अन्तर्वार्ता

‘धूमपानका कारण पिसाबथैलीको क्यान्सर बढिरहेको छ’

  • १० कार्तिक शनिबार, २०७५ | ०७:५३:०० मा प्रकाशित
Nagarik Dainik

पछिल्लो समय मूत्रप्रणाली सम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। सँगसँगै पिसाबथैलीको क्यान्सर तथा मिर्गाैला बिग्रने(फेल हुने) रोग पनि बढिरहेका छन्। प्रस्तुत छ– यसका कारण र निवारणबारे नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पताल, युरालोजी विभागका प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट डा. पारसमणि श्रेष्ठसँग गरेको कुराकानीः

मूत्रप्रणाली सम्बन्धी सबैभन्दा बढी कुन रोग देखिन्छ ?
हामीकहाँ सबैभन्दा मिर्गौलाको पत्थरी देखिन्छ । शल्यक्रिया गरिएका मध्ये ५० प्रतिशत मिर्गौलाको पत्थरी नै छन् । मिर्गौलाको पाइपको पत्थरी, प्रोस्टेटको समस्या(पिसाब रोकिने) । अर्को, मूत्रप्रणालीको क्यान्सरमा चाहिँ पिसाब थैलीको क्यान्सर, मिर्गौलाको क्यान्सर र प्रोस्टेट क्यान्सर बढी छन् । सबैभन्दा बढी पिसाबथैलीको क्यान्सर देखिएको छ ।

नेपालमा पिसाबथैलीको क्यान्सर हुनाको कारण ?
यो रोग धूमपानका कारणले हुने भएकाले जुन देशमा धूमपान गर्ने बढी छन् त्यो देशमा यो रोग बढी हुन्छ । नेपालमा पनि धूमपान गर्ने बढी छन् ।

मिर्गौलाको पत्थरी बढी हुुनाको कारण ?
पहिलो कुरा, मिर्गौलाको पत्थरी कसरी हुन्छ भन्ने कुरा विश्वमा कसैलाई पनि थाहा छैन । अहिलेसम्मको अध्ययनले चाहिँ धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा पत्थरी भएको देखिन्छ । जस्तै, पानी कम पिउने तर मासु धेरै खाने । पहिलेभन्दा अहिले यस्ता खानेकुरा खाने चलन बढी देखिन्छ । क्षेत्रीय रूपमा यो रोगको अवस्था फरक देखिन्छ । पूर्वमा कम छ, पश्चिममा पत्थरीको समस्या बढी छ । खास कारण के हो थाहा छैन । पानी, खाना र वंशाणुगत कारणले पनि हुन सक्छ ।

मिर्गौलामा पत्थरी पुरुषलाई बढी हुन्छ । पिसाबथैलीको क्यान्सर पनि पुरुषलाई नै बढी हुन्छ । धूमपान र मासु पनि पुरुषले बढी प्रयोग गर्ने हुनाले यी रोगहरू पनि पुरुषमा बढी देखिने गरेका हुन् ।

मूत्रप्रणालीमा हुने क्यान्सरमा कुन बढी छ ?
पिसाबथैलीको क्यान्सर नै बढी छ ।

मूत्रनलीको रोग महिलामा बढी छ कि पुरुषमा ?
यो रोग पुरुषलाई बढी हुन्छ । किनकि प्रोस्टेट ग्लान्ड महिलामा हुँदैन । यो पुरुषका लागि महिलाको पाठेघरजस्तै हो । प्रोस्टेट ग्लान्ड ५० वर्ष पुगेपछि बढ्दै जान्छ र पिसाबनली नै छेक्छ । यो ग्लान्डको मुनि पिसाबथैली हुन्छ । नेपालमा धेरैजसो पिसाब रोकिएपछि मात्र उपचार गर्न आउने चलन छ । यो रोग ७५ प्रतिशत पुरुषलाई हुन्छ । मिर्गौलामा पत्थरी पनि पुरुषलाई नै बढी हुन्छ । पिसाबथैलीको क्यान्सर पनि पुरुषलाई बढी हुन्छ । धूमपान र मासु पुरुषले बढी प्रयोग गर्ने हुनाले यी रोगहरू पनि पुरुषमा बढी देखिने गरेका हुन् ।

