गाउँ सहर

५०० बढी गाडी चालक कारवाहीमा

  • ५ कार्तिक सोमबार, २०७५ | १५:१२:०० मा प्रकाशित
फाइल तस्विर

दाङ । दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० बढी सवारी साधन चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए । 

उनका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर गाडी चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् । कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप, कार, बस, ट्रक, टिपर, अटो लगायत सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताए । 

दशैँको अवधिमा जिल्लामा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु हुनाका साथै चार गम्भीर घाइते भएका उक्त कार्यालयले जनाएको छ । गत वर्ष दशैँको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनभन्दा बढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० घाइते भएका थिए ।   रासस

तपाईँको मत