खेल

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

  • २० मङ्सिर बिहीबार, २०७५ | १९:०७:०० मा प्रकाशित

काठमाडौँ । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पु¥याइएको छ । 

विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो । नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधार शिविर आज पु¥याएको सङ्का अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए । 

ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने उनले जानकारी दिए । 

“विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ”, उनले भने । 

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ । 

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।  रासस

तपाईँको मत