विश्व

तालिबान लडाकुद्वारा यात्रुवाहक बसबाट झन्डै १५० मानिसहरू अपहरण

  • ४ भदौ सोमबार, २०७५ | १७:५१:०० मा प्रकाशित
AP

उत्तरी अफगानिस्तानमा तीनवटा यात्रुवाहक बसबाट झन्डै १५० मानिसहरू तालिबान लडाकुको अपहरणमा परेका विवरणहरू प्राप्त भएका छन् । तालिबानका एक प्रवक्ताले बसमा यात्रा गरिरहेका सुरक्षाफौजका सदस्यलाई आफूहरूले निशाना बनाएको तर गैरसैनिक व्यक्तिहरूलाई मुक्त गरिने बताएका छन्। यो घटना सरकारले सशर्त तीन महिना युद्धविराम गर्ने घोषणा गरेको भोलिपल्ट भएको हो।

तालिबानले स्वीकार गरे युद्धविराम सोमवारबाट कार्यान्वयनमा आउने राष्ट्रपति अशरफ गनीले बताएका थिए।

इस्लामिक पर्व इद उल‍-अधाको अवसरमा 'शत्रुपक्षका सयौँ बन्दीहरू' मुक्त गरिने बताउँदै आएको तालिबानले त्यसबारे निर्णय लिइसकेको हो कि हैन त्यो स्पष्ट भएको छैन।

कुन्दुज प्रान्तका गभर्नरका प्रवक्ताका अनुसार सोमवार बिहान अपहृत यात्रीहरूलाई बसबाट निकालेर अज्ञात स्थलतिर लगिएको थियो।'ती बसहरू तालिबानको नियन्त्रणमा रहेको एउटा क्षेत्र हुँदै काबुल जाने राजमार्गमा गुड्दै थिए।
ती यात्रीहरू टखार प्रान्तबाट इद-उल-अधामा काबुलमा रहेका आफ्ना परिवारलाई भेट्न जाँदै थिए।

सरकारी सुरक्षाफौजमा काम गर्ने मानिसहरू ती बसमा भएको सुराकी पाएपछि आक्रमण गरिएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिले समाचार संस्था रोएटर्सलाई बताएका छन्। 'भिडन्त नहोस् भनेर हामीले बसहरूलाई सुरक्षति क्षेत्रमा लगेका छौँ। र, अहिले हामी सुरक्षाफौजका सदस्यहरूको पहिचान गर्दैछौँ,' उनले भने। गैरसैनिहरूलाई भने मुक्त गरिने उनको भनाइ छ।

प्रान्तीय सरकारका अधिकारीहरूका अनुसार अधिकांश यात्रीहरूलाई मुक्त गराइसकिएको र अब जम्मा २१ जना तालिबानको अधीनमा छन्।

मुक्त भएका एक व्यक्तिका अनुसार तालिबानले बसमा सैनिक र सरकारी कर्मचारी भए वा नभएको जान्न खोजेका थिए। केही हप्तादेखि तालिबानले आफ्नो आक्रामक गतिविधि बढाएका छन्।

काबुलबाट पूर्वमा रहेको गज्नीमा भएको आक्रमण र पाँच दिन लम्बिएको लडाइँमा सयौँ जना हताहत भएको बताइन्छ। संयुक्त राष्ट्रसङ्घले त्यहाँ झन्डै १५० गैरसैनिकको मृत्यु भएको हुनसक्ने जनाएको छ।

उद्देश्य
सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ। अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ। विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुनस् कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन्।

सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ। अफगानिस्तानमा इस्लामिक स्टेट लडाकु समूह पनि सक्रिय छ।

गत हप्ता काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम आक्रमण आफूले गराएको उसको दाबी छ। सो आक्रमणमा विश्वविद्यालयको प्रवेशपरीक्षाका लागि तयारी गरिराखेका विद्यार्थीहरूसहित ४८ जनाको मृत्यु भएको थियो।बीबीसी

तपाईँको मत