दृष्‍टिकोण

कांग्रेसकाे जित-हारमा अझै रमाउने कि देश विकासमा लम्कने ?

एउटै भजनकाे कुनै तुक छैन

प्रतिनिधि सभा र प्रदेश चुनाव भइरहेको थियो । साठी हाराहारीका एक मान्यवर भन्दैथिए, ‘यो मेरो अन्तिम चुनाव हो ।’ शब्द सुन्ने बित्तिकै प्रतिप्रश्न गर्न मनलाग्यो । मैले सोधेँ किन अंकल । वहाँले भन्नुभयो ५० वर्षदेखि निरन्तर एउटै सिद्धान्तमा हिँडियो, अब दिक्क भएको छु । कसैलाई समर्थन नगरी आनन्दसँग भोट नहाली बस्न मन छ । यो उत्तरले जो कोहिको मनमा गम्भीरता ल्याउँछ । आखिर जनतामा किन चुनाव प्रतिको वितृष्णा बढ्दैछ भनेर । त्याे चुनावको मतदान प्रतिशतले पनि तृष्णा घटेको देखायाे । सायद अवस्था यहि रह्यो भने अर्को ५ वर्षमा झन घट्ने आंकलन गर्न सकिन्छ ।

नभन्दै वितृष्णा देखियोपनि । संघ र प्रदेशको चुनावको समयमा त्यहि देखियाे जुन अांकलन गरिएकाे थियाे । प्रजातन्त्र पछिको चुनावमा ६७ प्रतिशत मात्र मत खस्यो, जुन कम प्रतिशत थियाे । इच्छा घटेको कारण छ, त्यो हो नेताले काम गरेनन् । राष्ट्रिय विकास गरिएन, व्यक्ति विकास गरियो । अपरिहार्यतालाई ऐच्छिकतामा बदलेका कारण जनताको चुनावप्रतिको इच्छा क्रमशः घट्दै गएको प्रष्ट हुन्छ । तर, चुनाव भएको छ यो संक्रमणकालको ठूलो उपलब्धी मान्नुपर्छ र गर्व गर्ने ठाउँ छ । जनताकै साथबाट सम्भव भएको यो मतपरिणामबाट देशकाे संघीय संविधानले गति लियाे, पूर्णरूपकाे यात्रा तय गर्याे । 

चुनावको पछिल्लो परिणामले वाम गठबन्धनलाई दुइतिहाइ दिएको थियाे । अर्थात नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन (वर्तमान नेकपा) ले बढी मत पायाे । सबैभन्दा ठूलो इतिहास बोकेको पार्टी संख्यात्मक रुपमा अत्यन्तै खुम्चीएको छ । परिणामपछि समर्थन र बिरोधका स्वरहरुले स्थान पाएका छन् । कोहि भन्छन् कांग्रेस पत्तासाफ भएको छ त कोही आएको सिटसँख्याले कांग्रेसको जित भएको भनिरहेका छन् । तर, उम्मेदवार चयन र रहेको २२ दिनलाई भोट तान्ने दिन भनिएपनि भोट खसाउने मुद्धाको कारण कांग्रेसको कम सिट आएको विश्लेषकहरुले बताउँदै आएका छन् । हारको कारण पार्टीभित्रका व्यक्तिहरुको आवाजमा त आएको छ तर चुनाव हार्नुको कारणको विश्लेषण संस्थागत् रुपमा धेरै पछि अायाे, त्याे पनि जानेकै, एक गठबन्धन र दुइ अान्तरिक गुटवन्दी । विचार, बिमर्शहरुले कांग्रेस विचरा बनाए । अवस्था त्यति नाजूक नभएपनि जनमानसमा कांग्रेसको चिन्ता चाहिँ अहिलेपनि थामिनसक्नु छ ।

