दृष्‍टिकोण

लगानीकर्ताको गुनासो : 'तिमीलाई कस्तो छ ? मलाई त सञ्चै शेयर खराब छ'

काठमाडौं । शेयरबजारमा लगानी गर्ने एक लगानीकर्तालाई क्यानाडामा हुने साथीले सोधेको हालखबरलाई जवाफ सामाजिक सञ्जालमा यसरी पोष्ट गरे। लेखिएको थियो- 'तिमीलाई कस्तो छ ? मलाई त सञ्चै छ शेयर खराब छ ।' यो  एउटा लगानीकर्ताको मनोविज्ञान सामाजिक सञ्जालमा सार्वजनिक भएको उदाहरण हो । यसले शेयरबजारमा लगानीकर्ता निराशा भएको देखाउँछ । 

खचाखच भरिने शेयर काराेबार गर्ने ब्रोकर कार्यालय सुनसान जस्तै देखिँदा यस क्षेत्रका लगानीकर्तामा शेयर बजारप्रतिको उत्साह कम देखिएको छ । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । तर शेयर बजारको विशेषता भनेकै घटबढ भइरहनु हो ।

लामो समयदेखि शेयर कारोबारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको छ । बजार तलमाथि हुँदा कारोबार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको शेयरमा उच्च गिरावट आएको छ ।

शेयरबजारको हालत कात्तिक महीनामा शेयरबजार सरदर १ दिन बढ्दा ३ दिन घटेको छ । कारोबार भएको २० दिनमा ५ दिनमात्र शेयरबजार बढेको छ भने १५ दिन बजार घटेको छ । मंसिर लागेपछि पनि घट्ने क्रम निरन्तर छ । 

अनलाइन कारोबार कार्यान्वयन भएपछि निरन्तर घटिरहेको शेयर बजारलाई उकास्छ भन्ने लगानीकर्ताको ठूलो आशा थियो। तर लगानीकर्ताको आशा विपरित बजारले उल्टो गति लिँदा नेप्से सूचक मात्रै होईन कारोबार रकममा समेत गिरावट आएको छ । 

अधिकांश म्युचुअल फण्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्थासमेत कमजोर बन्न पुगेको छ । शेयर बजारमा यस्ता फण्डलाई मेरुदण्डका रुपमा समेत लिइन्छ । पछिल्लो पटक शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । त्यसको प्रभावसमेत यसमा परेको छ । लगानीकर्ताले क्रमशः आफ्नो लगानी गुमाइरहेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव यस्ता सामूहिक लगानी कोषमा समेत परेको छ । सामूहिक लगानीका लागि स्थापना भएका यस्ता योजनामा समेत लगातार गिरावट आएपछि लगानीकर्तालाई समेत नकारात्मक प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ ।

ब्रोकर कम्पनीका अनुसार पछिल्लो समय ठूला लगानीकर्ताले बजारमा पहिलेको अनुपातमा शेयर खरिद बिक्री आदेश कम दिन थालेका छन् । पहिले दिनकै करोड रुपैयाँको खरिद बिक्री आदेश दिने लगानीकर्ताले अहिले मुस्किलले लाख रुपैयाँको आदेश दिन्छन्, ब्रोकर कार्यालयका एक कर्मचारीले भने, ‘पहिले उनीहरू शेयर खरिद गर्ने भएपछि बजार मूल्यमा बढाएर पनि शेयर खरिद आदेश दिन्थे तर अहिले उनीहरू एक रुपैयाँ पनि बजार मूल्य भन्दा बढ्न चाहँदैनन् । उनीहरु निस्कृय भएका छन्।’

वाणिज्य बैंक, विकास बैंक तथा जलविद्युत कम्पनीका हालत पनि अाेरालाे गतिमा छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्ताको अपेक्षा विपरित नगद लाभांस प्रस्ताव गर्न थालेका छन्। कम्पनीहरुले शेयरभन्दा नगद प्रस्ताव गर्न थालेपछि सूचक घट्न थालेको  विश्लेषकहरू बताउँछन् । 

शेयरको मूल्यलाई वर्तमानको कार्यसम्पादन तथा ब्यावसायिक मजबुती र भविष्यको प्रगतिको अनुमानले निर्धारण गरिरहेको हुन्छ र लगानीकर्ताले सोही अनुरुप लगानी निर्णय लिईरहेका हुन्छन् ।तर हाम्रो देशमा बाली भित्र्याउने बेलामा शेयर मूल्य आंकलन गर्न सकिने सबै सूचकहरु राम्रा तथा भविष्यको परिदृष्य समेत सबै सकारात्मक हुँदा हुँदै पनि बजार निरन्तर झर्नु र कारोबार रकममा उल्लेख्य कमी आउनुलाई शङ्काको नजरले हेर्नैपर्ने हुन्छ ।

