दृष्‍टिकोण

धीत मरुञ्जेल सपिङ गर्ने चाड दसैं, ‘नयाँले मानिसलाई प्रफुल्ल बनाउँछ’

जोतिएर काम गर्नेहरूले विन्दास शैलीमा फुर्सद मनाउन खोज्छन्

अहिले राम्रो लाउन, मीठो खान दसैं कुर्नु पर्दैन , तर धीत मरुञ्जेल सपिङ गर्न भने दसैंमा मात्र सम्भव छ । किनभने दसैं नै यस्तो चाड हो जहाँ उपभोक्ताले शिरदेखि पाउसम्म खल्तीदेखि घरमा अटाउने उपभोग्य सामान एकैपटक खरिद गर्छन् । 

नयाँ कपडाबिना दसैंको स्वादै हुँदैन, केटाकेटीका लागि कपडा र सामान किन्ने र अरू उपभोग्य सामानको किनमेल गर्ने योजना सबैको हुन्छ ।  एक दशक अघिजस्तो नयाँ लुगा र मीठो खान दसैं कुर्नु पर्दैन ।

पैसा भए मान्छेले जहिले पनि छानीछानी किनमेल गर्न पाउँछन् तर पनि दसैं भनेपछि नयाँ कपडा छुट्दैन । नयाँले मानिसलाई प्रफुल्ल बनाउँछ, संस्कृतिविद् वीणा पौडेल भन्छिन्, "खुसी हुनुपर्ने चाड भएकाले दसैंमा नयाँ लुगा अनिवार्य भएको हो । नयाँ लुगा खरिदपछि मानिसमा प्रफुल्लता बढ्ने भएकाले आवश्यक सामान चाडबाडको मुखमा जोड्छन् ।" 

यही अनिवार्यतालाई छोप्दै व्यापारीहरूले वर्षायाममै नजिकिँदो दसैंको बजार तताउने तयारी गरेका हुन्छन् । अरू बेलाभन्दा बढी बिक्री हुने भएकाले प्रतिस्पर्धाका कारण व्यापारीहरूले निकै पहिलेदेखि तयारी गरेका हुन्छन् ।

नयाँ आइटमका कपडाका लागि खासा र सांघाई जानेगरेको ब्यापारिहरूको भनार्इ छ । दसैं बजारलाई लक्षित गरी व्यवसायीले बालबालिका, युवा र प्रौढका लागि नयाँ सामान ल्याएका छन् । यस्तो बजारमा हुने भीड फूलपातीसम्म रहन्छ ।

भाटभटेनिका भेटिएका राम अधिकारीले भने, "बृद्दहरूमा कपडाको मोह त्यति हुँदैन, बालबालिकालाई कपडाको चाहना बढी हुने हो ।"

बजारमा चलेका कपडा उपभोक्ताको रोजाइमा पर्छ । स्तरअनुसार उपभोक्ताहरू सडकदेखि प्रतिष्ठित व्यापारिक मलमा गएर खरिद गर्छन् । सुट,साडी जस्तो औपचारिक पोसाकभन्दा पनि अनौपचारिक पोसाक बढी बिक्री हुन्छ । चाडमा मानिस औपचारिक हुदैन, ब्यापारि मनोज शर्माको बुझाइ छ । 

एक दशक अघिसम्म मुख्य र एक मात्र आकर्षण मानिएको दसैंको कपडा बजारले विशेष पक्ष पाउन छाडेको छ भने अन्य क्षेत्रले बजार बढाउँदै छ । अन्य क्षेत्र भनेको मोबाइल, ल्यापटप, गगल्स मोटरसाइकल देखि फ्रिज एसिजस्ता उपभोग्य सामान पर्छन् । पहिरनसँगै फेसनका सामान युवायुवतीको रोजाइमा पर्छन् ।

एउटा मोबाइल पसलमा भेटिएकी उमा बरालले  चलेको फेसन आफ्नो रोजाइ पर्ने बताइन् । ब्याग पसलमा भेटिएकी अस्मिता रार्इले क्वालिटि नै हेर्नु पर्ने बताइन्, "आफन्तकहाँ जाँदा लगाउने हो, उनले भनिन्, एउटा लेदरब्याग पनि किन्ने बताइन् ।"

