“जंक्शन” सन्त नेताकाे, ‘पान श्रीराम भण्डारकाे’

पातसँगकाे ३४ वर्ष

काठमाडाैँ । २०६७ फाल्गुण २० शुक्रबार अर्थात सन् २०११ मार्च को ४ गते नर्भिक अस्पतालमा शुभचिन्तकहरुको भिड थियो । भूतपूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई भौतिक जीवनबाट विदा भएका थिए । उनको मृत्युको खबरले न्यूरोड, कमलपोखरी र नयाँ बानेश्वरका पान र लक्ष्मी दिदीको खाजा पसल एकाएक बन्द थिए । ‘पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको निधन भएकोमा भावपूर्ण शोक व्यक्त गर्दछौं’, लेखेर पसलको सटरमा टाँसिएको थियो ।

तस्विर :पान भण्डार ।

स्वर्गिय सन्त नेता भट्टराई पान, चिया र चुरोटको शाैख प्रायः सबैलाई थाहा थियो नै । मिठाई, नुनिलो र चटपटे भोजनप्रति पनि उनको रुचि उत्तिकै थियो । 

तस्विर :पान भण्डार ।

पानका लागि भट्टराई न्युरोड, नयाँ बानेश्वर र कमलपोखरीसम्म पुग्थे । नयाँ बानेश्वरको श्रीराम पान भण्डार शोकमा त्यो बेला आइतबारसम्मका लागि बन्द भएको थियो । नियमित चिया खान जाने लक्ष्मी थापा मगर (लक्ष्मी दिदी) को चिया पसल नजिकै यो पान भण्डार छ । स्थानीय युवा समूहले लक्ष्मीको घरको मूल ढोकामै ‘सन्त किसुनजी अमर रहून्’ भन्ने ब्यानरको मुनि तस्बिरसहित शोक पुस्तिका राखेका थिए । यस्तै न्यूरोडको वेलकम पान भण्डार र कमलपोखरी पान पसलपनि शौकमा बन्द गरिएका थिए । 

नयाँ बानेश्वर चोकको छेउमा रहेको श्रीराम पान भण्डारमा पुग्नेबित्तिकै स्वर्गिय भट्टराईको फोटो पसलको अगाडि देख्नुहुन्छ, अनि पान खान जानेको चासो बढ्छ । अनि सोध्न थाल्छन् साहुजीलाई, कृष्ण्प्रसाद र पसलको सम्बन्धको बारेमा ।

०४१ सालमा राम नारायण शाहले पसल खोलेका थिए । ०४४ सालबाट भाई श्री शिव नारायणले सहयोग गरे । त्यसपछि याे व्यवसायमा शिव नारायण र महेश कुमार शाह जाेडिएका छन् । ०६४ सम्म भट्टराई आफैं भण्डारमा पुगे पनि बिरामी हुँदै गएपछि आवागमन पातलिएको सञ्चालक शिवनारायण बताउँछन् । चिया पसल नजिकै पान पसलका साहले भने, ‘उनी गाडीबाट ओर्लदैँनथिए, उनका मान्छेहरू पान लिएर जान्थे, पछि त पानी लिन सहयोगी मात्र आउँथे ।’

उसो त दैनिक ८-१० हजारको व्यापार हुने नै गर्छ तर चाडपर्वको बेला उनको मा ७०-८० हजारको दैनिक व्यापार भएको उनी बताउँछन् । भूतपूर्व स्वर्गिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पान खाने ठाउँ भनेर तपाइँले सोध्नुभयो भने जो कोहीले पनि नयाँ बानेश्वर संघीय संसद ३ नं गेट अगाडि देखाइदिन्छन् । शाह भन्छन, ‘गुणस्तरीय पान बनाउने र बिक्रीका कारण अाज याे नाम पाएका छाैँ ।’

हो घैँटे पान बना रसवाला...पानको पात, माया तिम्लाई सम्झन्छु ...सम्म

पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमीकासमक्ष आफ्ना व्यथा मात्रै प्रस्तुत गरेका छैनन, यसको मिठासको पनि खुलेर प्रशंसा गरेका अनेक घटना यत्रतत्र छन् । यसलाई अर्को रुपमा भन्दा जसरी प्रेमको वियोगमा प्रेमी छटपटाइरहन्छन्, त्यसरी नै प्रेममा डुबेका व्यक्ति मुखमा पान चपाउन नपाउँदा मायामा छटपटाइ रहन्छन् । तराईमा पान सहज रुपमा पाइने तर, कतिपय पहाडी जिल्लामा पान नपाउँदा, पानको मायामा छटपटाउनु स्वभाविक हो । आखिर पान त पानै हो, जो कोहीलाई पनि सँगै बनाइदिने । आज पान दैनिकी बनेको छ ।

