गाउँ सहर

खाद्यको चामल थोत्रो भवनमा, राम्रो ठाउँ नहुँदा मुसाको आहारा

  • २५ मङ्सिर मंगलबार, २०७५ | १४:४८:०० मा प्रकाशित

जाजरकोट । नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो । 

डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदैआएको छ । अहिले मौज्दात रहेको चामल राख्न भण्डारणको अभाव छ । सानो कच्ची, ठाउँठाउँमा भत्किएको एक कोठामा चामल राख्दा दैनिक मुसाले चामलको बोरा काट्दा हैरान भएको डिपो प्रमुख रुद्र देवकोटाले जानकारी दिए । 

संस्थानको आफ्नै भवन नहुँदा तत्कालीन नायकवाडा गाविसले उपलब्ध गराएको व्यक्तिको जग्गामा निर्माण भएको सानो घरमा अहिले चामल राख्दै आएको जाजरकोट खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । 

वर्षायाममा सो भवनमा राखिएको चामल भिजेर समस्या निम्तिएको थियो भने अहिले मुसाले चामल राखेको बोरा काट्दा नोक्सान भएको देवकोटको भनाइ छ । 

अधिकांश चामलका बोरा मुसाले काटेर ठुलो क्षति भएको देवकोटाले बताए । संस्थानको आफ्नै भवन नहुँदा कर्मचारीलाई दैनिक चामल बिक्री गर्न तथा बस्न समस्या भएको छ । बारेकोट गाउँपालिकाको २५ हजार जनसङ्ख्यलाई ध्यानमा राखी नायकवाडाको घाटबाट खाद्यान्न वितरण हुँदै आएको छ । 

जिल्लाको नलगाड नगरपालिका कालीमटी, दशेरा, छेडागाउँ नगरपालिका–८ घोगी, बारेकोट गाउँपालिका–५ मा भवन नहुँदा समस्या भएको संस्थानका प्रमुख बस्नेतले जानकारी दिए । भवनको अभावमा डिपोमा राखिएको चामल मुसाले काट्ने, ढुसी लाग्ने समस्याले गर्दा हैरान भएको उहाँको भनाइ छ । 

चामल बिक्री वितरण गर्न ठाउँको अभाव हुने गरेको उहाँले जानकारी दिनुभयो । चामल लिनका लागि स्थानीयवासीको भीड लागेको समयमा ठाउँको अभावले बिक्री वितरण गर्न हैरानी पर्ने गरेको छ ।

भवन निर्माणका लागि पटकपटक केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयमा जानकारी गराउँदा कसैले ध्यान नदिएको संस्थानको जाजरकोट कार्यालयले बताएको छ । 

सडक सञ्जालसँग नजोडिएका बारेकोट, पजारु लगायतका ठाउँमा खच्चडद्वारा खाद्यान्न ढुवानी गरिन्छ भने अन्य ठाउँमा हिउँदको समयमा कालीमटी, चौखा, घरङ्गामा यातायातका साधनमार्फत ढुवानी गरिँदै आएको छ । 

तपाईँको मत