कला

दोस्रो विश्व नेपाली साहित्य सम्मेलनः मातृभाषाको साहित्य तथा पहिचान

  • ३ भदौ आइतबार, २०७५ | १४:२४:०० मा प्रकाशित

काठमाडौं । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । 


विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा गत साता आयोजित सम्मेलनले आठबुँदे घोषणापत्र जारी गर्दै नेपाली (खस जुम्ली) भाषाले देवनागरी लिपिमा लेखिई नेपाली पहिचान र प्रतिष्ठा प्राप्त गरिसकेकाले सोको श्रीवृद्धिका निम्ति हरप्रकारको कार्य गर्ने तथा नेपालभित्र बोलिने १२३ भाषामध्ये करीब दुई दर्जन भाषाका कवितालाई अन्य भाषामा अनुवादसहित प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै सम्मेलनले नेपाली वर्णविन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनि विज्ञानसम्मत लैजान आग्रह गरेको छ । त्यस्तै देश बाहिर रहेका नेपाली साहित्यका स्रष्टालाई गुणस्तरको आधारमा मूल्याङ्कन गरी सम्मान गर्न तथा नेपाली युद्ध साहित्यको व्यापक पठनपाठन गराउन माग गरेको छ । 


बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, समालोचक प्रा डा गोविन्दराज भट्टराई र महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले उद्घाटन गर्नुभएको सम्मेलनमा पाँच शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएका थिए । जर्मनेली प्रा बि सेन्लरले ‘पल्पसा क्याफे’ उपन्यास र बुद्धत्व, प्रा डा भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान, गीतकार भावेश भुमरीले नेपाली गीत लेखन, विजय हितानले बेल्पाली(बेलायती नेपाली) साहित्यकार र युद्ध साहित्य तथा अध्यक्ष तिगेलाले नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता विषयमा कार्यपत्र प्रस्तुत गरे। 


सो अवसरमा कवि दिवसले भने  नेपालभित्र बोलिने सम्पूर्ण भाषाको साहित्य नेपाली साहित्य हो । वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकार तथा प्रा डा नोवलकिशोर राईले संमग्र नेपाली साहित्यका बारेमा बोल्नुभयो । त्यस्तै अष्ट्रियाबाट सहभागी सेला स्टेनरले साहित्यकार झमक घिमिरेबारे बनेको चलचित्रको झलकसहित जानकारी दिए । सम्मेलनमा भारत, भाक्सुबाट मित्रसेन प्रतिष्ठानका संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उपस्थिति थियो । 


सम्मेलनको दोस्रो दिन १८ औँ शताब्दीका साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको भ्रमण गरिएको थियो । पहिलो विश्व नेपाली साहित्य सम्मेलन विसं २०७० कात्तिक ८ गते काठमाडौँमा भएको थियो । रासस

तपाईँको मत