दृष्‍टिकोण

कछुवाको गतिमा कांग्रेस, प्रतिपक्षी भूमिकामा पनि कमजोर

समर्थकको गुनासो बढ्दै

००३ सालमा जन्मेको नेपाली कांग्रेस जेष्ठ र गतिवान् पार्टी भनिएपनि उसका चालढालमा बढाइंचढाइं गर्नेको संख्यालाई घटाउन सकेको छैन । स्थापनाबाट नै अनेक आरोह, अवरोहबीच कहिले फुट्दै अनि जुट्दै निरन्तर प्रजातन्त्र र समाजवादको पक्षमा उभिएको पार्टीको गतिलाई लिएर अहिले खुलेरै आलोचना हुन थालेको छ । चुनावपछि त चुलिएका असन्तुष्टिहरु थामिनसक्नु छ ।

भर्खरै सत्ताको बागडोर सुम्पेको ठूलो दलले आन्तरिक समस्याकै कारण पछिल्ला कार्यहरुमा सरकारलाई खबरदारी राम्ररी गर्न सकेको छैन । राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य,, माओवादीको उद्घाटन र विश्राम हुंदै गणतन्त्रलाई संस्थागत् गर्ने कार्यमा अग्रपंक्तिमा उभिएको बुढो पार्टी स्थापनादेखि अहिलेसम्म गुट् माथि सहगुट्बाट ग्रसित् छ । आफ्नै समस्याले उता फर्कन नसकेको यो अवस्थामा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको स्वयं भित्रबाटै परिचर्चा हुने थालेको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्त मान्ने कांग्रेस आफैं आन्तरिक दलदलको शिकार भएको छ । व्यक्ति हावी हुंदै जांदा संगठन धराप हुंदै गएको छ । समाजवादी सिद्धान्तमा अझै निरंकुशताले प्रश्रय पाएकै छ । पूँजीवादी धारमा स्वतन्त्रताको नाममा गुट्, चोक र व्यक्तिको प्रभूत्व बढ्दै गएको छ । सम्मानका पदहरूमा गोजीका चिटहरूले स्थान पाएका छन् । पदमा बसेरपनि निर्णय गर्ने भन्दापनि धरापहरू थाप्ने कार्यमा नेतृत्व लागिपर्नुले बढी प्रश्नहरू उनीमाथी तेर्सिन पुगेको छ । 

पछिल्लो समयमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला नामहरूले चर्चित छ । संगठनको आवाजलाई टोकरीमा पुर्याएरै भएपनि व्यक्तिहरूले पार्टी चलाएका छन् । कार्यकर्ताहरूको पनि नाक फुलाउने माध्ययम यहि बनेको छ ।

छत्तिसे र चौह्रतरेको लामो गन्ध महशुष गरेको पार्टीले टोलै पिच्छेका नेतामा संस्थापन हुने रहर गर्दा कछुवा जस्तो ढिलो हुंदै गएको छ । पार्टीको महाधिवेशन भएको यतिका समय बितिसक्दापनि सन्तुलित केन्द्रीय समितिको निर्माण गर्न नसकेको जगजाहेर छ । पछिल्लो चुनावबाट त प्रदेश र केन्द्रमा करिब शुन्य जस्तो बनेको छ । 

पार्टीको केन्द्रीय बैठकहरू अहिलेपनि नियमित छैनन् । भर्खरै बसेको बैठमा नेतृत्वको आलोचना मात्र देखिएको छ । कार्यालय अझै व्यवस्थीत गर्न सकिएको छैन, तर भन्न छाडेका छैनन् हारेका छैनौं भनेर । भन्नेले बिपी र गणेशमानले कांग्रेस बांचेको सम्म भनेका छन् । पहिलो र दोश्रो स्थानीय तहको चुनावमा दोश्रो भएपनि राम्रै परिणाम आएको सम्म सांगठनिक निष्कर्श निकाल्न सकेका छैनन् । लेख, आलेख, पुस्तक र वाणीहरूमा व्यक्ति छरपष्ट भएपनि संस्थागत् निर्णय अझै छैन । यो अवस्थामा लोकतन्त्रको हिमायती भन्न सकिन्छ की सकिंदैन अनुत्तरीत छ । दुईवटा चुनावले दललाई चलायमानमा रुपान्तरण बनाउनुपर्ने भनिएपनि नेतृत्वको कछुवा शैलीले संसय उत्पन्न गराइदिएको छ । यहि भएरपनि होला ओलीजीहरू जस्ताले हरवखत गिज्याइरहेका छन् ।  

आन्तरिक गुटबन्दीका कारण पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको नेपाली कांग्रेसकै कतिपय नेताले बताउँदै आएका छन् । संस्थापन पक्षका ठानिएका कतिपय नेता चाहिँ पार्टीभित्र गुटगत विचलन देखिए पनि नीतिगत राजनीतिमा कुनै मतभेद नभएको भन्न रुचाउँछन् । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन, कांग्रेस कमजोर बन्नुका पार्टीभित्रको चरम गुटबन्दी र तीन दशकको अधिकांश जसो समय सत्ताबाट बाहिर निस्कन नसकेकाले नेपाली कांग्रेसले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको बताउँछन् ।

