प्रेरणा

तरकारी खेतीबाट आठ लाख आम्दानी

  • २३ मङ्सिर आइतबार, २०७५ | १३:२७:०० मा प्रकाशित
सांकेतिक तस्विर

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेको हो । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । 

चौधरीले वार्षिक रु आठ लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए । सरस्वती कृषि सहकारीमार्फत तरकारी खेती शुरु गरेका चौधरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताए । “वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, वर्षमा रु सातदेखि आठ लाखसम्मको आम्दानी हुने गरेको छ,” उनले भने । 

उनले घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी तुलसीपुर, हापुरेलगायत बजार र गाउँमा बिक्री गर्ने गरेको बताए । सिँचाइको अभाव भए पनि वर्षात्को पानी सङ्कलन केन्द्र निर्माण गरेर तरकारी खेती गर्दै आएको चौधरीले बताए । 

उनले यस अघि अरुको काम गर्दा मासिक रु दश हजार कमाउने गरेको भन्दै आफनो व्यवसायबाट धेरै आम्दानी हुने बताए । उनले परम्परागत खेती बाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको बताए । ‘‘गरे केहुदैन र यही मनग्य आम्दानी हुन्छ,’’ उनले भने। 

चौधरीले आफुले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने त्यति नपाएको गुनासो गरे । ‘‘सिँचाईको अभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन उनले बताए । चौधरीले हाल गोल्भेँडा, गोभी, काउली, खुसानी र आलु खेती गरेको बताए । चौधरीलाई गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषकको रुपमा छनोट गरी पुरस्कृत समेत गरेको थियो ।  रासस

तपाईँको मत