समाज

यमपञ्चकको पाँचौं दिन अाज भाइटीका

बिहानै नुहाएर अष्टचिरञ्जीवी र यमराजकाे पूजा

अाज तिहारको अन्तिम दिन, कार्तिक शुक्ल द्वितीया तिथि अर्थात् यमपञ्चकको पाँचौं दिन, भाइ टीका गरेर यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।

दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ।

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवी र यमराजकाे पूजा गर्नुपर्छ ।  भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ ।

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ ।

मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ ।

दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।

टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् । हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ।

टीका विशेषत: रातो वा पहेलो रङ्गका लगाइन्छ । टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रङ्गका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो, बैजनि । सात रङ्गका यी टीकालाई सप्तरङ्गी भनिन्छ। केहि रङ्ग घरमा पनि तयार गर्न सकिन्छ। जस्ताै हरियो रङ्गको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रङ्ग चामल पिनेर  लिइन्छ।  सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ।

तिहारको यस मुख्य दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवम् बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

 

तपाईँको मत