विश्व

ताइवान रेल दुर्घटनामा १७ जनाको मृत्यु

  • ४ कार्तिक आइतबार, २०७५ | २०:३९:०० मा प्रकाशित
telegraph

यिलान, ताइवान । ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । 

ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । 

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् । 

उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ । 

स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । 

राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

तपाईँको मत