कांग्रेस चुनाव हार्नुको कारणहरु धरातलमै गएर हामीलेपनि खोज्ने प्रयास गर्यौँ । वामको गठबन्धन, कमजोर संगठन, ठेकेदार प्रणाली, मुद्धा, असन्तुष्टि, क्षणिक निर्णय, लगातारका उही नेता जस्ता कारणहरुलाई कांग्रेसी शुभचिन्तकहरुले गणना गरेको पायौँ । आखिर देखियोपनि त्यहि, जसका कारण चुनावमा कांग्रेस नमज्जाले पछारिन पुग्यो । सैद्धान्तिक हिसावले कांग्रेस ३५ प्रतिशत भएपनि संधैको वाघ भएको थियो । भिजेकाे विरालाेकाे अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयलाई बढवा दिएको छ । पछिल्लाे चुनावी परिणामले राजा बाहेकका सबैलाई जिताएको अनि जितेका छन् । कहिले त्यसकै दुश्मन त अहिले सहयात्री बनेर वाम गठबन्धनले जीत हासिल गरेको छ । भविश्य कस्तो हुने अनेक प्रश्नहरुले गाँजेपनि वर्तमानमा वाम गठबन्धनको जीतलाई संघीय संविधानको आधार मानिएको छ । यहि ५ वर्षले देखाउनेछ, देश विकासको आधार । गर्छु र गराउँछु भन्नेको आधार र सत्यता ।

चुनावी परिणामले जित्नुपर्नेले हारेको र हार्नुपर्नेले जितेको चर्चापनि उत्तिकै चलेको थियाे । काम गर्नेले हार नब्यहोरेका पनि होइनन् । इतिहासले त्यो कुरालाई प्रमाणीत गर्दै जाला । जितको माला पहिरिएसँगै देशको भार सम्झे देश बन्छ तर पूरातन शैली दोहोरिए देश झनै भूमरीमा पर्ने कुरालाई नवनिर्वाचितहरुले सोच्नैपर्छ । देशको काँडालाई पाखा लगाउन सके देशको भविश्य यहि नेतृत्वले कायापलटमा रुपान्तरण गर्न सक्छ । यसैको आशामा जनताको अभिमत पाएका दलहरुले नकारात्मकता त्यागेर अगाडि हिँड्न सक्नुपर्छ । किनकी आशाले अब धेरै कुर्न नसक्ने भएको छ, यो चुनाव त केवल एक प्रयोगमात्र हो । फेरीपनि पानी, सडक र बत्ती देओ भन्ने दिन नआओस भनेरै जनताको मत अत्यधिक परेको छ, कुनै एकदललाई । यदी यसको कदर नगरिने हो भने अर्को चुनावमा ५० प्रतिशत मत नझर्ने पक्का छ, जुन मान्य हुँदैन ।

समय चक्रअनुरुप दौडिरहन्छ र त्यो समयसँगै दौडनेहरुमाध्येमा कसैले जित्छ त कोहिले हार्छ । जसको जित र जसको हार भएपनि स्विकार गर्नु नै प्रजातान्त्रिक शास्वत नियम हो । समयसँगै कत्ति नेता र राजनेताहरुको आगमन भयो अनि हराए पनि । ठिक त्यस्तै नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले अहिले जनताको विश्वास जित्न विफल भएको छ ।  गौरवशाली नेतृत्वको विकास गरायो र समय अनुरुप देश हाँक्न पनि पछि परेन । तर, नेतृत्वशैलीकै कारण पार्टीले हार ब्यहोरेको छ । पार्टी हाँक्नेहरुमा विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला हुँदै शेरबहादुरको पोल्टोमा आइपुग्दा पार्टीले हार बेहोरेको छ । तर, हार्छु भन्दाभन्दै संविधानको कार्यान्वयनमा दिएको योगदानले भने कांग्रेसको छाती चौडा गराएको छ । यसलाई जित भन्ने की हार ! गर्विलो वहस भएको छ ।