कम पूँजीमा बढी मुनाफा दिने व्यापारको रुपमा पानको व्यवसायलाई लिन सकिन्छ । पसल थाप्न सानो ठाउँ भए पुग्छ । पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ । देशका मुख्य बजार र चोक चौराहामा पानको व्यापार अत्यधिक फस्टाएको छ । तर, तपाइँले ख्याल गर्नुभएको छ कि छैन ? पान पसल भएरमात्र होइन, ठूला व्यक्तिको नामसँग आज पान पसलहरु जोडिन पूगेका छन् । पक्कैपनि पानको गुणस्तरियताले नै काम गरेको हुनुपर्छ नाम जोडिनलाई ।

आयस्रोत कम भएरपनि छोरालाई डाक्टर, इन्जिनियर, पाइलट बनाएका व्यवसायीहरु अहिले देशभर नै छन् । मिहिनेतको फल मीठो हुन्छ भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन पान व्यापारी । बच्चा, परिवार, जग्गा, घर गर्दै मनग्य आम्दानीको स्रोत भएको छ अहिले पान व्यापार । यस्तै कथा शिवनारायणकाे पनि छ, उनी भन्छन, ‘परिवारलाई पालनपाेषण अहिलेसम्म गरेकाे छु र बसाेबासकाे लागि भक्तपुरमा एउटा टुक्रा जग्गा लिएकाे छु । घरपरिवारका अार्थिक भार यहीँ पसलबाट उठाईरहेकाे छु ।’ उनीसँगै भाई महेशकुमार शाह अहिले पसलमा सक्रिय छन् ।

अलिक अगाडिपनि समाचार बनेको थियो कि सप्तरीबासी मात्र वर्षेनी १३ करोडको पान खाँदा रहेछन् । यो तथ्याँक झण्डै ३ वर्ष अगाडिको हो, अहिले त यसमा वृद्धि भइसक्यो पक्कै । २८ प्रतिशित गरिबीको रेखामूनी भएको स्थानमा वार्षिक १३ करोडको पान खाने भन्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ, आश्चर्य नमान्नुहोस् यो सत्य हो । किनकी पानलाई मिथिला संस्कृतिमा शुभ मानिन्छ । शुभकार्यमा पान अनिवार्य छ । पूजापाठ र शुभकार्यमा प्रयोगबाहेक बिहानदेखि बेलुकैसम्म बेचिने पानको परिमाण उल्लेख्य छ । निम्न आय भएकादेखि सम्पन्नहरू र रिक्सा चालकदेखि सरकारी अधिकारीसम्मको मुखमा बिहानैदेखि पान हुन्छ । पानपसलमा एकाबिहानै पनि भीड देखिन्छ । सप्तरीमा मात्र होइन अहिले देशभर नै पान खानेको भिड देखिन्छ, चोक तथा बजारहरुमा । के यूवा तथा वृद्धा सबैको च्वाइसभित्र पर्न थालेको छ पान । यसैकाे एउटा हिस्सा भएकाे छ नयाँ बानेश्वरकाे श्रीराम पान भण्डार ।

पश्चिम बंगालको कोलकाताबाट पानको पात आयात हुन्छ  । भाडाको एउटा कोठामा बसेर जसोतसो पाेखरामा व्यापार थालेका कुशेश्वरले २० वर्षभित्र आफ्नै जग्गा खरिद गरी घर ठड्याइसकेका छन् । ‘यो धैर्यको व्यापार हो, बिहानदेखि साँझसम्म खटिन कठिन हुन्छ, तर पानकै व्यापारवाट गुजारासँगै घर समेत बनाउन भ्यायौं,’ उनले हामीसित भने ।

तराईका बजारमा पान पसल खोज्न भौँतारिनुपर्दैन, तर पहाडमा थाेरै गाह्राे छ । सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आएका सत्यनारायण मण्डल दैनिक रुपमा पान खाने गरेको बताउँछन् । पानका अर्का पारखी ललनकुमार झा पोखरामा पानको व्यवसाय राम्रो रहेको र आफू दिनमा तीन–चार खिल्ली पान खाने गरेको बताउँछन् । सिर्जना चोकमा विगत बीस वर्षदेखि पानको व्यापार गर्दै आएका राकेश कुमार पानको व्यापारबाट सन्तुष्ट छन् । “सबै दिन एकनासको बिक्री हुँदैन,” उनले भने । वर्षेनी आन्तरिक राजश्व कार्यालय, नगरपालिका लगायतमा रु १० हजारसम्म कर तिर्ने गरिएको उनले बताए । थोक बिक्रेताले अधिकांश पसलमा पान पुर्याउने गर्छन् । पानका अन्य सामग्री कत्था र सुपारी नेपालकै हो । मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापतिलगायतका सामग्री भारतबाट आयात गरिन्छ ।