महिलाहरूमा हुने पिसाबसम्बन्धी रोगचाहिँ के–के हुन् त ?
महिलामा हुने मुख्य रोग भनेको युटिआई(पिसाबथैलीमा संक्रमण) हो । यो रोग पनि महिलाहरूको मूत्रप्रणालीको बनावटका कारणले बढी हुन्छ । महिलाको पिसाबनली प्राकृतिक रूपमै छोटो हुन्छ । त्यसकारण बाहिरबाट व्याक्टेरिया सजिलै भित्र प्रवेश गर्छ र सजिलै संक्रमण हुन्छ ।

कसरी जोगिने त?
कतिपय महिलालाई यौन सम्पर्कबाट यस्तो रोग हुन्छ । यौन साथीको यौन अंग पनि सफा हुनु प-यो । दिसा–पिसाब गरेपछि मलद्वार सफा राख्नु प-यो । मुख्य गरी तरल पदार्थहरूबाट व्याक्टेरिया सजिलै भित्र प्रवेश गर्ने भएकाले संक्रमण गराउँछ । दिसा–पिसाब गरेर भिजेको भाग सधैं सुक्खा राख्नुपर्छ।

मिर्गौलामा पत्थरी हुँदैछ भन्ने कसरी थाहा पाउने ?
दुख्ने नै हुन्छ । कोखा दुख्ने, पिसाब पोल्ने र पिसाबबाट रगत पनि आउन सक्छ । यो अल्ट्रासाउन्डबाटै थाहा पाइन्छ ।

युरोलोजीका बिरामी नै धेरै छन्। पहिला, यो रोग उपचारका सबै सेवा सुविधा हामीसँग थिएन। मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। सीमित सुविधा मात्र थिए। अहिले त वीर अस्पतालमा अन्तर्राष्ट्रिय स्तरकै सेवा छ। अहिले यहाँ अन्तर्राष्ट्रिय युरोलोजी केन्द्रमा हुने सबै उपचार यहाँ उपलब्ध छन्।

पिसाबथैली संक्रमणका लक्षण के–के हुन् ?
ज्वरो आउने, पिसाब फेर्दा धेरै बेरसम्म बस्न मन लाग्ने, पिसाब फेर्दा दुख्ने, पिसाब रोक्न गाह्रो हुने, पिसाब गर्न हतार हुने हुन्छ । कसैकसैको पिसाबमा रगत पनि देखिन्छ । कतिपय महिलालाई शारीरीक सम्पर्कबाट पनि यस्तो संक्रमण हुन्छ । धेरैजसो विवाहित महिलालाई पिसाबथैलीको संक्रमण हुन्छ । पानी कम पिएका कारण पनि यस्तो हुन्छ । तर मुख्य कारण त पिसाबनली छोटो भएरै हो ।

पिसाबथैलीको क्यान्सर भयो भने कस्ता लक्षण देखिन्छन्?
पहिलो लक्षण भनेको पिसाबबाट रगत आउनु हो । बिना कुनै कारण नदुखिकन पिसाबबाट रगत आउनु । मिर्गौलामा पत्थरीको क्यान्सर भएमा पनि पिसाबमा रगत देखिन्छ ।

