गाउँ सहर

३२ जनाबाट एक करोड ६७ लाख ठगेर दम्पती फरार

  • २६ असोज शुक्रबार, २०७५ | ०७:५६:०० मा प्रकाशित

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । 

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई रु ३० लाख दिएका छन् । 

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई-चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पडित तिमिल्सिनाले भने । केही समय अघि घर बिक्री गर्नुभएका उनले कुनै प्रमाण नराखी रकम दिएका छन् । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिएका छन् । यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् । 

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भने । उनले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताए । सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए ।RSS

तपाईँको मत