दृष्‍टिकोण

“एक-एक थोपा दूध हैन, कम्तिमा एक-एक गिलास दूध”

कांग्रेस ‘नम्बर वान’ बन्ने कडी

संसदीय निर्वाचनमा नराम्रो हारपछिको यो एक वर्षमा उच्च तहका नेताहरुले प्रत्येक सभा, सम्मेलान र बैठकहरुमा पार्टीलाई नम्बर वान बनाउने भन्न छाडेका छैनन् । एकठाउँ भनेका कुरा त्यो दिन भाईरल बन्छ अनि भोलिपल्ट सेलाउँछ । यही छ काँग्रेस परिवार भित्रको राजनीति । भने अनुसारको काममा लाग्नु त कता हो कता, भोलीबाटै गुट र उपगुटको दम्भगत राजनीति शुरु भइहाल्छ अनि पर्सि अर्कै खिचडी पकाउन नेताहरु व्यस्त हुन्छन् । यही भइरहेको छ अहिले ।

कुनैपनि चोक, चियापसल, कलेजहरू, खुल्ला प्राङ्गण, अस्पताल, सार्वजनिक स्थलहरूसमेतका खाली ठाउँहरूमा कांग्रेसकाे चर्चा कम छ । मुख्य प्रतिपक्षीको रुपमा पनि देख्न नसकिएको स्वयँ कांग्रेसी कार्यकर्ताहरुले नै बताईरहेका छन् । नेतृत्वको चाल देखेर कार्यकर्तामा निराशा बढी र संभावना कम देखिएको पाइन्छ । तर, कतिपयको बुझाई यो खराब अवस्था सँधै नरहने र सुधारपछि कांग्रेसनै यो देशको संवाहक हो भनेर पनि भन्छन् ।

पछिल्लो समय कांग्रेस बैठक र अार्थिक नीतिमा व्यस्त छ । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकमा आठ जना केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका छन् । पार्र्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ ।

कांग्रेसले सार्वजनिक गरेको १८ बुँदे आर्थिक नीति

नेपाली कांग्रेसले समग्र आर्थिक नीति केन्द्रीय कार्य समितिमा प्रस्तुत पश्चात पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अबको दिनमा कांग्रेसको आर्थिक नीति कस्तो हुने भन्ने बारेमा सह-महामन्त्री तथा समितिका संयोजक डा. प्रकाशशरण महतले बुधबार जानकारी दिएका थिए । कांग्रेसको समग्र आर्थिक नीति प्रजातान्त्रिक समाजबादी आवधारणा अनुरुप रहने संयोजक महतले बताए ।

०४६ पछि कांग्रेसले निजि क्षेत्रलाई प्राथमिक्ता दिँदै अवलम्बन गरेको आर्थिक नीतिका कारण मुलुकमा आर्थिक उत्पादनमा ठुलो वृद्धि भएको नीतिमा उल्लेख गरिएको छ ।  जस अन्तर्गत समाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिचाइ, गाउँ-गाउँ सम्म पुगेको जनाइएको छ ।    

कांग्रेसले आफ्नो नीतिमा पहिलो उच्च उत्पादकत्व आधारित दिगो र फराकिलो आर्थिक वृद्धिमा जोड दिएको छ । यस्तै समतामुलक लोककल्याणकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता, सदाचारयुक्त आर्थिक सुशासन हुनुपर्नेमा जोड दिएको छ  ।      

१८ बुँदे आर्थिक नीतिमा के छ ?  

१. बी. पी. कोइरालाले २०१२ सालको वीरगञ्ज अधिवेशनमा प्रस्तुत गरेको प्रजातान्त्रिक समाजवादी अवधारणा आज पनि सान्दर्भिक रहेको छ । बी. पी. ले प्रस्तुत गरेको प्रजातान्त्रिक अवधारणामा उत्पादन वृद्धि र आम जनताको पहुँचमा समुन्नतीको प्रतिफल पुर्याउनु पर्ने विषय आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उत्पादन वृद्धिका साथै आर्थिक समानताको लक्ष्य प्राप्त गर्ने तरिका भने समयसापेक्ष हुनु पर्दछ । आर्थिक संरचनामा आउने परिवर्तन सँगै समाजको विभिन्न वर्ग समूहको आवश्यकता र ती आवश्यकता पूर्ति गर्ने विधि प्रक्रिया फरक पर्ने हुनाले सो अनुसार लक्ष्य प्राप्त गर्ने तरिकामा गतिशीलता हुनु उत्तिकै जरुरी हुन्छ ।  