अण्डाशयको क्यान्सर भएमा लक्षण ?
नदुखिकन अण्डकोष ठूलो र साह्रो भएर आउँछ ।

एर्डिनल ग्लान्डको क्यान्सर भयो भने कस्ता लक्षण देखिन्छन् ?
यसले शरीरका सबै हर्मोन सन्तुलनमा राख्ने काम गर्छ । यसको क्यान्सर भएमा फरक–फरक लक्षण देखिन्छन् । नुन, रक्तचापको सन्तुलन राख्ने काम यही हर्मोनले गर्छ । यो बिना हामी बाँच्नै सक्दैनौं । महिला र पुरुषको हर्मोन बढाउने काम पनि यही ग्लान्डले गर्छ । यो अति नै महत्वपूर्ण ग्लान्ड हो । ग्लान्डको पनि नुनको भागमा असर गरेको छ भने सोडियमको कमी देखिन्छ । रगतको हर्मोनमा असर प-यो भने रक्तचाप नियन्त्रण नहुने, महिलामा दारी आउने समस्या देखिन्छन् । यसमा पनि क्षयरोग हुन सक्छ ।

वीर अस्पतालमा युरोलोजीका बिरामी कति आउँछन् ?
मासिक औसत १२ देखि १३ सय बिरामी आउँछन् । मिर्गौला प्रत्यारोपण महिनाको चारवटा, अन्य दिन शल्यक्रिया गर्छौं । अति नै चाप भएका कारण दैनिक बहिरंग विभागमा बिरामी हेर्दैनौं।

मिर्गौला बिग्रिँदैछ भनेर बेलेमै कसरी थाहा पाउने ?     
आफैं सजिलै थाहा हुँदैन । यसका लागि ६ महिना वा एक वर्षमा नियमित मिर्गौलाको जाँच गर्नुपर्छ । हामीकहाँ पनि मधुमेह र उच्चरक्तचापले मिर्गौला  बिग्रिने समस्या धेरै देखिन्छ ।

पिसाबथैलीको क्यान्सरबाट जोगिन के गर्ने ?
रङ, छाला उद्योगमा काम गर्ने, सडकमा कालोपत्रे काम गर्ने मजदुरलाई बढी पिसाबथैलीको क्यान्सर हुन्छ । यसबाहेक बढी धूमपान गर्नेमा पनि यसको समस्या देखिन्छ । त्यसकारण धूमपान नगर्ने र यी पेसाहरू लामो समयसम्म नगर्ने ।

वीर अस्पतालमा युरोलोजी युनिट कहिलेदेखि सुरु भयो ?
युनिट त पहिलादेखि नै थियो । विभाग बनेको चाहिँ दुई वर्ष मात्र भयो ।

यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?
म १५ वर्षदेखि यो सेवामा छु ।

युरोलोजी विभागमा सधैं बिरामीको चाप देखिन्छ, कारण के हो ?
युरोलोजीका बिरामी नै धेरै छन् । पहिला, यो रोग उपचारका सबै सेवा सुविधा हामीसँग थिएन । मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । सीमित सुविधा मात्र थिए । अहिले त वीर अस्पतालमा अन्तर्राष्ट्रिय स्तरकै सेवा छ । अहिले यहाँ अन्तर्राष्ट्रिय युरोलोजी केन्द्रमा हुने सबै उपचार सेवा सुविधा यहाँ उपलब्ध छन् ।

मूत्रप्रणाली अन्तर्गत कुन–कुन रोगको उपचार हुन्छ यो विभागमा ?
यो विभागमा मूत्रप्रणालीका सबै अंगको शल्यक्रिया हुन्छ । मिर्गौला, सुपर डिनल ग्लान्ड(शरीरका सबै हर्मोन सन्तुलन राख्ने अंग), पिसाबको पाइप, थैलो, अण्डकोष र प्रोस्टेट क्यान्सर र पिसाब थैलीको क्यान्सर सबैको शल्यक्रिया यहीं हुन्छ । तर मिर्गौला फेल भएपछि गरिने डाइलोसिस भने नेफ्रोलोजी विभागअन्तर्गत पर्छ ।

