प्रेरणा

‘शिशु जन्मिए सहकारीमा रु पाँच हजार’

  • ३० कार्तिक शुक्रबार, २०७५ | १८:०५:०० मा प्रकाशित

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ । 

बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्षअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सो कार्यक्रमअन्तर्गत बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले बच्चाको नाममा रु पाँच हजार सहकारीमा जम्मा गर्नु पर्नेछ । 

गाउँपालिकाले रु पाँच हजार र बच्चाको अभिभावकले रु दुई हजार रकम सहकारीमा जम्मा गर्नुपर्ने प्रावधान तयार पारेको गाउँपालिकाका प्रमुख खेमराज ओलीले जानकारी दिए । बर्थिङ सेन्टरमा जन्मिएको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्रका आधारमा उक्त रकम सहकारीमा जम्मा गरिनेछ । 

सहकारीमा जम्मा भएको रकम स्थानीयस्तरमै उद्यम गर्ने व्यक्तिलाई वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिने बताइएको छ । बच्चाको नाममा वार्षिक १२ प्रतिशतले रकम जम्मा गर्नुपर्नेछ । अध्यक्ष ओलीले एक बच्चाको रु सात हजारको छ महीनाको ब्याज रु ४२० हुने र रकम साँवामा जोडिने बताए । बच्चाका नाममा जम्मा गरिएको उक्त रकम २० वर्षमा रु ७१ हजार ७४२ पुग्ने छ । 

बच्चाको नाममा जम्मा गरिएको रकमले गाउँपालिकाभित्र उद्यमी तयार हुने भएकाले स्थानीयस्तरमै रोजगारीका अवसर सृर्जना हुनुका साथै महिला सहकारीको कारोवार बढ्ने उनको भनाइ छ । कोषलाई प्रभावकारी बनाउन महिला सहजकर्ता पनि नियुक्त गरिएको छ । सहजकर्ताले गाउँगाउँमा अभियान चलाउनेछन् । सोे कार्यक्रम सञ्चालनका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । 

कार्यक्रम मङ्सिर १ गतेदेखि शुरु गरिने छ । उक्त गाउँपालिकामा हरेक वर्ष करिब ५०० बच्चाको जन्म हुने गरेको छ । कार्यक्रम सञ्चालनका लागि महिला तथा बालबालिका एकाइले महिला सहकारी, सहजकर्ता र जनप्रतिनिधिसँग परामर्श गरिसकेको छ ।RSS

तपाईँको मत