अहिले दुई तिहाईको बलियो सरकार रहेकाले पनि कांग्रेसले सातवटै प्रदेश र केन्द्रमा रचनात्मक प्रतिपक्षको भूमिका निभाउन नसक्दा उसैलाई ठूलो घाटा पुग्ने उनीहरूको तर्क छ । निभाउनु पनि कसरी ? कुनै प्रदेशमा नेतृत्वमा छैन । सातवटै प्रदेशमा काङ्ग्रेस विपक्षमा छ । तर त्यहाँ के भूमिका निभाउने भन्नेमा ऊ अझै अलमलिएकै छ । भर्खरै एक कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइरालाले त आफ्नो पार्टी इतिहासकै कमजोर अवस्थामा रहेको टिप्पणी गरेका थिए । उनले विभाजित मानसिकता लिएर सरकारविरुद्ध लड्न नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।

संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर सशक्त विपक्षी बनाउने सोच केन्द्रीय तहमा आएको छैन । देशको नयाँ संरचनामा भिज्न पार्टी असफल छ । संविधान अनुसार पार्टीको विधान बनेको छैन । देउवा सभापति बनेको अढाई वर्ष पुगिसक्दा पनि संगठन र विभागहरू नबन्नुले पार्टी नेतृत्वको चर्को आलोचना भएको देखिन्छ । नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यानै दिएका छैनन् । आफ्नै गुटको राजनीति गर्दै उनीहरू महासमिति बैठकमा ती नेताहरूले आफू बलियो हुने वा विधान परिवर्तनको नाममा राजनीति गरिरहेको कार्यकर्ताको ठम्याई छ । 

कार्यकर्ताहरूले हारेका नेताहरू पछाडि हटे पार्टी सुधारको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै आएका छन् । कतिपयको भनाइमा पार्टीभित्रको स्वार्थी समूहलाई विस्थपित नगरी सुधार सम्भव देखिँदैन । केन्द्रीय समितिको बैठक भने अहिले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको निर्वाचन सम्बन्धी विवादमा केन्द्रीत रहेको छ । चरम आन्तरिक विवादका कारण नेविसंघको निर्वाचन समयमा गराउन नसकेको काङ्ग्रेस नेतृत्वले पटक-पटक पछि धकेलिएको र चाँडै हुने भनिएको महासमिति बैठकबारे कस्तो रवैया देखाउँछ भन्नेमा धेरैको चासो देखिन्छ ।

आन्तरिक लोकतन्त्र र जनताको अपेक्षा, परम्परागत मनोवृति, नीतिगत सवालहरू, भ्रष्टाचार नियन्त्रण, सदाचारको सम्वर्धन, समाजवादी नीति, भागबण्डाको रोग, प्रविधिमा हेलचेक्राइँ जस्ता अनेक पक्षमा कांग्रेसले अबपनि सुधार नगर्ने हो भने परिणाम अवश्यपनि राम्रा नदेखिने आंकलन गर्न सकिन्छ । संगठनको अवस्थादेखि दिक्काउनेहरूको संख्यामा बढोत्तरी नदिनलाई पनि एक कांग्रेस एक नीति हुनु जरुरी छ । 

इतिहासका सबै कालखण्डमा अग्रणी भूमिका निर्वाह गरेको पार्टीले समय अनुसार रुपान्तरण आवश्यक छ । यसको लागि पाकाहरूले यूवालाई नेतृत्वदायी भूमिकामा स्थापीत गराउनै पर्छ । विगतदेखि सामाजिक, राजनीतिक र आर्थिक सुधारका पक्षमा कमाएको ख्यातीलाई स्थापीत गराउनु कांग्रेसको परम दायित्व हो । कांग्रेस चितुवाजस्तै बन्नु जरुरी भएको छ । स्वर्गीय बी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरूले सोचेको कांग्रेस बनाउनु वर्तमान नेतृत्वको अहिलेकाे अावश्यकता हो । यसकारण वर्तमान सरल पक्षहरूलाई लम्ब्याएर कठिन बनाउने भन्दापनि प्रभावकारी कार्यको अवतरण उसको लागि हतियार हुनेछ ।

भन्नलाई मात्र हो कछुवा ढिलो हिंडेपनि जित्छ भनेर तर व्यवहारले प्रमाणीत गर्न सक्दैन, अर्थात ताल चुड्कै नै जाती यो समयमा । यहि तालले आगामी निर्वाचनमा पहिलो दल हुने भनेर हिँडिरहे र आन्तरिक समस्या ज्यूँकातिहुँ रहे ‘ना रहेगा बाँस, ना रहेगा बाँसूरी’ ।

तपाईँको मत