खेल

ए’ डिभिजन लिग : मनाङको लागातार सातौँ जीत

  • २४ मङ्सिर सोमबार, २०७५ | २०:०६:०० मा प्रकाशित

‘काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कामय गर्यो । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो । 

खेलको ६१औँ मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेर शीर्ष स्थानमा यथावत छ । मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ । यसैबीच आजको खेलसँगै सातौ चरणका खेल सकिएका छन् । आठौँ चरणका खेल यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने बताइएको छ । 

तपाईँको मत