२. २०१५ सालमा बी. पी. कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार भएको बेला, भूमिमा आधारित अर्थतन्त्र र त्यसको स्वरुपलाई ध्यानमा राखी जोताहाको हक स्थापित गर्ने नीति अख्तियार गरियो । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसको सरकारले देशको आर्थिक वृद्धि साथै उत्पादनमा नीजि क्षेत्रको भूमिकालाई प्राथमिकताको साथ अघि बढायो । जसको कारण आर्थिक उत्पादनमा ठूलो वृद्धि भयो । सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिंचाई गाउँ–गाउँमा पुग्न थाल्यो । जसको कारण २०४८ मा नेपालीहरुको औसत आयु ५४ वर्ष भएकोमा अहिले ७२ वर्ष पुगेको छ । शिक्षामा सबैको व्यापक पहुँच विस्तार भयो । सडक सञ्जाल ७ हजार कि.मी. सडक रहेकोमा अहिले ८५ हजार कि.मी. भएको छ । ०४८ मा ग्रामीण समाज र अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखी अपनाएको कांग्रेसको नीतिका कारण विश्वले अवलम्वन गरेको सहश्राव्दी विकासको लक्ष्य पूर्ति गर्ने स्थितिमा आज नेपाल पुगेको छ । तत्कालिन राजश्व १२ अर्बबाट हाल ९५० अर्ब पुग्ने स्थिति बन्यो । माओवादी हिंसात्मक द्वन्द र अन्य राजनीतिक अस्थिरताका वावजुद यी उपलब्धी हुनुमा नेपाली कांग्रेसले अख्तियार गरेको आर्थिक नीति सही रहेको ठहर समितिले गरेको छ । यद्यपी, हामीले तय गरेको प्राथमिकता र अख्तियार गरेको नीतिहरुलाई बदलिदो आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानु उत्तिकै आवश्यक रहेको ठहर गरिएको छ ।

३. अहिलेसम्म अवलम्वन गरेको नीतिहरुको क्षेत्रगत समिक्षा गरी समय सापेक्ष परिमार्जन सहितको विस्तृत कार्यदिशा तय गर्न विज्ञहरु समेत सम्मिलित समिति गठन गरी विस्तारित प्रतिवेदन पेश गर्ने प्रस्ताव गरिएको छ ।  

४. वर्तमान सरकारको आर्थिक नीति र क्रियाकलाप हेर्दा यो सरकार कानूनी प्रक्रियाहरुलाई लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको देखिन्छ । यसले गर्दा लगानीकर्ताहरुले असुरक्षित महसूस गरी वैदेशिक लगानीमा ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पूँजी पलायनका संकेत देखिएका छन् । बढ्दो व्यापार घाटा, अकासिंदो व्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको छ । यसले गर्दा सरकारले भनेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य कागजमा सीमित रहने निश्चित देखिन्छ ।

५. वर्तमान सरकारले प्रस्तुत गरेको स्वेत–पत्रले सत्य तथ्यलाई तोडमरोड गरेको छ । नेपाली कांग्रेसको नेतृत्वको देउवा सरकारले सफलतापूर्वक निर्वाचन मात्र सम्पन्न गरेन, सरकार छोड्दा रु २५७ अर्ब राज्य कोषमा नगद समेत बचत गरेको देखिन्छ । व्यापार घाटा अहिले बढेको छ । विदेशी मुद्राको संचिति घट्दै गएको छ । त्यस बेलाको दाजोंमा लगानी गर्ने वातावरण खस्केको भनेर विश्व बैंकको प्रतिवेदनले भनेको छ ।

