दृष्‍टिकोण

दशैँमा विवाहकाे साइत चाहिँदैन, यसपटक ‘कार्तिके विवाह’

कालाे महिना मानिएपनि टीका कार्तिकमै छ, स्वतः लगन

ajtak

काठमाडाैँ । कार्तिक महिनालाई कालाे महिना मानिएपनि यसपटक दशैँकाे टीकाकाे दिन वैवाहिक जीवनमा प्रवेश गर्नेकाे लागि कालाे हुने छैन । किनकी, २ गते अर्थात भाेली टीकाकाे दिन, उसैपनि साइत नै साइत । ग्रन्थ, वेद, पुराण सबैले टीकाकाे दिनलाई उत्तम साइत मानेका छन् । त्यसैले कालाे कार्तिकमा विवाह कालाे हाेला भनेर अाशंका नगर्नुहाेस, खुलेर विवाह गर्नुहाेस् । उसाे त दशदिने दशैँमा विवाह गर्दा साइत हेर्नु नपर्नेपनि भनिन्छ, टीकाकाे दिन त झनै हेर्नै पर्दैन ।

विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् तर सामान्यतया हिन्दूधर्म अन्तर्गत नेपाली विवाह प्रचलन सम्बन्धमा विभिन्न साइतका प्रशंगले स्थान पाउने पनि गरेका छन् । जसरी भएपनि विवाहकाे साइत जुराएरै गर्नुपर्छ भन्ने मान्यता छ ।

ग्रन्थ तथा पुराणमा विवाहका अनेक प्रकारकाे चर्चा गरिएकाे छ । ब्रहृम विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह गरी शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन् । यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ । परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो । कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए । हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ । एक प्रकारले यो मान्य भइसकेको छ, जारी विवाहको प्रचलन हराउँदै गएको छ । गाउँघरमा दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई 'कुम्ले विवाह' र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई 'वरियाती' भन्ने चलन छ । विवाहमा पन्चे बाजा बजाउने पनि गरिन्छ । त्यसैले अब विवाहकाे विविध प्रकारलाइ साइत चाहिनेलाइ साइत, नत्र त्यतिकै पनि जुनसुकै समयमा विवाह हुने गरेकाे छ ।

दशैँमा रमाइलो माहोल त भैहाल्छ नि, त्यो भन्दा पनि रमाइलो माहोल तब हुन्छ जब रमाइलो जमघट र घरमा विवाहको माहोल हुन्छ । अहिलेको समयमा चाडपर्वमा विवाह गर्ने चलन पनि बढेको पनि छ । यसको मुख्य कारण भनेको चाडबाड पारेमा साइत गर्न नपर्ने हाम्रो मान्यता पनि एक हो । त्यसैले भनिएकाे हाेला, "दुइ पन्त एक काम ।"

प्रायः कार्तिकमा विवाह गर्न नमिल्ने भएपनि यस वर्ष दशैँ कार्तिकमै परेकोले वर्ष कै शुभ साइत कार्तिकमा छ । दशमीमा विवाह गरे ठुला बडाकाे आशिर्वादसँगै  देवी भगवतीको आशिर्वाद पाउने विश्वास जनमानसमा छ । हामीले मानिअाएकाे पनि त्यहि हाे ।

ठिमी बस्ने बिनोद शर्माले यहि अष्ठमीमा गुहेश्वरीबाट विवाह गर्ने योजना भएको बताए । सामान्य तरिकाले विवाह गर्ने मनसाय भएकाले पनि दशैँ पारेर नै साहित गरेको उनको भनाई छ । चाबहिलका युवा ब्यापारी श्याम महर्जनले पनि यहि दशैँमा नै विवाह गर्ने बताए । परम्परागत तरिकाले नै विवाह गर्ने उनको योजना छ । उता झापाका रबि खनालले पनि दशैँकाे टीकाकाे दिन विवाह गर्दैछन् ।

