कला

लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक 'साइड हिरो' बजारमा

काठमाडाैँ । लेखक ब्रजेश खनालको संस्मरणात्मक पुस्तक 'साइड हिरो' बजारमा आएको छ ।

रेडियो, टेलिभिजन र सिनेमामा ब्रजेशको तीन दशक लामो अनुभवको रोचक संस्मरण 'साइड हिरो' हो । पुस्तकमा लेखकले मनोरन्जन क्षेत्रमा आफ्ना तिता-मिठा अनुभव र तिनले जन्माएका बिचारहरुलाई एकदमै भावुक, रमाइलो, गम्भीर र मनोरन्जनात्मक शैलीमा पस्केका छन् । 

आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोण बाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेका छन्, जुन आम पाठकका लागि सुरुचिपूर्ण र नयाँ स्वादको लाग्ने छ ।

लेखक ब्रजेश आफ्नो किताबको बारेमा भन्छन्- ''...यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ । यसमा आफ्ना उपलब्धिहरु र आफुले गाडेका झन्डाहरु होइन, आफुले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु । ...त्यसैले यो पुस्तकको शिर्षक 'हिरो' नभएर 'साइड हिरो' हो । ..यो पुस्तकले अलिकति भएपनि नेपाली रेडियो , सिनेमा र टेलिभिजनको भित्री पाटो र त्यहाँका उकाली-ओरालीका बारे बुझ्न सघाएछ भने म मेरो प्रयास सफल भयो भन्ठान्छु । "

लेखकका यस अघि यायावर र जुनेली उपन्यास प्रकाशित भैसकेका छन् र ति पुस्तकलाई आम पाठकले एकदमै रुचाएर पढेका छन् । 

साथै "साइड हिरो" पुस्तकको आज र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा परिचर्चा तथा पोखरेली पाठकहरुको माझ सार्वजनिकीकरण कार्यक्रम पनि भएको छ । कार्यक्रममा पुस्तकका लेखक ब्रजेशसँग अर्का लेखक गनेश पौडेलले अन्तरक्रिया समेत गरेका थिए । 

सांग्रिला बुक्स द्वारा प्रकाशित 'साइड हिरो' को पृष्ठ ३३६ रहेको छ र यसको मूल्य ४४८ रहेको छ ।

तपाईँको मत