दृष्‍टिकोण

असक्षम र खराबको घानमा इमान्दार र दक्ष चिकित्सकलाई राखिनु हुँदैन

  • सुमन बराल
  • ३ भदौ आइतबार, २०७५ | ०८:३७:०० मा प्रकाशित

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद – १९ इलाज सम्वन्धि कसूर पढ्न सबैलार्इ अनुरोध गर्छु । नपढी विरोध र समर्थन गर्नु त्यति जायज नहोला । यो ऐन पढेपछि मनमा केहि जिज्ञासा, प्रश्न उठे । यो ऐन पढ्नु भएका (नभएकाले पनि आफ्नो धारणा राख्दा हुन्छ) चिकित्सक, कानुनका विद्यार्थी र अध्येताहरुलार्इ विशेषगरि आफ्नो धारणा कमेन्ट वा मेसेज गर्नु हुन विनम्र अनुरोध गर्छु । 

१. दफा २३० बमोजिम चिकित्सा सम्वन्धि विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त नगरी अनि कानून बमोजिम इजाजत प्राप्त नगरी उपचार गर्ने, चिर—फार गर्ने वा औषधि सिफारिस गर्ने वा गराउने व्यक्तिलार्इ तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने भनिएको छ । तथापि बिरामीलार्इ कुनै गम्भीर असर नपर्ने गरि लामो इलाज सम्वन्धि लामो अनुभव प्राप्त व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो घाउ खटिरा चिरफार गर्न अनि मामुली प्रकृतिको औषधि खुवाउन सक्ने प्रावधान पनि राखिएको छ । अर्थात, निर्धारित शैक्षिक योग्यता र इजाजत प्राप्त नगरेकाले मानव शरीरमा गम्भीर असर पर्ने गरि उपचार गरे दण्डित हुने तर सामान्य रोगको हकमा भने उपचार गर्न सक्ने प्रावधानलार्इ अत्यन्त जायज मान्नु पर्छ । 

२. दफा २३०, ४ मा शैक्षिक योग्यता र इजाजत प्राप्त नगरेकाले चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अंगभंग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ भन्ने प्रावधान राखिएको छ । यो प्रावधानले भने केहि गम्भीर प्रश्न उब्जाएका छन् । हाम्रो देशमा अझैपनि सबै बिरामीको स्वस्थ्य सेवामा पहुँच छैन । मुख्य कारण गरिबी र अशिक्षा नै हो किनकि धन हुनेहरुले सहरमा लगेर भए पनि उपचार गर्छन, गराउँछन् । जस्तै, अस्पतालको अभावमा धेरै सुत्केरीहरुलार्इ गाउँ घरमै हुने सुडेनी, स्वास्थ्य स्वयंसेविका लगायतले मिलेर बच्चा जन्माउन सहयोग गर्ने गर्छन् । विशेषज्ञ चिकित्सक र पर्याप्त उपकरण भएका अस्पताल सम्म पुर्याउँदा बाटोमा नाइँ ज्यान जाने जोखिम भएकाले अहेव, नर्सहरुले नै सुत्केरी आमा र जन्मिने बच्चाको ज्यान जोगाउने सक्दो प्रयास गर्ने गर्छन् । यो समस्या अत्यन्त दुर्गम गाउँमा मात्रै नभई साना सहरहरुमा समेत छ । यस्तो अवस्थामा ज्यान बचाउने इमान्दार प्रयास गर्दा गर्दै पनि असफल भएका सुडेनी अनि स्वस्थ स्व्यमसेविका लगायतलार्इ जन्म कैद हुन्छ ? प्रसुति सेवा दिने शैक्षिक योग्यता र अनुमति नभएका तर आमा र बच्चाको ज्यान बचाउन इमान्दार प्रयास गर्दा असफल भएका नर्सहरुलाइ जन्म कैद हुन्छ ? यदि जन्म कैद हुन्छ भने अस्पताल र उपकरणको अभावमा कसैको ज्यान जोगाउने इमान्दार प्रयास गरेर जन्म कैद हुने अपराध किन गर्ने भन्ने प्रश्न जन्मिन्छ अनि थप सुत्केरी आमा र बच्चाले ज्यान गुमाउनु पर्ने स्थिति उत्पन्न हुन सक्छ ।

