खेल

एभरेष्ट प्रिमियर लिगः काठमाडौं किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित

  • २४ मङ्सिर सोमबार, २०७५ | १३:२०:०० मा प्रकाशित

काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौं किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले अविजित ४३ रन, सागर पुनले ३९, नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए । 

बलिङतर्फ चितवनका लागि साहव आलमले दुई, ललितसिंह भण्डारीले र पल स्टर्लिङले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो ।

चितवनका लागि दीपेन्द्र सिंह ऐरीले ४५ रन जोडे भने पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५, पृथु बाँस्कोटाले अविजित २० तथा भीम सार्कीले ७ रन बनाए ।

बलिङतर्फ काठमाडौंका लागि सम्शाद सेख र प्रदीप साहुले तीन/तीन तथा सागर पुन, अमरसिंह राउटेला र केभिन ओ व्रायनले एक/एक विकेट लिए । 

अहिले अर्को खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

तपाईँको मत