इतिहासमा कांग्रेस 

बि.पि. कोइरालाले राणाशासनलाई पाखा लगाएर देशमा प्रजातन्त्रको स्थापना गरेका थिए । नेपाली काँग्रेसका संस्थापक राजनेता मात्र नभएर राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकारकै बुतोले वि.सं. २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याएको थियो । तर, त्यो खुसी धेरै समय रहेन ०१७ साल पुष १ गते प्रजातन्त्र जब्बरजस्त अपहरणमा पर्न गयो । त्यसपछि निरन्तर ८ वर्ष जेल जीवन बिताएका वि.पि.ले प्रवासबाटै नेपाली काँग्रेसको नेतृत्व गरी ०३३ सालमा त्यसताका राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको नजरअन्दाज गरी देशभित्र मृत्युदण्डको माग गर्ने  तत्कालीन हार्डलाइनर पञ्चहरूसंग जोखिम मोलेर राष्टिूय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए । प्रजातन्त्र र समाजवादी सिद्धान्तका पक्षधर वि.पि.ले सोसलिष्ट इन्टरनेसनलको संयोजकका रुपमा पनि अन्तराष्ट्रिय क्षेत्रमा भूमिका निर्वाह गरेका थिए । ०३७ सालको जनमत् संग्रहमा प्रजातान्त्रिक व्यवस्थाका पक्षमा नेतृत्व गर्ने वि.पि.ले मृत्यु हुने समय ०३९ सम्मै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । यसकारण पनि नेपाली कांग्रेस सदैब उनकै नाम, सिद्धान्त, कर्म र आकर्षणले अभिप्रेरित हँुदै आएको छ । उनैको नाम र आदर्शलाई पार्टीले व्यक्तिपिच्छेको बनाइँदा ‘मुखमा रामराम बगलीमा छुरा’ को अवस्था आइपुगेको छ । आदर्श नेताले भनेकै थिए, प्रजातन्त्र आएपछि सुकिला मुकिलाले पार्टी हाँक्नेछन्, तर दिन आएपछि ति आफैँ पाखा लाग्ने कुराको अहिले पार्टीभित्र आभाष गराएको छ । कारण यो मात्रै होइन, तर गत्तिलो कारण पक्कै बनेको देखिन्छ ।

धनी परिवारमा जन्मेका गणेशमान सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने कार्यमा आफूलाई होमेका थिए । भारतमा सक्रिय राणा हटाउ आन्दोलनमा होमिएका अर्का नेता वि.पि. कोइरालासँग सम्बन्ध विकास हुन साथ स्थापना भएको नेपाली काँग्रेसलाई जुझारु नेतृत्व प्रदान गर्न सिंहको महत्वपूर्ण भूमिका रहयो । वि.सं. २००७ सालको बिरगंज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले वि.पि. कोइरालाभन्दा धेरै समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वि.पि.का अनुयायी,  सबैभन्दा ठूला र महत्वपूर्ण समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री हुन पुगेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरणमा परेपछि उनले पनि आठ वर्ष निरन्तर काराबासी जीवन विताए  । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी वि.सं. २०३३ सालमा वि.पि. सँगै राष्टिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्व सक्रिय रुपमा धावा बोलिरहे । तत्कालीन पञ्चहरूबाट वि.पि. सँगै मृत्युदण्डको माग गरिएका सिंहले वि.सं. २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले वि.सं .२०४२ सालको सत्याग्रह आन्दोलन पनि आरम्भ गरेका थिए । वि.सं. १९९७ सालदेखि निरन्तर राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वमान्य नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान वि.सं. २०४६ सालमा रहेको थियो । पहिलो जनआन्दोलनका लागि कम्युनिष्टहरूसंग मिलेर पञ्चायतबिरूद्व आन्दोलनको घोषणा गरेका उनी उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भएका थिए ।