३. दफा २३१ बमोजिम ‘कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्ने, एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अंगको चिरफार गर्ने, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्ने, ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानी—जानी कुनै औषधि खुवाउने वा खान सिफारिस गर्ने लाइ दण्डनीय अपराध मानिएको छ ।’ अर्थात, कसैको ज्यान गएकोमा ज्यान मारे सरह जन्म कैद अनि अंग भंग भएका अंग भंग भए सरह १५ वर्षसम्म कैद हुने छ । ज्यान मार्ने वा अंग भंग गर्ने नियतले कसैको उपचार गर्ने वा औषधि खुवाउनेलाइ जन्म कैद र १५ वर्षसम्म जेल अत्यन्त जयज छ । तथापि यो ऐनले इमान्दार चिकित्सकहरु लार्इ समेत अफ्ठ्यारो पर्न सक्छ । जस्तै, कुनै दक्ष चिकित्सकले उपचार, अपरेसन गर्ने क्रममा वा औषधिको साइड इफ़ेक्टका कारण कुनै बिरामीको ज्यान गएमा वा अंग भंग भएमा उसले बदनियत राखेको थियो वा थिएन भनेर अनुसन्धान गर्ने कुनै संयन्त्र पनि हुन्छ वा भिडले फैसला गर्ने हो ? संसारमा कुनै पनि चिकित्सकले अत्यन्त गम्भीर रोगिको ज्यान जोगाउन सक्ने ग्यारेन्टी लिन सक्दैनन् । उनिहरुले आफ्नो अनुभव र योग्यता बमोजिम इमान्दार प्रयास गर्ने मात्रै हुन् । आफ्नो कर्तब्य निभाउने कोषिस गर्दा समेत ज्यान मारे सरह वा अंग भंग गरे सरहका मुद्दा खेप्नु पर्ने अवस्थामा कुनै चिकित्सकले गम्भीर रोगका बिरामी हेर्ने आट गर्न सक्लान ? तसर्थ, ऐनमा चिकित्सकले उपचार गर्दा गर्दै अपवादका रुपमा हुने घटना बारे पनि उल्लेख गरिनु आवश्यक हुन्छ किनकि कतिपय रोगको उपचार वा अपरेसन गर्दा बिरामीको ज्यान जाने अनि अंग भंग हुने सम्भावना रहन्छ ।

४. दफा २३२ बमोजिम ‘कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचक्य्राइँ गरी इलाज र चिरफार गरेमा अनि औषधि खान दिएमा दण्डित हुने छन् । लापरवाहीपूर्ण काम गरेको कारणबाट कसैको ज्यान गएमा वा अंग भंग भएमा ५ वर्ष सम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिवाना अनि हेलचेक्राईँ गरेको कारणबाट कसैको ज्यान गएमा वा अंग भंग भएमा ३ वर्ष सम्म जेल र ३० हजार रुपैयाँ सँम्म जरिवाना तोकिएको छ । अत्यन्त लापरवाही र हेलचेक्राईँ गरेर गलत अंगको अपरेसन गर्ने, अर्कै रोगको औषधि दिने चिकित्सकलार्इ दण्डित गर्नु जायज हो र उसको चिकित्सा सेवा दिने अनुमति पनि निश्चित समय वा आजीवन रद्द गरिनु जायज हो । तथापि हेलचेक्राईँ र लापरवाही के के लार्इ मान्ने भन्ने प्रश्न जन्मिन्छ । जस्तै, अपवाद बाहेक कुनै ग्रामीण क्षेत्रको अस्पतालमा प्रसुति व्याथा लागेर आएको बिरामीलार्इ कुनै कम्प्लिकेसन आए थप उपचार गर्न सक्ने उपकरण र विशेषज्ञ चिकित्सक छैनन् । अब अत्यन्त सिकिस्त अवस्थामा अस्पताल आइपुगेको बिरामीलार्इ भएको साधन श्रोत प्रयोग गरेर ज्यान जोगाउन खोज्ने वा ज्यान जाने जोखिम रहेको कारण ५ वर्ष सम्म जेल जाने खतरा नमोल्ने भन्ने निर्क्योल इमान्दार चिकित्सकले कसरि गर्ने ?