नयाँ सवारीसाधन खरिद गर्नेहरूले पनि दसैं ताकेर बसेका हुन्छन् । बजारमा रकमको प्रवाह बढी हुने र सहुलियत पनि पाइने भएकाले मोटरसाइकलदेखि कार र महँगा गाडी यही समयमा बढी खरिद हुन्छ । निजी सवारी साधनको आधाभन्दा बढी दर्ता असोजरकात्तिकमा हुन्छ । शक्तिको प्रतीक मानिने सवारी साधन दसैंका बेला किनेर दुर्गापीठमा बलि दिने चलन छ ।

सामान जोड्न चाहनेहरूले दसैं नै ताकेर बस्ने गरेका हुन्छन् ।  आम्दानी दह्रो भएकाहरू र अनेक अफर ल्याएका व्यवसायी दुवै उत्साहित छन् । बजारमा मज्जाले मोलमोलाई गर्न सकिने भएकाले दसैँको महत्व छ ।

 दसैंको मौकामा सरसफाइ गर्ने भएकाले यो बेला रंगको कारोबार समेत बढ्छ । तीनरचार वर्षयता दसैंका बेला मोबाइलको कारोबार अरू बेलाभन्दा दोब्बरले बढेको व्यवसायीहरू बताउँछन् । उपत्यकाबाहिर जानेहरूले आफन्तलाई मोबाइल किनेर उपहार दिने चलन बढेको छ । व्यवसायी विकास महर्जनका अनुसार दसैं लागेपछि मोबाइलसँगै एमपिथ्री प्लेयर, आइपडजस्ता मनोरञ्जनका सामानको बिक्री पनि बढेको छ ।

नयाँ घर बनाएकाहरूले समेत दराज, सोफालगायत सजावटका नयाँ सामानले दसैंलाई स्वागत गर्न भ्याएका हुन्छन् । उपहार योजनाले पनि ग्राहकहरू सामान किन्न दसैं पर्खेर बस्ने गरेका छन् । फ्रिज, वासिङ मेसिन, टेलिभिजन, डिभिडीजस्ता विद्युतीय उपकरणको किनमेलमा सहुलियतसहित अफर पनि पाइने हुनाले ग्राहकहरू दसैं कुरेर बस्छन् ।

धेरैजसो कर्मचारीले दसैं खर्च र बोनस पाउँछन् त्यसले किन्ने क्षमता बढाउँछ नै विभिन्न अफरले किनमेल पनि सहज गराउँछ । सरकारी तथा संस्थानका कर्मचारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान लगायत कर्मचारीले दसैंको किनमेलका लागि कम्तीमा एक महिनाको अतिरिक्त तलब पाउँछन् ।

वरपर घुलमिल नहुने र आफैसँग रम्न चाहनेहरू चलचित्र वा किताबतिर बढी घोत्लिन्छन् । पुस्तक बिक्रेताका अनुसार फुर्सदमा पढिने साहित्यिक पुस्तकको व्यापार पनि थोरबहुत बढ्छ । राजधानीमा धेरै  व्यापारिक कम्प्लेक्स र मल छन् । दसैं लागेपछि ती कम्प्लेक्समा रहेका कपडासँगै अन्य पसलमा पनि भीड बढेको छ ।

बेफुर्सदीका कारण मानिसहरू एकैपटक सामान किनौँला भन्ने मनस्थितिमा हुन्छन् । रोजगारीको विविधता र सहरीकरणले गर्दा सपिङ मल र व्यवस्थित बजारमा किनमेल गर्ने शैली संस्थागत हुन थालेको  छ । घरव्यवहार हेर्नुपर्ने गृहिणीलाई दसतिर भौंतारिएर खाद्यान्न र मसला जुटाउनुपर्ने चटारो हुन्छ । यही अनुकूलताका लागि मलहरू पनि भन्ने नारा दिएर सबै सामान एउटै छानामुनि राख्न थालेका छन् । 

फुर्सद नपाउने सहरियाहरूलाई दसैं मनोरञ्जन गर्ने र फुर्सद मनाउने समय समेत हो । पारिवारिक, नातेदार वा लामो समयपछि भेट भएका आफन्तसँगको  जमघटलाई पेय पदार्थहरूले थप रंगीन र अविस्मरणीय बनाइदिन्छ । दसैंको मौकामा  ब्रान्डेड मदिराको खपतले पनि यही संकेत गर्छ । १२ घन्टौँ जोतिएर काम गर्नेहरूले त्यस्तै विन्दास शैलीमा फुर्सद मनाउन खोज्छन् । यसबेलामा रेस्टुराँमा जमघट पनि बढी नै हुन्छ । 

तपाईँको मत