काँग्रेस राजनीतिका अर्का योद्धा तथा पूर्व प्रधानमन्त्री साथै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला जुझारु र संघर्षशिल नेता थिए । कम्युनिष्ट आधारबाट राजनीतिमा प्रवेश गरेका उनी पछिल्लो समयमा कम्युनिष्ट विरोधी हुँदै पछि सारथी बनाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गराएर सँधैका लागि विदा भए । राणाशासनका चर्चित प्रधानमन्त्री चन्द्रशमशेरले उनका बुवा कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाएर सर्वस्वहरणसहित देश निकाला गरेपछि भारत निर्वासनमा बसेको बेला वि.सं. १९७५ मा बिहार सहरर्सा जिल्लाको टेडीमा गिरिजाप्रसादको जन्म भएको थियो । प्रधानमन्त्री चन्द्र शमशेरको मृत्यु पछि पिता कृष्णप्रसाद कोइराला वि. सं. १९८६ मा विराटनगर फर्किए । त्यतिबेला गिरिजाप्रसाद ५ वर्षको मात्र थिए । पछि वि.सं. १९०३ साल असोज २ मा बुवा कृष्णप्रसाद कोइरालाले राणाशासन विरुद्घ विराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि तत्कालीन शासकले राजद्रोहको मुद्दा लगाई सर्वस्वहरण सहित पुनः देश निकाला गरेको थियो । त्यसपछि गिरिजाप्रसादले आफ्नै बुवाको बाटोलाई अनुसरण गर्दै राणाशासन विरोधि भावना लिएका थिए । जुझारु कोइराला २३ वर्षमै आन्दोलनको नेतृत्वमा पुगे । विराटनगर जुट मिलबाट चर्किएको आन्दोलनमा उनको नेतृत्व थियो । सन् १९४८ मा त उनी नेपाल टे«ड युनियन काँग्रेसको संस्थापक अध्यक्ष नै बने । सन् १९५२ देखि सन् १९६० सम्म काँग्रेसको मोरङ जिल्ला सभापति बनेका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालिएको थियो । त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गरेका थिए उनले । जेलबाट छुटेपछि एक्कासी भारत पुगेका कोइराला ११ वर्षपछि वि.पि. सँगै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । गिरिजाप्रसाद कोइराला सन् १९७५ देखि सन् १९९१ सम्म पार्टीको महामन्त्री भएका थिए । वि.सं. २०३९ साल साउन ६ गते वि.पि. कोइरालाको निधन पछि पार्टीलाई गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको त्रि–नेतृत्वबाट अगाडि बढाइएको थियो ।

त्यसपछि वि.सं. २०४८ सालको  चुनावपछि जेठ १६ गते बनेको सरकारमा त्यसताकाका महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुन पुगे । वि.सं. २०५३ साल वैशाख २९ गते काठमाडौँमा सम्पन्न काँग्रेसको नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित हुन पुगे । वि.सं. २०५७ साल माघ ९ गते काँग्रेसको दशौँ महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट पनि गिरिजाप्रसाद कोइरालानै फेरी पार्टी सभापतिमा निर्वाचित भए । वि.सं. २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपुरमा सम्पन्न एघारौँ अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुन पुगे । यसरी हेर्दा तिन कार्यकाल सम्म उनी निरन्तर सभापति भएका थिए ।

पहिलो जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न पुगे साथैे उनी १३ वर्ष अघिदेखि नै काँग्रेसको सभापतिमा रहदै पनि आएका थिए । दिल्लीमा भएको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता हँुदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान रहेको थियो कोइरालाको । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता कोइरालाले निरङ्कुश राणा शासनविरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्था विरुद्धको संयुक्त आन्दोलन र वि.सं. २०६२÷ ६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका गरेका थिए । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाएका कोइराला १० वर्ष लामो युद्ध गरेको हालको एकिकृत माओवादीलाई शान्ति प्रक्रियामा ल्याइ संसदीय व्यवस्थामा ल्याउन सफल रहेका थिए । 