५. दफा २३३ बमोजिम ‘मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्ने, कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनियता भंग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षण गर्ने वा अंग परिवर्तन गर्ने वा गराउने लार्इ तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुनेछ । दफा २३३ मा उल्लेखित प्रावधान विपरीत परीक्षण गर्ने वा गराउने व्यक्तिले कसैको मृत्यु भएमा ज्यान मारे सरह र अंग भंग भए अंग भंग भए सरहको सजाय पाउने छन् । मानविय मूल्य मान्यता र चिकित्सकीय धर्म विपरित मन्जुरी बिना मानव शरिर परीक्षण गर्ने, अनुचित आर्थिक लाभ लिने, गोपनियता भंग गर्नेलार्इ हदै सम्म दण्डित गर्नु पर्छ तर यो ऐनबाट कुनै इमान्दार र दक्ष चिकित्सक फस्ने स्थिति भने उत्पन्न हुनु हुँदैन । अर्थात, कुनै गम्भीर रोगको उपचार गर्नु पूर्व बिरामीको मृत्यु वा अंग भंग हुन सक्ने कुरामा हस्ताक्षर गर्न सम्भव रहन्छ र सम्भवत यो प्रचलनमा पनि छ । सुत्केरी व्याथामा मृत्यु हुन सक्छ भनेर मन्जुरी लिने कुरा सायद सम्भव हुँदैन र त्यस्तो प्रचलनमा संसारमा कतै पनि छैन होला ।

६. दफा २३४ बमोजिम ‘कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यो प्रावधान अत्यन्त जायज छ र इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैको ज्यान जान सक्ने वा अंग भंग हुने प्रकृतिका औषधि बेच्नेलार्इ अझै बढी दण्डित पनि गर्न सकिन्छ ।

७. दफा २३५ बमोजिम ‘कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै वस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउनेलाइ दण्डनीय अपराध मानिएको छ । यस्तो औषधिको सेवनबाट कसैको ज्यान गए ज्यान मारेको सरह, ज्यान मर्न सक्ने गरी खतरा भए ज्यान मार्ने उद्योग गरे सरह, अंग भंग भए १० वर्ससम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।’ यो प्रावधान अत्यन्त राम्रो छ तर कुनै दक्ष चिकित्सकले इमान्दारिताका साथ दिएको औषधिका कारण साइड इफेक्ट हुनसक्ने कुरालार्इ भने अनुसन्धान गरिनु पर्छ र उक्त कुरालाई दण्डनीय मानिनु हुँदैन । अहिले लापरबाही वा कालगतिले कुनै बिरामीको मृत्यु भएमा एउटा गिरोह सक्रिय रहने गरेको पाईन्छ । यो गिरोह डाक्टर कुट्न र स्वास्थ्य संस्था तोडफोड गर्न सक्रिय हुन्छ अनि सम्झौताका नाममा मोटो रकम असुलेर कमिसन खान पल्किएको छ । यो गिरोहलार्इ रोक्न सकिएन भने नयाँ व्यवस्थामा यी गिरोह थप बलियो भएर आउने छन् र नेपालका कुनै पनि इमान्दार चिकित्सकले समेत बिरामी हेर्न सक्ने छैनन्, हेर्न मान्ने छैनन् किनकि कुटार्इ खान अनि जेल जान वा दण्ड जरिवाना तिर्न कुनै पनि इमान्दार चिकित्सकलार्इ रहर हुँदैन । तसर्थ, चिकित्सकको लापरवाही र बदनियतका कारण कसैको मृत्यु भएको अवस्था बाहेक दण्ड जरिवाना गरिनु हुँदैन ।

