निर्माण

मेलम्चीमा अर्काे फन्डा, रकम नदिए काम रोक्ने ठेकेदारको चेतावनी

पछिल्लाे ६६ दिने अाश्वासन के हाेला ?

काठमाडौँ ।  बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा फेरी अर्काे फन्डा सुरू भएकाे छ । 

आयोजनामा ठेकेदार र आयोजनाबीच समयमै रकम निकासी नगर्दा अर्काे फन्डा सुरू भएको हो ।

मेलम्ची स्थित ठेकेदार कम्पनी इटालियन को अपरेटिभ मुरातोरी एण्ड सिमेन्स्टिस्टी सिएमसीले मुख्य हेडबक्सको चट्टान फुटाउँदा लागेको रकम नदिएको भन्दै काम अगाडी नबढाए पछि अर्काे विबाद थपिएकाे छ । आयोजनाले ठेकेदारलाई समयमै रकम उपलब्ध नगराएकाले सामान खरिद गर्न नसकेको भन्दै काममा ढिलाई गरिरहेको आयोजनाका सिनियर डिभिजन ईन्जिनियर राजेन्द्र प्रसाद पन्तले बताए ।

आयोजनाले मुख्य हेडबक्स फुटाउँदा लागेको रकम लगायत गरि ३५ करोड रुपैयाँ दिने गरि कन्ट्रयाक्टर तथा आयोजनाबीच विबाद मिलाउने (डिसबुटबाट) निर्णय भए पनि आयोजनाले भने सो रकम अझै नदिएको भन्दै काममा ढिलाई गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा ल्याउने सपना देखाउन थालिएको करिब २० वर्ष भएको छ । आर्थिक वर्ष २०५५/५६ मा आयोजना शुरू भएपछि दर्जनौं सरकार फेरिए । तर, मेलम्चीको पानी खाने काठमाडौँबासीको मनोकाङ्क्षा भने अझै पूरा हुन सकेको छैन । हरेक सरकार र तहका प्रतिबद्धताहरु अहिलेसम्म कागजमै सीमित छन् । आयोजना निर्माण थालिएको २० वर्षमा रू। ३ अर्ब ५८ करोड खर्च भए पनि मेलम्चीको पानी आउने भाका भने सरेको सर्‍यै छ । यो मामलामा बोल्नेदेखि लेख्नेसम्म सबै छुत बनेका छैनन्, सबै मुछिएका छन् ।

केहीसमय अघि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई संसदीय सुनुवाइमा प्रश्न गरे, ‘मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ ?’  भनेर । उक्त प्रश्नको जवाफमा ठाकुरले ६६ दिनमा सुन्दरीजलमा पानी आउने बताएका थिए ।  उनले भनेका थिए, ‘लेखेर राख्नुस्, ६० दिनमा प्राविधिक काम सकिन्छ । ६६ दिनमा सुन्दरीजलमा पानी झर्छ । अहिलेसम्म झुटो भए पनि अब हुँदैन । यसअघि खानेपानी मन्त्रीले दशैंमा मेलम्चीको पानी उपहार दिन्छौं भनेकी थिइन । तर, ल्याउन सकिएन, त्यसप्रति माफी माग्न चाहन्छु ।’ यही शब्द हो सचिव ज्यूको ।

कल्पना बनाईको मेलम्ची, स्वर्गीय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालादेखि अर्थात झण्डै २० वर्षदेखि बहुचर्चित विषय र स्थान ओगट्न सफल भएको छ । फेरी ६० दिने आश्वासन आएका छन् । हुन त यस्ता बाणी अनेकपटक आए र गए तर मेलम्ची काठमाडौँका घरमा आएको छैन । दैनिक समाचारहरु बनिरहे तर कहिल्यै पूरा भएन समाचार र वक्ताको बोली । यसैबीच फेरी चर्चा भएको छ ‘मेलम्ची अब दुर्इ महिनामा’ भनेर ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि फिनिसिङ, पाइप जडानलगायत काम बाँकी रहेका छन् भनि बताएका थिए ।  उनले सुरुङको अन्तिम ‘फिनिसिङ’, भेण्टिलेशन साफ्ट निर्माण, हाइड्रोमेकानिकल जडान, सप्लाई पाइप जडान, ‘इण्ट्र्युमेण्टल जडान’, परीक्षण तथा सञ्चालन, हेडवर्क्सको प्रमुख संरचनालगायत काम बाँकी नै रहेको जानकारी दिएका थिए । उनका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ९६ दशमलव ३ प्रतिशत भएकाे बताएका थिए ।

यसरी समय सर्दै ढाँट्दै जाँदा मेलम्ची कथा अझै नलम्बिएला भन्न सक्ने आधार देखिँदैन । खानेपानीमन्त्री बिना मगर केही समय अघि भएकाे समितिको बैठकमा आइतबार उपस्थित नहुनुले नै यो कुराको पुष्टि हुन्छ । सांसदहरूले ‘उनको अनुपस्थिति मिनी संसद्को अपमान’ भएको बताएका थिए । किनकी लाज भएको थियो मन्त्रीलाई, उनले दशैँतिहारमै पानी ख्वाइन्छ भनेर ठोकुवा गरेकी थिइन् ।

झुट र अाशाकाे चेपुवामा परेकाे मेलम्चीमा रकम निकासा शिर्षकले अर्काे मुद्धा थप्दा पावन्दीकाे खेति अब जनताले विश्वास नगर्ने देखिएकाे छ । यसले जनतालाई ६६ दिनमा पानी दिने अाशामा थप अर्काे ढुंगा थपिदिएकाे छ ।

आयोजनाले भने डिसबुटले गरेको निर्णय चित्तबुझ्दो नभएपछि पुन छानविन गर्न एक अध्ययन समिति गठन गरि काम गरिरहेको बताएकाे छ ।

तपाईँको मत