त्यसपछिका अर्का प्रख्यात नेता कृष्णप्रसाद भट्टराई बुवा संकटाप्रसाद र माता ललितादेवी भट्टराई बाट सन् १९२४ मा बनारस, भारतमा जन्मेका थिए । राणा सरकारले देश निकाला गरेको कारण उनका बुवा भारतमा निर्वासन जीवन विताइरहेका थिए । अर्थशास्त्रमा स्नातक भट्टराईले भारत स्वतन्त्रताको आन्दोलनमा भारतिय राष्टिय काँग्रेससँग सम्बन्धीत भएर सक्रिय भूमिका निभाएका थिए । पछि नेपालमा राणा सरकारले राज्य विरुद्धको कार्य गरेको भन्दै १४ बर्ष सम्म जेल चलान गर्यो । भट्टराईले जेलबाटै पनि प्रजातन्त्रको लागि राणा विरोधी क्रियाकलाप भने सञ्चालन गरिनै रहे । वि.सं. २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री थिए । उनी शान्त नेतृत्वको रुपमा परिचीत थिए । पुनः वि.सं. २०५६ सालको चुनावमा पर्सा जिल्ला क्षेत्र नं. १ बाट चुनाव जितेर प्रधानमन्त्री भएका थिए । उनी वि.सं. १९४७ मा नेपाल राष्टिय काँग्रेसको केन्द्रीय सदस्य थिए । त्यसपछि नेपाली काँग्रेसको सभापति भएका थिए । वि.सं. २०१५ सालमा भट्टराई पहिलो सभामूख भएका थिए र त्यसबखत उनि ३६ वर्षका मात्र थिए । भट्टराई पहिलो पत्रकार महासंघको अध्यक्ष थिए । उनले सोभियत यूनियन र बेलायतको भ्रमण गरेका थिए । नेपाली काँग्रेस २ फ्याक भएपछि चित्त नबुझाएका भट्टराईले पछि गणतन्त्र स्विकारेको कारण देखाउँदै काँग्रेसले बाटो विराएको भन्दै टाढा भएका थिए । पछि ध्यान, योगा र गिता पाठमा व्यस्त देखिन्थे । झण्डै नब्बेको छेउछाउमा उनले पनि सदाका लागि सबैसँग विदा भए । तर उनले देखाएको भ्रष्टाचार विरोधी शैली, पार्टी र देशलाई दिएको योगदानलाई हामी चाहेर पनि भुल्न सक्दैनौ । सुशिल कोइराला सादगी नेताले नयाँ संविधान, २०७२ सम्म साथ दिए र सदाका लागि विदा भए । उनको सन्त शैलीको जति बर्णन गरेपनि कम हुन्छ । जाने बेलामा पनि संविधानका पिता कहलाए । प्रजातन्त्रको लागि निरन्तर खबरदारी, जेलनेल, अनेक संघर्षको सामना गरेका कोइरालासम्म पार्टीका हरेक काम कारवाहीलाई न्यायपूर्ण मानिन्थ्यो, मानियो । 

पछिल्लो कांग्रेस

पछिल्लो १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा चुनिएका शेरबहादुर देउवाको नेतृत्व सुरुवातीबाटै अबजशिलो बन्न पुग्यो । दुरगामी निर्णयहरुबाट बञ्चित हुँदै आन्तरिक किचलोमा समय बिताउनाले आलोचित बन्न पुगेको छ । कम्तीमा अघिल्ला आफ्ना बाणीहरूलाई देउवा कार्यकालमा पुरा गराउन जुन क्षमता राख्न सक्नुपथ्र्यो त्यो देउवामा पनि देखिएन । अनुशासन र सर्कुलर पार्टी भित्रै मान्दैनन् साथै विर्सिसकेको छ काँग्रेसले । मूलुकको पुरानो पार्टी काँग्रेस पनि समय अनुसार हिँड्न त खोज्यो तर उहि पुरातन् ढर्राले । फलतः आज देशमा स्थिर सरकार र देशी सफल योजनाहरु बन्नबाट टाढिए । जसको फाइदा अहिले वाम गठबन्धनले लिन पुग्यो र दुइतिहाइ बाजी मार्यो । चुनावी नारामा वाम एकतालाई धज्जी उडाउन देउवाको वाणीहरुले सत्यता पाएनन् । विपरित, वाणीको वर्षामा चेम्पीयन केपी ओलीको कटाक्षले सतक पुरा गर्न पायो । यो अवसर देउवाले दिएकै हुन् ।