बजारमा देखिएको व्याज दरको समस्या अझै केही वर्ष समाधान नहुने बैंकरले बताउन थालेका छन् । बैंकिङ तरलता अभाव चुलिँदै गर्दा बजारमा ब्याज दर ह्वात्तै बढेको छ भने थप लगानी गर्ने पैसासमेत बैंकहरुसँग सकिएको छ। व्याजदरको प्रभाव पनि शेयर बजारमा परेको छ। 

अर्कोतिर आफ्नो विवेकको प्रयोग नगरि महङ्गोमा शेयर खरिद गर्ने, अनि खरिद गरेको भोलिपल्टै बजार बढ्नै पर्ने ? बजार बढ्दा आफ्नो भाग्य भन्ने र घट्दा धैर्य गर्न नसकी तुरन्तै बिक्री गरिदिने प्रवृतिका लगानीकर्ताको आत्मविश्वासलाई प्रायोजित रुपमा बजार एक हजार बिन्दुभन्दा तल जान्छ भन्ने हल्ला फिँजाई सस्तोमा शेयर खरिद गर्ने ठूला तथा चलाख लगानीकर्ता पनि बजारमा हाबी छन् ।

आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ भने नयाँ लगानीकर्तालाई यसले अवसर प्रदान गरेको छ । बजार तल्लो बिन्दुमा झर्दा नयाँ लगानीकर्तालाई शेयर कारोवारमा प्रवेश गर्न सहज हुन्छ ।

लगानीकर्ता आफैँ सचेत नभई नियामक निकायले जस्तोसुकै कदम चाले पनि त्यो त्यति प्रभावकारी नहुने भएकोले आम लगानीकर्ताले शेयरको स्वभाविक मूल्यको बारेमा ज्ञान राख्नु उपयोगी हुन्छ ।

अब शेयर बजार बढ्छ भन्ने स्याल हुँईयाँमा उचालिदै गएको मूल्यमा खराब कम्पनीको शेयर किन्न कुनै हालतमा हुँदैन । कतिपय लगानीकर्ताहरु शेयर बजार घटेको बेला निराश बन्दै बजारबाट टाढा बस्छन् र बजार बढ्न थालेपछि हतारिएर उचालिएर शेयर किन्छन् र फस्छन् । घट्दो बजारमा सकेसम्म घटाएरै राम्रो कम्पनीको शेयर किन्नु राम्रो तरिका हो । शेयर बजार बढ्यो रे भन्ने हल्ला पान र चिया पसलसम्म फैलिएर सर्बत्र चर्चा हुन थालेपछि नयाँ लगानीकर्ताहरु लहै लहैमा बजार छिर्छन र त्यसले बजारलाई अरु उचाईमा पुर्‍याउने संभावना हुन्छ तर चलाख लगानीकर्ताहरु त्यही बेला आफुसँग भएको शेयर बेचेर बाहिर निस्कन्छन् र बजार फेरि एउटा सन्तुलनको बिन्दुतर्फ आउनसक्छ ।

यसअघि हकप्रद, बोनस र एफपीओ जारी गरेका कम्पनीहरुको सेयर यतिबेला धमाधम नेप्सेमा सूचीकृत भइहरेको छ । सूचीकरण भएपछि बजारमा बिक्री गर्नेहरु पनि बढ्ने गरेका छन् । बजार सुस्त हुनुमा यसैलाई प्रमुख कारण मानिएको छ । बढ्दो आपूर्तिलाई व्यवस्थापन गर्न सेयर शिक्षा गाउँ-गाउँसम्म पुर्‍याउने, गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी खुला गर्ने, म्युचुअल फन्ड कम्पनीहरुलाई सेयर किन्न क्रियाशील पार्ने तथा बजार निर्माताको विकास गर्नुपर्ने देखिन्छ । 

बजार घटेका बेला भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र दिँदै आएको कम्पनीको शेयरको बजारमूल्य निकै कम भएको देखिन्छ । यस्तै बेला मौकामा हीरा खोज्न सक्ने लगानीकर्ताले नै भविष्यमा कमाउने हो । बजार बढेका बेला ताइन तुइको कम्पनी जसले राम्रो प्रतिफल दिएको पनि छैन, हकप्रदको भारी बोकाएको छ, त्यस्ता कम्पनिहरूको शेयरको बजार मूल्य उच्च भएका बखत शेयर खरिद गर्ने लगानीकर्ताले भने लामो समय धानिन पर्ने वा घाटा खानुपर्ने अवस्था आउँछ । सबैले सुझबुझका साथ शेयर खरिद गर्न भन्छन् तर लेखाजोखा आफैँ गर्ने हो ।

तपाईँको मत