समाज

देउसी भैलीको सन्देश : ‘संस्कृति बचाउ, सरसफाइँ गरौँ’

  • २३ कार्तिक शुक्रबार, २०७५ | १२:३९:०० मा प्रकाशित
दमाैलीमा देउसी-रासस

सुर्खेत । आज यमपञ्चकको अन्तिम दिन भाइटीका । ११ः५५ बजेको समयलाई उत्तम साइत मानेर दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर दोस्रो ठूलो पर्व तिहार सम्पन्न गरिँदै छ । 

यही पर्वको अवसरमा देउसी भैली खेलेर कर्णाली प्रदेशका विभिन्न जिल्लामा संस्कृति संरक्षण र सरसफाइ प्रवद्र्धनको सन्देश दिन थालिएको छ । कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेकोप्रति चासो देखाउँदै संस्कृति र स्रष्टा संरक्षणको सन्देश दिएर देउसी भैली खेलिएको छ । 

संस्कृतिको धनी कर्णालीमा समेत बाह्य संस्कृति आयात हुन थालेपछि यहाँको मौलिक संस्कृति झल्काउने देउसी भैली खेलेर संस्कृति संरक्षणको अभियान थालिएको सम्पदा मल्टिप्रपोज प्रालि कालीकोटका प्रबन्ध निर्देशक दुर्गाप्रसाद काफ्लेले जानकारी दिए । “हामी संस्कृति, मौलिकता र स्रष्टा संरक्षणको अभियान थालेका छौँ”, प्रबन्ध निर्देशक काफ्लेले भने, “यसको संरक्षण मात्र नभई उजागर पनि गर्छौं ।” 

प्रालिले मध्य तथा सुदूरपश्चिमेली देउडा, लोकभाका, लोक सांस्कृतिक नाच, हुड्के नाचलाई देउसी भैलीमा प्रस्तुत गरिरहेको छ । नृत्यका साथै कर्णाली प्रदेशका प्रचलित भाका, लय, ताल र मौलिक शैलीका गीतसङ्गीतलाई समेत देउसीमा समावेश गरिएको छ । 

त्यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक घरबेटीलाई देउसी भैलीबाटै आफ्नो घर आँगन स्वच्छ, सफा र सुन्दर राखी सभ्य नागरिकको परिचय दिन सन्देश प्रवाह गरिएको छ । ‘गो ग्रिन, गो क्लिन’का अभियन्ता प्रतिमा चपाईले रासससँग कुरा गर्दै वीरेन्द्रनगरलाई ‘प्लास्टिकरहित शहर, हरित नगर’ निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ यो अभियान थालिएको बताए ।  

“हाम्रो देउसी भैलीमा हामीले यहाँका घरबेटीलाई डोको उपहार दिएर उनीहरुबाट सगुन लिएका छौँ”, चपाईले भने, “उनीहरुले डोकोमा फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरुन् । जसबाट सफा र सुन्दर नगर निर्माणमा सहयोग पुगोस् ।” देउसी भैलीबाट प्राप्त गरेको सगुन सफा, सुन्दर र हरियाली शहर निर्माणमा खर्च गर्ने उनको भनाइ छ । 

यो वर्षमा नव युवापिँढीले देउसी भैलीबाट सिर्जनशील काम गर्दा निकै खुशी लागेको कर्णालीका सामाजिक अभियन्ता दुर्गाप्रसाद पाण्डेले बताए । “नव युवापिँढीको यो कदम सराहनीय छ, अभियन्ता पाण्डेले भने, “यो सकारात्मक र प्रशंसनीय कदमलाई सबैले साथ दिनुपर्छ ।” रासस

तपाईँको मत