६. आगामी दिनमा पार्टीले बी. पी. कोइरालाले अख्तियार गरेको आर्थिक वृद्धि सहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समय सापेक्ष गतिशिलता अपनाउने नीतिलाई अपनाईनेछ । साथै, गत समयमा अपनाएका नीतिहरुको आलोकमा कार्यान्वयनमा देखिएका समस्या र बदलिदो आवश्यकता अनुसार गर्नु पर्ने परिमार्जन सहित पार्टीको आर्थिक नीति निम्न अनुसार केन्द्रीत हुनेछ । पहिलो, उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि । दोस्रो, समतामुलक लोककल्याणकारी राज्य । तेस्रो, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता । चौथो, सार्थक वित्तीय संघीयता । पाँचौ, सदाचारयुक्त आर्थिक सुशासन ।

७. उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी र विदेशी लगानी भित्र्याउने र यसका लागि लगानी प्रक्रियालाई जिम्मेवारी सहितको विकेन्द्रीकृत एकद्वार प्रणाली लागू गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायहरु संरक्षण गर्ने नीति अख्तियार गरिनेछ । कृषि क्षेत्रमा देखिएको प्रतिफल भन्दा लगानी ज्यादा भएको स्थितिलाई समाधान गर्न वास्तविक किसानहरुको आवश्यकताहरुलाई ध्यानमा राखी सुलभ व्याज दरमा कृषि ऋण सहितको अनुदान नीति ल्याउने र भूमिको खण्डीकरणलाई रोक्न, करार र सहकारी कृषिलाई सहयोग गर्ने नीति लिनेछ । कृषिजन्य वस्तुमा उत्पादक किसानले न्यायोचित मूल्य सुनिश्चित गर्ने नीति ल्याइने छ ।

८. स्थानीय जनता प्रत्यक्ष लाभान्वित हुने पर्यटनको विविधिकरण र उच्च मूल्य आकर्षित गर्ने पर्यटनलाई प्रवद्र्धन गर्नेछ । नेपाललाई धार्मिक–सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने नीति लिइनेछ । यसका लागि पर्यटन केन्द्रीत सडक तथा हवाई पूर्वाधारको विकास गर्ने, काठमाडौँ-निजगढ दु्तमार्ग र जंगलको न्यूनतम वन तथा पर्यावरणीय क्षतिमा निजगढ विमानस्थललाई पूरा गर्ने नीति अख्तियार गरिनेछ । कर्णाली प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।

९. व्यापार घाटा कम गरी स्वदेशी जलविद्युतको उपभोग बढाउन २०३० बाट पेट्रोलियम पदार्थमा आधारित यातायातका साधनको प्रयोग पूर्ण अन्त्य गर्दै घरायसी प्रयोजनमा विद्युत उपभोग बढाउने नीति अख्तियार गर्नेछ ।

१०. विद्यमान सडकहरुको स्तरोन्नती गर्दै पर्यटकीय स्थललाई जोड्ने सडकहरु विकास गर्ने, सहरी क्षेत्रमा स्थानीय सरकार र निजी क्षेत्रको सहभागितामा ‘मास ट्रान्जिट सिस्टम’  को विकास गर्ने, व्यवस्थित वस्ती र योजनावद्ध सहरको विकास गर्ने र सूचना प्रविधिमा आधारित स्मार्ट सिटीको अवधारणालाई कार्यान्वयन गर्ने नीति लिनेछ । 

११. उर्जा क्षेत्रमा स्वदेशी विदेशी लगानी आकर्षित गरी राष्ट्रिय आवश्यकता पूर्तिको साथै निर्यात बजारको विविधकरणबाट पाँच वर्षभित्र नेपालको सम्पूर्ण क्षेत्रमा विद्युतिकरण पूरा गरिनेछ ।

१२. विदेशी ऋण लिँदा राष्ट्रिय प्राथमिकताको क्षेत्र, लागत लाभ र दाताको शर्तको मूल्याङ्कनको आधारमा मात्र ऋण स्वीकार्ने नीति अख्तियार गरिनेछ । जलवायु परिवर्तनको असर, व्यापार र पारवहनको स्थितिलाई मध्यनजर गरी राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर आर्थिक कुटनीति संचालन गरिनेछ ।

