विश्व

२१ वर्षीया लिना भन्छिन् : ‘अधिकांश कोरियाली महिलालाई आफ्नो वास्तविक अनुहार देख्लान् कि भन्ने ठूलो डर छ’

  • २४ मङ्सिर सोमबार, २०७५ | २२:३९:०० मा प्रकाशित
दक्षिण कोरियाली युट्युव स्टार लिना बे

दक्षिण कोरियाली युट्युव स्टार लिना बेले अनुहारमा मेकअप गर्न सिकाउने भिडियाेहरूको सट्टा मेकअप हटाएको भिडियाे युट्युबमा राख्न थाल्दा केही नकारात्मक टिप्पणीहरूको अपेक्षा गरेकी थिइन् । तर ज्यान मार्ने धम्की नै आउलान् भन्ने उनलाई पटक्कै लागेको थिएन ।

२१ वर्षीया लिनाले निकै विचार गरेर मात्रै त्यस्तो निर्णय लिएकी थिइन् । सधैँजसो सिँगारपटार गर्न ‌सिकाउने व्यक्तिले शृङ्गार नगर्ने बानीलाई प्रोत्साहन दिने गरी भिडियाे पोस्ट गर्दा कसैले दोधारे मान्छे भन्लान् कि भन्ने चिन्ता पनि उनलाई लागेको थियो ।

र, उनलाई अब विना 'मेकअप' अथवा शृङ्गार नगरेर पनि बस्न सकिन्छ भन्ने देखाउने आफ्नो विचारमा अडिग भएर रहने बेला आयो भन्ने लाग्यो । 'मेरो विचारमा अधिकांश कोरियाली महिला देखावटी सौन्दर्यको पछि लागेका हुन् कि जस्तो लाग्छ', उनले भनिन् ।

'उनीहरूलाई अरूले आफ्नो वास्तविक अनुहार देख्लान् कि भन्ने ठूलो डर छ । कसैले उनीहरूलाई नराम्री भनेको सुनेमा महिलाहरूलाई निकै लज्जाबोध हुन्छ भन्ने मैले सुनेकी थिएँ । म पनि त्यस्तै थिएँ ।' उनले भनिन् ।

लिन बे ले शृङ्गार गर्दा लगाएको नक्कली परेला निकालेको, चेरी जस्तो रातो रङ्गको लिपीस्टिक पुछेको भिडियाे ५० लाखभन्दा बढी मानिसले हेरिसकेका छन् । हजारौँले उनीप्रति समर्थन जनाएका छन् । तर अरूले भने उनीमाथि व्यक्तिगत आक्रमण नै थालेका छन् ।

'मार्ने धम्की आएको केही समयसम्म त मलाई घरबाट निस्कन पनि डर लाग्यो,' उनले भनिन् ।

मेरो उत्कृष्ट रूप

अनुहारको सुन्दरतासँग सम्बन्धित लामो समयदेखि चलिआएको सामाजिक मान्यतालाई चुनौती दिन युवा कोरियाली महिलाहरूले थालेका हुर्कँदो अभियानको एक अंश हुन् बे । उनीहरू आफूलाई 'सौन्दर्यको बन्धन' बाट मुक्ति खोज्ने अभियानका सदस्य भन्ने गर्छन्।

सो अभियानमा विश्वास गर्नेहरू आफ्नो लामो कपाललाई खौरन्छन् र सौन्दर्य प्रशाधनको प्रयोग गर्दैनन् अनि आफ्नो त्यस्तो स्वरूपलाई सामाजिक सञ्जालका वेबसाइटहरूमा राखेर फैलाउने गर्छन् ।

कोरियाली समाजले आफूहरूमाथि लादेको बन्धन वा सीमितताहरूविरुद्ध गरिएको विद्रोहको कदमका रुपमा त्यसो गरिएको उनीहरू बताउँछन् ।

दक्षिण कोरियामा सानै उमेरदेखि नै महिलाहरूमाथि विभिन्न धारणाहरू जबर्जस्ती लाद्ने गरिन्छ । विभिन्न विज्ञापनहरूका सन्देशहरूले तिनीहरूलाई जीउ पातलो हुनुपर्छ, छाला मुलायम र गोरो हुनुपर्छ र अनुहार अण्डाकार हुनुपर्छ भनी निरन्तर दबाब दिने गर्छन् ।

सौन्दर्य प्रशाधन उद्योग संसारकै सबैभन्दा ठूलोमध्येको एउटा हो जसले एक वर्षमा विक्रीबाट मात्रै झण्डै १३ अर्ब डलरको कारोबार गर्ने गर्छ । दक्षिण कोरियामा संसारभरिकै उच्चदरमा कस्मेटिक सर्जरी पनि हुने गरेको छ । त्यहाँ मान्छेको सफलतालाई उसको सुन्दरतासँग समेत दाँजेर हेर्ने गरिन्छ ।

गत वर्ष गरिएको एक सर्वेक्षणमा कामको खोजी गरिरहेकाहरूमध्ये ८८ प्रतिशतले आफ्नो बाहिरी स्वरूपले नै काम पाउने वा नपाउने कुराको निर्धारण गर्ने बताएका थिए ।

सर्वेक्षणमा सहभागी आधाभन्दा धेरैले काम पाउनकै लागि आफू प्लास्टिक सर्जरी गर्न समेत तयार रहेको बताएका थिए ।

सुन्दरताको मापदण्डबाट मुक्ति
बाहिरी रूपमा गरिने सानो भन्दा सानो परिवर्तनले समेत त्यहाँ ठूलो चर्चा निम्त्याउने गर्छ । दक्षिण कोरियाली समाचार संस्था एमबीसीकी प्रस्तोता ह्युन जु इमले दक्षिण कोरियाली सञ्चार क्षेत्रमा अहिलेसम्मकै अभूतपूर्व मानिने निर्णय गरिन् । उनले लामो समयदेखि लगाउँदै आएको लेन्स र नक्कली परेली प्रयोग गर्न छाडिन् र चश्मा लगाएर समाचार पढ्ने पहिलो समाचारवाचिका बनिन् ।

उनलाई दर्शकले आफूलाई अल्छी भनेर टिप्पणी गर्लान् की भन्ने डर थियो । तर उनलाई समर्थनसहितका हजारौँ इमेल प्राप्त भए ।

उनले भन्छिन् 'यो चश्माले ममा धेरै परिवर्तन ल्याइदिएको छ । म अब आफूलाई असहज हुने कुनै पनि लुगा लगाउँदिनँ र अहिले मलाई निकै स्वतन्त्र भएको अनुभूति हुन्छ । यो चश्माले मलाई स्वतन्त्रताको पखेटा दिएको छ।'बीबीसी

तपाईँको मत