प्रेरणा

‘माछाले उकासेकाे जीवन’

अढाइ दशकदेखि माछाको व्यापार

youtube

भीमदत्तनगर । नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आएका छन् । 

पहिलो पटक मावली घर आएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गरे । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थालेका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् । 

विसं २०४८ देखि नै माछाको व्यापार थालेका गजुरेल माछाको व्यापार बढ्दै गएको बताउँछन् । अहिले उनले दैनिक ४० किलोभन्दा बढी माछा बिक्री गरिरहेका छन् । उनले भने, “करीब २७ वर्ष माछाकै व्यापारमा बिताए ।” विसं २०४८ मा उनले रु ३५ मा प्रतिकिलो माछा बिक्री गरे । गजुरेल भीमदत्तनगरकै पुराना माछा व्यापारी हुन् । “अहिले बजार क्षेत्रमा धेरैले माछा पसल राखिसके,” उनले भने, “हामीले शुरुआत् गर्दा दुई पसल मात्रै थिए ।” 

माछा बिक्रीको आम्दानीबाट भीमदत्तनगरपालिका–१८ बागबाणीमा उनले घर बनाएका छन् । गजुरेलले सो व्यापारबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च चलाएका छन् । उनले भने, “अहिले मासिक रु २२ हजारदेखि २५ हजारसम्म बचत हुन्छ ।” भीमदत्तनगरमा अहिले माछा प्रतिकिलो रु २२० देखि रु ५५० सम्ममा बिक्री भइरहेको छ । पछिल्ला वर्षमा माछाको उत्पादन जिल्लामै बढिरहेकाले उपभोक्ताले ताजा माछा उपभोग गर्न पाइरहेका छन् । विसं २०५० मा करीब ९० प्रतिशत माछा भारतबाट आयात गरिन्थ्यो । “अहिले ४० प्रतिशत माग स्थानीय उत्पादनले धानेको छ,” गजुरेलले भने । 

विगतमा भारतको खटिमा बजारबाट माछा आयात गरिन्थ्यो । स्थानीय पोखरी तथा महाकाली नदीको माछाको माग बढ्दै गएको छ । “महाकालीको महासेर माछाको माग अत्यधिक छ,” उनले भने, “नदीको माछा अलि महंगो हुन्छ ।”     

त्यसैगरी भीमदत्तनगरपालिका–१८ बागबाणीका विष्णु कँडेलले माछाको व्यापार थालेको दुई दशक बितिसक्यो । “बुवा हुँदै आफू पनि माछाकै व्यापारमा लागेको हुँ,” उनले भने । जाडो याममा माछाको माग धान्नै गाह्रो हुने कँडेल बताउँछन् । भीमदत्तनगरस्थित बजारमा निर्मल माछा पसल सञ्चालन गरेका कँडेलले भने, “ मासिक रु ५० हजार आम्दानी भइरहेको छ ।” 

जाडो मौसममा केही महिना स्थानीय उत्पादनले धानेपनि पछि भारतबाट माछा आयात गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । “यहाँ बाह्रैमास माछा उत्पादन हुँदैन,” उनले भने, “गर्मीमा भारतबाट माछा आयात गरिन्छ ।” यहाँको गोवरिया, खैरभट्टी, लालपुर, सुडा लगायतका क्षेत्रमा उत्पादन हुने माछा भीमदत्तनगर बजारसम्ममा खपत हुन्छ । “कमाउने जग्गा छैन, सबै खर्च माछा बिक्रीबाट चलेको छ,” कँडेलले भने । अन्यत्र गएर दुःख गर्नुभन्दा आफ्नै व्यापार व्यवसाय गर्नु उचित भएको उनको भनाइ छ । रासस

तपाईँको मत