प्रेरणा

टियाको जन्मदिनको खर्च रामेछापका मिर्गौला पीडितलाई

  • २८ कार्तिक बुधबार, २०७५ | १६:३२:०० मा प्रकाशित

काठमाडौँ । पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गौला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिएकी हुन् । करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना बुबाको उपस्थितिमा सो रकम बिरामीलाई सहयोग गरेर जन्मदिन मनाएकी हुन् । 

स्काउट शिक्षक एवम् पत्रकार बलराम प्यासीको पहलमा बालिका टियाले सो रकम आज मिर्गौला रोग पीडित माझीलाई हस्तान्तरण गरिन् । यसअघिका जन्मदिनमा टियाले विभिन्न विद्यालयमा अध्यनरत न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाउँदै आएकी छिन् । 

रामेछाप मन्थली गाउँपालिका–१ कुँडारका ४६ वर्षीय मिर्गौला रोग पीडित माझीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी विगत डेढ वर्षदेखि शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा हप्तामा तीन पटक डायलोसिस गरिहहेका छन् । श्रीमती, एक छोरा र दुई छोरीका साथ कोटेश्वरमा डेरामा बस्दै आएका बिरामी माझी बिहान–बेलुकीको समय स्थानीय सामाजिक क्लबको पानी वितरण कक्षमा रोजगारी गर्छन् । 

हप्तामा तीन पटक गरिने डायलोसिसका लागि आवश्यक पर्ने औषधि खर्च जुटाउन उनलाई हम्मेहम्मे भएपछि स्थानीय समाजसेवीले उनलाई धेरथोर आर्थिक सहयोग गर्दै आएका छन् । केही दिनअघि पनि उनलाई स्थानीय सुवेदी समाज कोटेश्वरले पनि आर्थिक सहयोग गरेको थियो ।

तपाईँको मत