१३. नेपाली कांग्रेस समतामूलक लोककल्याणकारी राज्यमा विश्वास गर्दछ । स्वास्थ्य सेवा र शिक्षा राज्यको प्राथमिक जिम्मेवारीमा पर्दछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य आम नागरिकको पहुँचमा पुर्याउने लक्ष्यमा अब कांग्रेसको स्वास्थ्य तथा शिक्षा नीति केन्द्रीत हुनेछ । सूचना प्रविधियुक्त अध्ययन सामाग्री र रोजगारमूलक प्राविधिक र व्यवसायिक शिक्षामा राज्यले व्यापक लगानी विस्तार गर्ने नीति लिनेछ । त्यस्तै स्वास्थ्य र शिक्षाको गुणस्तरीय विस्तारका लागि “सबैका लागि गुणस्तरीय स्वास्थ्य र सबैको लागि गुणस्तरीय शिक्षा” को अवधारणालाई कार्यान्वयन गर्नेछ ।

१४. नेपाली कांग्रेसले दिगो आर्थिक विकासमा जोड दिनेछ र राष्ट्रिय ढुकुटीको जथाभावी प्रयोग र वितरणलाई निरुत्साहित गर्नेछ । खास गरी महिला, दलित, सीमान्तकृत, आदिवासी जनजाति, गरीबहरुलाई लक्षित गरी सेवा र वस्तुको प्रयोगमा अनुदान दिएर, रोजगारी सुनिश्चित गर्दै सामाजिक बीमाको कार्यक्रम मार्फत सामाजिक सुरक्षा सुनिश्चित गरिनेछ । साथै देउवा सरकारले घोषणा गरेका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता, जटिल प्रकारका रोगीहरुलाई उपचार भत्ता दिने नीति पनि अगाडि बढाइनेछ । साथै, नेपाली कांग्रेसले शुरु गरेको श्रमिकहरुका लागि सामाजिक सुरक्षा प्याकेजलाई पनि कार्यान्वयन गरिनेछ । युवा स्वरोजगारलाई कांग्रेसले प्राथमिकता दिइनेछ । वर्षमा १२० दिनको रोजगारी सुनिश्चित गर्नुका साथै युवा उद्यमीहरुलाई सहुलियतपूर्ण ऋण, वेरोजगार शिक्षित युवाहरुलाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरे वापत भत्ता तथा वैदेशिक रोजगारबाट फर्केकाहरुलाई उनीहरुको सीप र पूँजीको प्रयोग गर्दै भविष्यमा पेन्सन सरहको लाभांश दिने कार्यक्रम अगाडि बढाउने नीति लिनेछ ।

१५. संघीय व्यवस्थालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउने पक्षमा कांग्रेस क्रियाशील रहनेछ ।

१६. सदाचारयुक्त आर्थिक सुशासन कायम गर्न राज्य संरचनाका विभिन्न तहमा जिम्मेवारी दिने र जिम्मेवार बनाउने नीति कांग्रेसले लिनेछ । कमजोर नियमन, विचौलियाको प्रभाव नियन्त्रण गरी आर्थिक पारदर्शिता सुनिश्चित गर्न सरकारले सार्थक हस्तक्षेप गर्नेछ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने निकायहरुलाई क्षमतायुक्त र नतिजामुखी बनाउनेछ ।

१७. समग्रमा पार्टीले प्रस्तुत गरेको आर्थिक नीति मूल आर्थिक समस्याहरुलाई पहिचान गरी तिनलाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि उन्मुख बनाउन अपनाइनु पर्ने रणनीतिमा केन्द्रीत छ । बी. पी. कोइरालाले भने जस्तै- “एक एक थोपा दूध हैन, कम्तिमा एक एक गिलास दूध” भन्ने अवधारणा अनुरुप उत्पादन वृद्धि र न्यायोचित वितरण लक्षित समुदाय एवं पछाडि परेका वर्ग र समूहमा पुर्याउने लक्ष्य तर्फ कांग्रेसको नीतिहरु उन्मुख हुनेछ ।