एकताका काँग्रेस भन्ने वित्तिकै तन्, मन र धनले स्वागत गर्ने हातहरुमा ह्रास आउन पुग्यो, कारण नेतृत्व नै बन्न पुग्यो । पछिल्लो अवस्थामा उचित नेतृत्वको अभावमा काँग्रेस जनताबाट टाढिँदै गएको भान हुन थालेको छ । प्रजातान्त्रिक समाजवादको नारा घन्काएर नथाक्ने नेता तथा कार्यकर्ताहरुमाझ पनि तामझाम घट्दै गएको छ । पार्टी आन्तरिक किचलोबाट माथि उठ्न नसक्नुले पनि नेतृत्व तहमा खुलेरै विरोधका स्वरहरु घन्किन थालेका छन् । त्यसैले होला वि. पी. कोइरालाले अगाल्नु भएको समाजवाद एवं राष्ट्रवाद तथा मेलमिलापलाई कसैले कहिल्यै भुल्न नहुने भएपनि अजकलका नेतृत्वले त्यो ख्याल नगरी हिँडेको प्रष्ट छ । 

कारण यीनै हुन्, अहिले जनताले मत दिएनन् । दिनेले जितेन । अवस्थालाई पहिचान नगर्नाले पार्टी कमजोर भएको कुरालाई ध्यान नदिने हो भने यहाँ विश्वप्रकाशहरु हारिरहन्छन् । कार्यशैली नबुझे आगामी दिनमा काँग्रेसमा झन ठुलो अवरोध र हार खेप्नुपर्ने देखिन्छ । भविश्लाई आत्मसात गर्दै नयाँ बिचार, सहि निर्णय र शैलीको विकास गर्दै लैजान सके मात्र पूर्व र वर्तमान नेताहरुले गरेको त्यागलाई सम्मान मिल्ने देखिन्छ । जसलाई उदाहरण बनाउन सकिएमात्र नयाँ कार्यकर्ता र नेताहरुलाई उर्जा मिल्न सक्छ । नत्र संख्यात्मक हारलाई जित ठान्ने अवस्था आइरहन्छ, आफ्नो लागि तर धरातल कमजोर बनिरहन्छ । यसकारण प्राविधिक हारलाई तिलाञ्जली दिइ देश निर्माणमा सहयोगी बन्नु अहिले कांग्रेस सुधार्ने गत्तिलो उपाय हुनसक्दछ । र मात्र यहाँ बीपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, गिरिजा र सुशिल हुँदै देउवा बाँचीरहन्छन्, देशले जितीरहन्छ ।

अबकाे यात्रा

चुनावले ठूलाे सानाे बनाएपनि देश विकासकाे सवालमा काेही मात्तिने र काेही अात्तिने गर्नु हुँदैन । जितेकाले पनि अाज काम गर्न नसक्ने हाे भने भाेली उसकाे दिन अाउँदैन र चाहेरपनि गर्न सक्दैन । बनेका खाका, याेजनालाइ प्रभावकारी ढंगबाट याे समयमा लागू नगर्ने हाे भने भाेली नेकपाकाे पनि अहिलेकै कांग्रेसकै हाल हुने पक्का छ । तसर्थ, कांग्रेसले हारेकाे, यसलाइ पाखा लागएर अाफ्नाेमात्र काम गर्ने, अाफ्नालाइ मात्र गर्ने, कम्युनिष्ट भन्ने अनि विलाशी जीवन अाफैँ भाेग गर्नेतिरकाे बाटाे नेकपाले गर्नसकेमात्रै जनताकाे पछिल्लाे मतकाे मूल्य उठ्ने छ । यसकाे लागिपनि नेकपा सरकारले देशलाई केन्द्रमा राखेर विकासकाे उचाईलाई नबढाएसम्म र देशलाई नजिताएसम्म जितकाे कुनै अर्थ रहँदैन ।

तपाईँको मत