सेवा

करिब दुई सय उद्योग तथा प्रतिष्ठानहरू सामाजिक सुरक्षा कोषमा सामेल

काठमाडौँ । सामाजिक सुरक्षा कोषद्वारा लागू गरिएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा झन्डै दुई सय उद्योग प्रतिष्ठान सामेल भएकाे काेषले बताएकाे छ । 

कोषले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मंसीर २० गतेसम्म सो कार्यक्रममा एक सय ९६ वटा उद्योग प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो ।

कार्यक्रममा सामेल हुनका लागि मंसीर ६ गतेदेखि आवेदन खुला गरिएको थियो । काेषले दिएकाे जानकारी अनुसार कार्यक्रममा १९४ जना रोजगारदाता पनि सूचीकरण प्रक्रियामा सामेल भएका छन् । 

कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरण प्रक्रियालाई सहज बनाउन कोषले अनलाईन सेवा संचालन गरेको बताए । कोषले संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण तीन महिनाभित्र गरिसक्नु पर्ने व्यवस्था गरेको जानकारी  उनले दिए । 

श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले गत मंसीर ११ गते कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ । 

तपाईँको मत