१८. आगामी दशक राष्ट्रिय पुनर्जागरणको दशक हुने र नेपाललाई दिगो विकासमा कम्तिमा मध्यम आय भएको मुलुक बनाउन नीतिगत सुधार मार्फत तीव्र गतिमा पूर्वाधार निर्माण, स्वदेशी एवं विदेशी पूँजी परिचालन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न कांग्रेसकै दर्शनमा आधारित दूरदर्शी आर्थिक अग्रसरता मुलुकले खोजेको छ । यस लक्ष्यप्रति कांग्रेस पूर्ण प्रतिबद्ध र इमान्दार रहेको आश्वस्त पार्न चाहन्छ ।

यसकारण गतिशिलता

अहिले यूवा नेतृत्व बढी दोधारमा छन् । विभिन्न प्रशिक्षण र गोष्ठीमा व्यस्त छन् । नेतृत्व जो आएपनि दललाई सुधारेर लैजानुपर्छ भन्ने कुरामा अडिग् छन् । यूवाको कुरा नेतृत्वले सुनेको छ, छैन तर गाउँ, नगर, उपमहानगर र महानगरमा पार्टीलाई एकढिक्का गर्दै मजबुद लोकतान्त्रिक पद्धति विकासमा लैजानुपर्नेमा दुइमत् देखिँदैनन् । तीनको चाहना सुनिन्छ/सुनिँदैन फरक कुरा हो तर, बजार तातेको छ यही कुराले । जति नै नयाँ भनिएपनि पुरानै खेलाडिबीचको यो खेलले कुनै नयाँपन नदिने तर्कपनि कार्यकर्तामाझ ठुलो मुद्धाबनी आएको छ । विकल्प पनि देखिँदैन, साँच्चै नयाँ अनुहारको नेतृत्व । कांग्रेसमा यो पक्ष एकदमै ठुलो समस्या बनी आएको विश्लेषकहरूको दावा एकातिर छ । आखिर त्यहि भएको छ ।

सबैभन्दा बढी शासनको बागडाेर सम्हालेको कांगेसले आफु उदार नीतिको पक्षधर भएपनि कार्यन्वयनमा आफैँ चुकेको स्वीकार्नै पर्छ । आफ्नै सरकारको बेलामा देशको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि पुर्याउन सफल कांग्रेस चाहेजस्तो बन्न सकेको छैन । विश्वव्यापीकरण, नीजिकरण र उदारीकरणमा जोड दिएको दलको नीति अनुरुपनै देशले फड्को मारेको स्पष्टै छ तर आन्तरिक र बाह्यको बेसहयोगको कारण बन्न खोजेका अनेकन नीति तथा रणनीतिहरू तुहिएर गएका छन् । जुटाएका स्रोतहरूमा गिद्धेनजरको प्रभावले धेरै सँस्थानहरू टाँट पल्टेका छन, रहेका केहीपनि त्यसको बाटोमा लामबद्ध छन् । मिश्रीत अर्थव्यवस्थाका कारण केहि खुकुलो नेपाली अर्थतन्त्रमा अदक्ष चालकका कारण स्रोतहरूको उचित परिचालन हुन नसक्नुले अविकासलाई वढवा दिएको छ । विभिन्न अवस्थामा पटक पटकको भार थेग्न हम्मे-हम्मे परेको अर्थतन्त्रले पछिल्लो अभावलाई पचाउन अत्यन्तै कठिन परेको थियो । पाउँदा नगर्ने र नपाए कुराकाट्ने रोगले कांग्रेस थला परेको छ, जसले कामगर्नेलाई वितृष्णा पैदा गराएको छ ।

