शिक्षा

मध्यपश्चिम विश्वविद्यालय घटनालाई लिएर विद्यार्थी संगठनले दिए चेतावनी

काठमाडाैँ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको दम्ब र अलोकतान्त्रिक क्रियाकलापका बिरुद्ध आवाज उठाउँदा विद्यार्थी पक्रने, मुद्दा दर्ता गर्ने क्रियाकलापले राज्य व्यवस्थाकाे खिल्ली उडाएकाे भन्दै विद्यार्थी संगठनहरूले सरकारलाई चेतावनी दिएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै संगठनहरूले साे चेतावनी दिएका हुन् । 

विज्ञप्तिमा मंसिर २४ गते नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, अनेरास्ववियू क्रान्तिकारीका केस देवीचन्द्र उपाध्यायलाई काठमाडौँबाट र अनेरास्ववियूका नेता एवम मध्यपश्चिम विविका स्ववियू सचिव भरत शाहीलाई सुर्खेतबाट अपहरणको शैलीमा गिरफ्तार गरेका र झुट्टा मुद्धा गरेकोप्रति आपत्ती जनाएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएकाे छ, ‘नेता तथा विद्यार्थीमाथी मुद्दा दर्ता गर्ने र त्यसै अनुरुप संवादको बाटो छोडी राज्यपनि नेताहरुको गिरफ्तारीमा उत्रनुले समग्र राज्य व्यवस्थाको खिल्ली उडाएको छ । नेताहरुको तत्काल रिहाईको माग गर्दै अन्यथा आन्दोलनको आँधी बेहरीको सामानाको तयारी गर्न चेतावनी दिन चाहन्छाैँ ।’ 

शान्तिपूर्ण माध्यमबाट समाधान हुने बाटो नपहिल्याएर प्रशासनको अलोकतान्त्रिक र गैरजिम्मेवार रबैया अत्यन्तै निन्दनिय भन्दै पक्राउ परिएका विद्यार्थीको अविलम्ब रिहाइ गर्दै निकास खोज्न विज्ञप्तिमा भनिएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियूका का.वा. अध्यष रश्मि आचार्यद्वारा जारी विज्ञप्तिमा यदी निकास ननिस्किए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
 

तपाईँको मत