खेल

इपिएल क्रिकेट : ललितपुर प्याट्रियस विजयी

  • २४ मङ्सिर सोमबार, २०७५ | १९:५४:०० मा प्रकाशित

काठमाडौँ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियसले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जयकिसन कोल्शावालाको उत्कृष्ट प्रदर्शनपछि ललितपुरले पोखरा राइनोजलाई आठ विकेटले हराउँदै दोस्रो जीत निकालेको हो । तमोर र कोल्शावालाले अर्धशतकीय इनिङस खेलेपछि पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले १५ ओभर पाँच बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । 

ललितपुरको जीतमा विस्फोटक ब्याटिङ गर्दै तमोरले ८२ रन जोडे । तमोरले ४१ बलमा चार चौका र आठ छक्काको मद्दतले सो रन जोडको थिए । कोल्शावालाले ३८ बलमा ५१ रन जोडे । दुवैले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यस्तै ललितपुरका सन्नी पटेल २० तथा सोनु तामाङ ११ रनमा अविजित रहे । पोखराका सुसन भारी र पाउल कालिङले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभरमा चार विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो । पोखराका लागि लेभीले सर्वाधिक ८४ रनको योगदान गरे । पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन जोड्दा सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले तीन विकेट लिए । 

लगातार दोस्रो जीत निकालेसँगै ललितपुर लिगको शीर्षस्थानमा उक्लिएको छ । ललितपुरले तीन खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा भैरहवासँग पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत मङ्गलबार दुईवटा खेल हुनेछन् । पहिलो खेल विराटनगर र पोखरा तथा दोस्रो खेल चितवन र भैरहवाबीच खेल हुने आयोजनकले जनाएको छ । 

तपाईँको मत