समाज

सुरुदेखि अहिलेसम्म एउटै शब्द : गृहमन्त्री ज्यू, हत्याराचाहिँ कहिले पत्ता लाग्छ ?

न भन्न छाड्छन्, न हत्यारा पत्ता लाग्छ !

reportersnepal

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टीखामकी १३ वर्षीया बालिका निर्मला पन्तकाे हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् ।

यसो त उनको यो शब्द नयाँ होइन, त्यसपछिका दिनहरुमा प्रायः दैनिक सुनिरहेका शब्द हुन्, फेरी आज सुनिएको छ । 

क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताएका थिए ।

उनले भने, ‘तपाईं अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ ‘जहाँसम्म निर्मला पन्त घटनाको कुरा छ, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’ उनले थपे ।

गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कडा भएर प्रस्तुत हुने चेतावनी दिए । उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु, अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान अझै तीव्र पार्नेछौँ ।’ 

धरातलमा पन्त हत्या पछिकाे अवस्था 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टीखामकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता लगाउन माग राख्दै तिहारपछि अनशन बस्ने चेतावनी दिएका छन् ।

अघिल्लो आइतबार कञ्चनपुर स्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे तिहारपछि अनिश्चितकालीन धर्ना र अनशन बस्ने चेतावनी दिएका थिए ।

घटना भएको एक सय तीन दिन बितिसक्दा पनि दोषी पहिचान गर्न सरकार असफल भएको भन्दै न्यायका लागि अनिश्चितकालीन धर्ना र अनशन सुरु गर्ने उनले बताए । ‘कात्तिक २५ गते सम्म पनि छोरीको हत्यारा सार्वजनिक नभए परिवारका सबै सदस्य जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि अनिश्चीतकालीन धर्ना बस्छौँ, धर्ना दिँदा पनि दोषी पत्ता नलागेमा अनशन बस्छु,’ पन्तले भने । पत्रकारहरूमाझ उनले आफू छोरीको न्यायका लागि प्राण त्याग्न गर्नसमेत तयार रहेको बताए ।

प्रहरीले अनुसन्धानका नाममा परिवार, आफन्त र छरछिमेकीलाई मानसिक यातनामात्रै दिएको उनको आरोप छ । निर्मला हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरोको टोली कञ्चनपुरमै छ । कञ्चनपुर प्रहरीले डिएनए परीक्षणका लागि शंकास्पद ४ जनाको नमुना काठमाडौँ पठाएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । हत्या भएको तीन महिना भन्दा बढी भइसकेपनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ ।

घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा संलग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।

बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याकाण्डमा अनुसन्धानमा देखिएको त्रुटीका कारण ७ वटा अनुसन्धान गरिए । यो बीचमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान टोली, प्रमाण नष्ट, सिआइबीका डिएसपी जिसीको निष्कर्ष स् अभियुक्त दिलीपसिंह विष्ट, एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन जारी, एसपी सेवानिवृत्त, अनुसन्धानमा खटिएका ज्ञवालीको बढुवा, अख्तियारमा सरुवा, एसपी दुर्गा सिंह नेतृत्वको टोली फिल्डमै, अनुसन्धान जारी, गृहका सहसचिव मैनालीको निष्कर्ष अनुसन्धान टोलीबाटै लापरबाही, विशेष ब्यूरोको टोली पनि घटनास्थलमै तर अविश्वास, एसपी र इन्सपेक्टरलाई सेवाबाट हटाइयो जस्ता अनुसन्धान र कारबाही भए ।

तर, हत्याराको पहिचान हुन सकेको छैन रैपनि नेताहरु भन्न छाडेका छैनन्, हत्यारालाई कारबाही हुन्छ भनेर ! घटना भएको आज १०७ दिन भईसकेको छ ।

तपाईँको मत