दशैँजस्तो महान चाड पारेमा विवाह गर्ने वर वधुले देवी भगवतीको आशिर्वाद पाउने विश्वास हामीमाझ छ । समुदाय अनुसार विवाहको फरक शैलि भएतापनि दशैँलाई सबैले वर्ष कै शुभ साइत मानिन्छ, जसले गर्दा दशैँ जस्तो महान चाडमा विवाह गर्ने चलन पनि ह्वात्तै बढेकाे छ ।

जस्तोसुकै आथिक अवस्था भएपनि, धेरै वा कम खर्चमा, साैकिन विलासि वा अभावमा लगायत सबै अवस्थामा दशैँमा विवाह गर्नु शुभ हुन्छ । कपन बस्ने जानुका सापकाेटाकाे अहिले  विवाह हुन लागेकाे छ । ठुला बडाकाे आशिर्वाद एउटै थलाेमा पाइने भएर उनी निकै खुसी छन् । जब दसैँकाे रमाइलो माहाैलमा विवाहको रंग थपिँदा वर वधु मात्र हाेइन दुर्इ परिवारकाे जमघटले थप प्रगाढता ल्याउने उनकाे तर्क छ ।

विकिपेडियामा विवाह गर्दा प्रयाेग गरिने श्लाेकलाइ यसरी चर्चा गरिएकाे छ ।

सवाल- कहाँबाट आयौ तिमी जन्ती कहाँ बस्यौ बास ?

जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ सास ?

जवाफ- घरबाट आयौँ हामी जन्ती यहीँ बस्यौँ बास

जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं सास ।

सवाल- कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा ?

कति आयौ बूढापाका कति आयौ फुचा ?

जवाफ- चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो बाट्यौँ कुचा चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा ।

सवाल- कसकी छोरी श्रीसीता रानी कसका छोरा राम ?

कसका छोरा वीर हनुमान कसका छोरा जूनघाम ?

जवाफ -जनककी छोरी श्रीसीता रानी दशरथका छोरा राम पवन -वायु) का छोरा वीर हनुमान कश्यपका छोरा जूनघाम ।

सवाल- कहाँ पलायो कर्कलो निगुरो कहाँ पलायो तामा कसका हौ तिमी नातिपनातिको हुन् तिम्रा मामा ?

जवाफ- खोलाखाली पलायो कर्कलो निगुरो बाँसमा पलायो तामा जिजुबाजेका हौँ नातिपनाति आमाका दाजुभाइ हुन मामा ।

सवाल- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड

ईन ईन चरीका के के नाम लाउँछौ अर्थ कि छोड्छौ ठाम ?

जवाफ- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड ईन ईन चरीका हीरामोती नाम लायौँ अर्थ छोड्दैनौ ठाम ।

विवाह एक पुरुष र एक महिलाको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्कासंग संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । यो मानव जीवनको १६ संस्कार मध्ये एक महत्वपूर्ण संस्कारभित्र पर्दछ । कतिपय मानिसहरुको वैवाहिक जीवनमा विवाहपछि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछन् । हाम्रो समाजमा ज्योतिषी हेराएर शुभ साइतमा विवाह गर्ने प्रचलन छ । शुभ साइतमा विवाह गर्नाले बैबाहिक जीवनमा आइपर्ने समस्याबाट मुक्ति मिल्छ भन्ने पौराणिक विश्वास रही आएको छ । ज्योतिष शास्त्र अनुसार साइत नहेरी विवाह गरे बिधवा, बिधुर अथवा छुटिएर बस्नुपर्ने हुन सक्छ । यही भएर हाम्रो समाजमा विवाह गर्दा साइत हेराएर शुभ साइतमा मात्र विवाह गर्ने परम्परा रहेको छ । तर, दशैँकाे टीकाकाे दिन वर्षभरीकै उत्तम साइत हुने हुँदा याे दिन साइत हेर्नुनपर्ने बताइएकाे छ ।

तसर्थ, ढुक्क हुनुस्, झमझम विवाह गरेर दशैँलाइ थप रमाइलाे बनाउनुस्, शुभकामना ।।।

तपाईँको मत