रहेको र एउटा बिवादित क्षेत्र सुस्ता नजिकैको भारततर्फको जंगलमा रहेका छन् ।

गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेन्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको सुस्ता पुगेको टोलीले गैंडा फर्काउनका लागि भारतीय वन कर्मचारीहरुसँग पहल गर्दा केन्द्रबाट स्विकृती लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका सदस्य आजम खाँले बताए । खाँका अनुसार वन विभाग कर्मचारीको गैर जिम्मेवारीपूर्णले  क्रियाकलापले समस्या भएको बताए ।

हात्ति सहितको टोली सुस्तामै रहेको छ । चितवनबाट अनुगमनका लागि टोली आउन भनिएको भएपनि अहिलेसम्म सुस्ता आएको छैन । टोली आएर थप अधयन गरेपछि गैंडा फर्काउनका लागि पहल गरिने सुस्ता प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उपेन्द्र यादवले बताए । गैंडाको सुरक्षाका लागि नेपालकोतर्फबाट सुस्तामा रहेको शसस्त्र र जनपद प्रहरी खटिरहेको छ ।
 

तपाईँको मत