भिडिओ

“पूँजी बजार घट्याे भनेर हाेइन, बजारलाई व्यवस्थित गर्नकाे लागि अनशनमा बसेका हाैँ”

अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा

काठमाडौँ । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको दुईदिन भएकाे छ । 

अाइतबारबाट रिले अनशन सुरू भएकाे हाे ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका छन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउन आग्रह गरिएको छ । 

पूँजी बजार विरोधी अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा, गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत १३ बुँदाहरू समूहद्वारा माग राखिएका छन् । 

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पूँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विगतमा नेप्से १८८१ हुँदा रु २१ खर्बको पूँजी सङ्कलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा रु १३ खर्ब पूँजी छ । उनले भने, ‘यहाँ पूँजी बजार घट्याे भनेर अनशन बसेकाे हाेइन, गलत नबुझिइयाेस र नबुझाइयाेस, हामी बजारलाई व्यवस्थित गर्नकाे लागि अनशनमा बसेका हाैँ ।’

अनशनकर्ताका १३ बुँदे मागहरु यस्ता छन्

  1. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल विशेष कार्यक्रम ल्याओस् । पूँजी बजार विरोधी अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा र पूँजी बजारमैत्री ब्यक्तित्वलाई अर्थमन्त्री बनाईयोस् ।
  2. बैंक खाता र डिम्याट खाता ईन्टिग्रेट भएको अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।
  3. धितोपत्र बोर्डले तीन वर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।
  4. शेयर दलाल मार्फत मार्जिङ ट्रेडिङ तत्काल खुला गरियोस् ।
  5. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।
  6. धितोपत्र बोर्डले तीन वर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।
  7. ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलविद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।
  8. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताव सार्वजनिक गर्नु अगावै संस्थापक र आधारभूत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताव सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।
  9. सहायक कम्पनी खोलेर आबेदन गरेका वाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।
  10. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।
  11. नेपाल स्टक एक्सचेञ्जलाई तत्काल पुनसंरचना गरियोस् । यस क्रममा नेपाल सरकार र राष्ट्र बैंकको हिस्सालाई एकैचोटी विनिवेश गर्ने, ५१ प्रतिशत शेयर विदेशी रणनीति साझेदारलाई, कम्तीमा २० प्रतिशत सर्वसाधारण, नेप्सेका कर्मचारी र सबै शेयर दलाललाई बिक्री गरियोस् ।
  12. बीमा समितिमार्फत भएको बीमा कम्पनीको लाइसेन्स घोटालाको छानबिन गरी खराब र पूँजी पुर्याउन नसक्ने कम्पनीलाई तत्काल राम्रा कम्पनीमा समाहित गरी बीमा क्षेत्रमा कुनैपनि सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पर्नबाट बचाइयोस् ।
  13. सरकारले बढाएको ५० प्रतिशत पूँजीगत लाभकर फिर्ता गरेर हकप्रद तथा बोनसमा लाग्ने करसम्बन्धी व्यवस्थालाई तत्काल स्पष्ट गरियोस् ।
तपाईँको मत