मूल जोड्ने र सँरक्षण गर्ने भन्दापनि सक्ने अनेकन दुश्प्रयासहरूका कारण चाहेरपनि काँग्रेसले काम गर्न सकेको छैन । गर्न नदिनेपनि त्यहिँ हावी भएका छन् । कुशल नेतृत्वको खडेरी जम्दैगर्दा नयाँ केजरीवालहरू जन्मन सकेका छैनन्, यो पुरानो पार्टीमा । लोकतन्त्र, समाजवाद र एकताको चर्को गान गाउने अब्बल दलको नीति अनुरुपको यात्रा तय भन्दापनि अलोकतान्त्रिक परिपाटीको बाटो समात्नाले भएका राम्रा पक्षहरू कुनै टोकरीमा जम्मा हुन पुगेका छन् । दक्ष नेताकाबीच अदक्ष गतिविधिलाई आत्मसात गरिनाले पार्टी दिनप्रतिदिन ओरालो झर्दै गएको जान्दाजान्दैपनि अदृश्य खेलले प्रश्रय पाएको प्रष्टै देखिएको छ । त्यहिँमाथि गुटको राजनीतिलाई घोषित रुपमै मलजल गरिनालेपनि पद बार्गेनिङ्गमा कोहिभन्दा कोहि कम देखिँदैनन् । जसले सपार्ने भन्दापनि बिगार्ने खेललाई मजबुद् बनाएको छर्लङ्गै छ । यही कुराले निर्वाचनमा प्रत्यक्ष असर गरेकाे थियाे ।

पार्टी आन्तरिक किचलोबाट माथि उठ्न नसक्नुले पनि नेतृत्व तहमा खुलेरै विरोधका स्वरहरू बाहिर आउन थालेको धेरै भएपनि समाधानका लागि गत्तिलो प्रयासहरु हुन सकेका छैनन् । त्यसैले होला बी.पी. कोइरालाले अँगालेको समाजवाद एवं राष्ट्रवाद तथा मेलमिलापलाई कसैले कहिल्यै भुल्न नहुने भएपनि अाजकलका नेतृत्वले त्यो ख्याल नगरी हिँडेको प्रष्ट छ । गरिबमूखी योजनाहरू कम बनेका छन, बनेका पनि पुरा हुन सकेका छैनन् । झुपडीलाई अवसर र सेवाको आश देखाएका छन् तर काम गरेका छैनन् । देखाबटी गर्न पछिपरेका छैनन तर व्यवहारमा शुन्यता हावी भएको छ । अहिले नेपालमा प्रायः स्थानमा बाटोघाटो पुगेको छ भलै धुले नै किन नहोस । गरिबलेपनि जेटविमान चढ्न थालेका छन् । योजनाहरु गरिबमूखी बन्नपनि थालेका छन् । फाटेका लुगा लगाउनेकोे जनसंख्यामा घटोत्तरी आएपनि समग्र गरिबीको प्रतिशत देखाउनलाई मात्र घटाइएको छ । जाडोमा तातो लुगाको अभावमा मृत्युहुनेहरुको मात्रा बढ्दो छ । शिक्षा तथा यातायातमा खर्च बढी भएको देखाएपनि गाउँमा न सवारी साधन नै छ, न त शिक्षक नै छन् । यस्ता ब्याप्त समस्याहरुले बी.पी.को बिचार र उनले लिएको सिद्धान्तलाई अझ नजिक गरेर हेर्नेको लागि आँसु सावित भएका छन् । यो अभाव र अन्तरलाई यो नीतिले घटाउन सके कांग्रेसमा घटेको शाख माथि आउनमा सहयोग पुग्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

उचो सानलाई क्रमशः बिगार्दै लगेको योे अवस्थामा सुधार नल्याउने हो भने आगामी दिनमा काँग्रेसमा झन ठुलो अवरोध र हार देखापर्ने पक्का छ । दल विभाजित हुने अनेक शंकाहरू छ्याल्व्याल भएका छन् । पार्टी एकढिक्का गर्दै विभिन्न समयमा ल्याएका नीति तथा कार्यक्रमलाई सहज तरिकाले कार्यान्वयन गर्न सकेमा मात्र कांग्रेस फेरी जाग्न सक्ने देखिन्छ । यसको प्रतिशत मात्रा बढाउँदै लैजान सकेमात्र उसले भनेजस्तै ‘नम्बर वान’ पार्टी बन्नेमा शंका हुँदैन । याे १८ बुँदे नीतिपनि त्यस्तै हाे, लागू भए जनताकाे मन जित्न सक्छ, नभए परिवर्तनमा शंका छ ।

तपाईँको मत