शिक्षा

विद्यार्थीको भविष्य अन्धकार हुन दिँदैनौँ : सांसद बस्नेत

  • ५ कार्तिक सोमबार, २०७५ | १९:०१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विधि र कानूनलाई सम्मान गर्दै नेपाल इञ्जिनियरिङ कलेजका विद्यार्थीको भाग्य र भविष्यलाई अन्धकार हुन नदिने बताए । 

आज भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–४ स्थित इञ्जिनियरिङ कलेजको नवौँ साधारणसभालाई सम्बोधन गर्दै सांसद बस्नेतले कलेजमा अध्यनरत दुई हजार २०० भन्दा बढी विद्यार्थीको भविष्य सुरक्षित गर्न न्यायोचित र सर्वस्वीकार्य निर्णय गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताए । 

उनले लोकतान्त्रिक पद्धतिमा जनप्रतिनिधिले गरेको निर्णयलाई मन्त्रिपरिषद्ले समेत स्वीकृत गर्ने बताउँदै नगरपालिकाको नेतृत्वमा सम्पूर्ण राजनीतिक दल एकढिक्का भई सञ्चालन गर्नुपर्नेमा जोड दिए । कलेजको वैधानिकता अबको अपरिहार्यता भएको भन्दै उनले सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न नहुने बताए । 

कार्यक्रममा प्रदेश नं ३ का सांसद मणिराम फुँयालले संस्था बचाउनेको कलेजमा स्वामित्व हुने बताउँदै संस्थाले गर्ने नीति तथा नियमहरु तत्काल किटानी गरी अघि बढ्नुपर्ने बताए । 

सभामा नेकपा भक्तपुरका अध्यक्ष बचन सिं देउजा, भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र स्थानीय सरोकार समितिका संयोजक तथा काङ्ग्रेस नेता कृष्णलाल पँडेलले कलेजको वातावरण स्वच्छ, सुन्दर, व्यावहारिक तथा प्रयोगमुखी वातावरण सिर्जना गर्न सबैको सहमति रहेको बताए । 

कार्यक्रमका अध्यक्ष प्रा डा दीपक भट्टराईले सामाजिक भावनाभन्दा व्यक्तिगत भावनाको हाबी भएका कारण कलेज सञ्चालनमा समस्या उत्पन्न भएको गुनासो व्यक्त गरे ।   रासस 

तपाईँको मत