मूत्ररोगका लागि उपलब्ध आधुनिक उपचार प्रविधि के–के छन् ?
लेजर बाहिरैबाट ढुंगा फुटाउने उपकरण छन् । पहिला, ढुंगाको शल्यक्रिया सबै चिरेर गरिन्थ्यो । ६ वर्षयता नचिरिकन गरिन्छ । अहिले लेजर पिसिएल प्रविधिबाट गरिन्छ । अहिले पिसिएल (बाहिरैबाट रे हानेर ढुंगा फुटाउने प्रविधि) पनि छ । अहिले हामीकहाँ आरए आरएस पनि (मिर्गौलाभित्र औजार पु-याएर ढुंगा फुटाउने प्रविधि) पनि छ । प्रोस्टेडको शल्यक्रिया पनि नचिरी गर्ने प्रविधि छ । मूत्रनलीका सबै अंगका क्यान्सरको उपचार पनि यहीं हुन्छन् ।

मिर्गौला बिगे्रर फाल्नु प-यो, मिर्गौलामा क्यान्सर भयो अर्थात् पिसाबथैलीमा क्यान्सर भयो भने मैले पनि साना–साना प्वाल पारेर शल्यक्रिया गर्छु । यी प्रविधिका कारण पहिलाजस्तो कुनै पनि अंगको शल्यक्रिया गर्दा ठूलो भाग काट्नु पर्दैन । राम्रोसँग देखिने भएकाले उपचार ठीक ठाउँमा हुन्छ । यो प्रविधिबाट शल्यक्रिया हुँदा उपचार राम्रो छ । पुरानो प्रविधिबाट चिर्दा बिरामी एक हप्तासम्म अस्पतालमा सुत्थ्नुपथ्र्याे भने अहिले नयाँ प्रविधिमार्फत् शल्यक्रिया गर्दा दुई दिनमै घर जान सक्छन्।  

समग्र देशमा उपचारको अवस्था कस्तो छ त ?
विराटनगरको कोसी अञ्चल अस्पताल, नोबेल अस्पताल, पोखराको मणिपाल कलेज, गण्डकी अस्पताल, नेपालगन्ज, बुटवल, धुलिखेल अस्पताल  लगायतका अस्पतालमा यसको उपचार हुन्छ ।

कुनै पनि व्यक्तिले आफ्नो मूत्रप्रणाली कसरी स्वस्थ राख्ने ?
मिर्गौलाका लागि पानी ठिक्क मात्रामा पिउनु पर्छ । मान्छेले दाल, भात, फलफूलमा पाइने पानीलाई समेत जोडेर दैनिक तीन लिटर पानी पिउनु पर्छ । मौसम र भूगोलअनुसार पनि पानीको मात्रा कम र बढी हुनु आवश्यक  छ । सबै भन्दा राम्रो धूमपान नगर्नु हो । कागती, सुन्तला, मौसमीजस्ता केस्रायुक्त फलफूल खाएमा पत्थरी कम हुन्छ । रातो मासु कम खाने, जे पनि सन्तुलित खाने, युरिक एसिड बढी भएमा मिर्गौलामा समेत असर पर्ने भएकाले यसलाई नियन्त्रणमा राख्ने ।

मधुमेह र उच्च रक्तचाप बढी भएकाहरूको पछि गएर मिर्गौला फेल हुने भएकाले यी दुवै रोगलाई नियन्त्रणमा राख्नु पर्छ । मिर्गौलाको पत्थरी समयमै निकालिएन भने पनि पछि गएर मिर्गौला फेल हुन्छ । मिर्गौलाको पत्थरीको उपचार पनि समयमै गर्नु आवश्यक छ । मिर्गौलाको पत्थरीको उपचार ढिला गरेर मिर्गौला फेल भएका धेरै छन् । ढिला उपचारमा आउनेमा महिला बढी छन् । चार बिरामीमध्ये तीन महिला बिरामी उपचारमा ढिला आउँछन् । महिलाहरू मिर्गौला नै बिगे्रपछि मात्र अस्पताल आइपुग्छन् । मिर्गौलाको ढुंगा पत्ता लगाउन भिडियो–एक्सरे गर्न सकिन्छ । नागरिक दैनिकबाट

तपाईँको मत