गाउँ सहर

मानव अधिकार महाभेलाको तयारी पूरा

  • २० मङ्सिर बिहीबार, २०७५ | १९:३६:०० मा प्रकाशित
फाइल तस्विर

काठमाडौँ ।‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ मा शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने भएको छ । 

महाभेला आयोजक समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संयोजक नरेन्द्र खतिवडाले शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको सो भेला यही मङ्सिर २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । 

‘दिगो विकास र मानव अधिकार ः नेपालीको मूल सरोकार’ नारासहित शुरु हुने महाभेलाको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुहुनेछ । विगत वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिए पनि यस वर्ष प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, ५ को बाँके, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न कार्यक्रम गरेर महाभेला मनाउने तयारी भइरहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा दलित महिला उत्थान केन्द्र नेपाल, जुरी नेपाल र जागरण नेपाललगायत मानव अधिकारसँग सम्बन्धित करीब २५० सङ्घसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गर्न लागेको हो । सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो । सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ । महाभेला एक हप्तासम्म चल्नेछ ।    रासस

तपाईँको मत