पान बहूपयोगी लहरेदार बनस्पति हो । पान नेपाल, भारत लगायत दक्षिण-पूर्व एसियामा खाने परम्परा बनेको छ । पानको पातमा चूना, कत्था, सुपारी, सौप, आवश्यकतानुसार सूर्ती, मसला आदि प्रयोग गरेर खाने गरिन्छ । विशेषगरी चाडपर्वको बेला पान खाने हाम्रो परम्परा अझै जागै छ । श्रीराम पान भण्डारका शाह भन्छन - पान खानु नराम्राे हाेइन, कसरी खाने भन्ने कुरा महत्वपूर्ण हाे । पानका धेरै फाइदाहरू छन् जुन चिकित्सा विज्ञानले पनि स्वीकारेकाे छ । उनले पानको पातमा रहेका तत्वहरुले पाचनप्रक्रियामा सुधार गर्नुका साथै मधुमेहलाई समेत नियन्त्रण गर्न मद्दत गर्ने कुरालाई क्रेतामाझ छर्ने गरेका छन् ।

के छन पान खानुका फाइदाहरु ? डाक्टरहरू के भन्छन् ?
पान खानुका केही फाईदा हामीलाई थाहा नै छ । तर, यही कुरा धेरै कमलाई थाहा हुन सक्छ । यसबाट पाचन प्रक्रियामा सहयोग, मुखको स्वास्थ्यको लागि, साधारण विरामी वा चोटको लागि, कामोत्तेजना बढाउनको लागि, मुख या गालाकोे घाउ वा गांठो हटाउनको लागि जस्ता कुरहरुमा पान उपयोगी मानिन्छ । तर, चिकित्सा विज्ञानले पनि यसको फाइदालाई यसरी चर्चा गरेको छ ।

  • पाचनप्रक्रियामा सुधार – खाना खाइसकेको आधा घण्टा पछि पानको सेवन गर्नाले ‘राल बनाउने ग्रन्थि’ सक्रिय भई खाना पचाउन मद्दत गर्दछ,
  • स्वस्थ छाला – पानको पातमा एण्टिअक्सिडेण्ट भरपुर मात्रामा पाइन्छ । नियमित रुपमा पानको सेवन गर्दा उमेरको असर र छालामा हुने समस्यालाई कम गर्छ,
  • गिँजाको दुखाई – पानमा पाइने एण्टिब्याक्टेरियल गुणले दाँतमा लागेको किरा नष्ट गर्नुका साथै गिँजाको दुखाईबाट पनि छुट्कारा पाउन सकिन्छ, 
  • कब्जियतबाट राहत – आधा भाग कागतीको रस र पानको पातको रस मिश्रण गरेर पिउनाले कब्जियतको पीडाबाट छिट्टै राहत पाउन सकिन्छ,
  • छालाको मुसो – शरीरको छालामा देखिएको मुसोको टुक्रामा पानको रस नियमित रुपमा लगाउनाले विस्तारै त्यो मुसो हराउँदै जानसक्छ, 
  • घाँटीमा कफ जमेको – एक चम्चा पानको रसमा एक चम्चा मह मिसाएर पिउनाले घाँटीमा जमेको कफलाई सजिलैसित हटाउन मद्दत गर्छ, 
  • खोकीबाट राहत – पानको पातमा ल्वाङ्ग राखेर चपाउँदा खोकीको समस्याबाट राहत पाउन सकिन्छ, 
  • टाउकोको अधिक दुखाई – पान चपाएर खाने गर्नाले टाउको दुखाईलाई नियन्त्रण गर्छ,  
  • मधुमेह – पानको पातमा पाइने एण्टि–डायबेटिक विशेषताका कारण रगतमा सुगरको मात्रा नियन्त्रण गर्न काम गर्छ,
  • नियन्त्रण – तर, नियन्त्रणभन्दा बाहिर गएर पान सेवन नगर्न उनीहरूकाे सल्लाह छ, सूर्ती सेवनले क्यान्सर निम्त्याउने नै उनीहरू बताउँछन् ।

अहिले त तिहारकाे राैनक छ । तिहार तथा चाडबाडकाे बेला पानकाे व्यापार ह्वात्तै बढ्छ, शाह भन्छन् । खानाका परिकारले पनि पाचनमा गाह्राे बनाउने र पानका कारण सहज हुने पान खाँदै गरेका हरि तिवारी बताउँछन् । याे पर्वले गर्दापनि अहिले तपाइँ बानेश्वर चाेककाे श्रीराम पान भण्डार जानुहुन्छ भने देख्न सक्नुहुन्छ, ‘साहुजी पान बनाएकाे बनाई, किन्नेकाे लर्काे थामिनसक्नु ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत