नुवाकाेटमा कांग्रेसका तीन नेताले भने- सरकारकाे हस्तक्षेप बढ्याे, एक भए मात्र आर्थिक समृद्धि

नुवाकोट । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा वर्तमान केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेकपा सरकारको ‘समृद्धि, समुन्नति र आर्थिक क्रान्ति’ को नारा गाउँदेखि केन्द्रसम्म कांग्रेस एक भए  मात्र सफल हुने बताएका छन् ।

दशैँ, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले साे कुरा बताएका हुन् ।

नेपालको संविधान कम्युनिस्टको सरकारले जारी गर्न नसकेको बताउँदै उनले भने, ‘नेकपाले घन्काएकाे नारा पनि घुम्दैफिर्दै कांग्रेसको पोल्टामा आउने निश्चित छ । गाउँदेखि केन्द्रसम्म कांग्रेस एक भएर योजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्छ ।’ जुन ठाउँमा पनि कांग्रेस एकजुट छैन, गुट निर्माणमा व्यस्त छ भन्ने गुनासो सुन्नुपरेको बताउँदै उनले पार्टी संस्थागत नभएसम्म एक ढिक्का भएर अघि बढ्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले नेकपाको सरकारले जिल्लाको विकास निर्माणका लागि आवश्यक बजेट कटौती गरेको बताए । मुख्य सडक खाल्डाखुल्डीले अस्तव्यस्त भएको अवस्थामा रेलको सपना देखाएर जनतालाई छल्ने काम सरकारले गरिरहेको उनले आरोप लगाए । उनले सरकारको क्रियाकलापबाट जनता सन्तुष्ट नभएकाे पनि बताए । उनले थपे, "हत्या, हिंसा, बलत्कारको घटना बढ्दो छ तर सरकार मौन छ, त्यसका लागि आवाज उठाउनु आवश्यक छ।"

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विश्वविद्यालय, अस्पताल, प्रेस जताजतै सरकारको हस्तक्षेप बढेको बताए । उनले मूल्यवृद्धिले जनताको ढाड सेक्ने काम भइरहेको, आपराधिक घटनाको छानबिनमा सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै पार्टीभित्रको कमजोरी बाहिर ल्याएर टीकाटिप्पणी गर्नुभन्दा पनि देखिएको चुनौती अन्त्य गर्न पाटी एकतामा जोड दिनुपर्ने उनले बताए । 

कार्यक्रममा जिल्लास्तरका नेताहरुले कांग्रेसको संगठन मजबुत भएरपनि शीर्ष नेतामा रहेको गुटबन्दीका कारण पछिल्लो चुनावमा पार्टी कमजोर बन्न पुगेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत
loading...