८. दफा २३६ बमोजिम ‘म्याद नाघेको औषधि बिक्री वितरण गरेमा अनि कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री गरेमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो प्रावधान अत्यन्त राम्रो छ तर यस्तो जघन्य अपराधमा संलग्न हुनेलार्इ अझै धेरै दण्ड जरिवाना गरेर निरुत्साहित गराउन समेत सकिन्छ ।

९. दफा २३७ बमोजिम ‘कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनुपर्ने मनासिव कारण भई बिक्री वितरण गरेमा दुइ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ यस प्रकारका अपराधलार्इ अझै धेरै दण्ड जरिवाना गराउन समेत सकिन्छ । साथै, औषधि बिक्रि गर्न पाउने अनुमति नलिएका व्यक्तिले दिएको औषधि खाएर कसैको ज्यान गए ज्यान मारे सरह र अंग भंग भए १५ वर्ष सम्म जेल सजाय र क्षतिपूर्ति समेत लिनु आवश्यक छ ।

१०. दफा २३८ बमोजिम ‘कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण ९प्याथोलोजिकल टेष्ट० गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । प्रातिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अंग भंग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ । ज्यान मरिसकेको भए ज्यान मारे सरह र अंग भंग भएको भए अंग भंग गरे सरह सजाय हुनेछ ।’  यो प्रावधानलार्इ पनि अत्यन्त जायज मान्नु पर्छ किनकि यो ऐनले परिक्षण गर्ने व्यक्तिलार्इ बढी सतर्क र संबेदनशील हुन बाध्य पार्ने छ । नियत बस वा लापरबाही गरेर झुठ्ठा वा गलत प्रतिवेदन दिने व्यक्तिलार्इ हदै सम्म दण्डित गर्नु पर्छ । अत्यन्त लापरवाही भएर प्रतिवेदन दिएका कारण धेरै बिरामीको मृत्यु र अंग भंग हुन सक्छ । तसर्थ, प्रशिक्षण गर्दा अत्यन्त सतर्क रहनु पर्छ अनि कुनै गम्भीर रोगको प्रतिवेदन दिनु अघि पुन एक पल्ट जाँच गरेर सम्भावित त्रुटि र कमजोरी सच्याउनु आवश्यक हुन्छ ।

११. दफा २३९ मा ‘यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अंग भंग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ’ भनिएको छ । स्वास्थ्य सेवा दिने, औषधि बेच्ने र ल्याब टेस्ट गर्ने अनुमति नभएकाले दिएको उपचार, औषधि र प्रतिवेदनबाट कसैको ज्यान गएमा वा अंग भंग भएमा मानासिब क्षतिपूर्ति तिराउने कुरा अत्यन्त जायज छ । तर यो प्रावधानको शिकार इमान्दार र दक्ष चिकित्सक भने हुनु हुदैन । चिकित्सकलार्इ हामी भगवान सरह मान्ने गर्छौँ तर उनिहरु भगवाननै भने होइनन र राम्रा चिकित्सकले उपचार गर्दा गर्दै पनि कसैको मृत्यु हुन सक्छ अथवा अपरेसन बिग्रेर अंग भंग हुन सक्छ । तसर्थ, नियोजित वा लापरबाहीले हो वा होइन भन्ने राम्रो संग अनुसन्धान पश्चातमात्रै दण्ड जरिवाना गर्नु पर्छ । अन्यथा कुनै पनि इमान्दार चिकित्सकले आकस्मिक सेवा लिन आउने बिरामी र अत्यन्त रोगि बिरामी जाँच्ने हिम्मत गर्ने छैनन् ।

१२. दफा २४० अनुसार दफा २३० को उपदफा ९४०, २३१, २३२, २३३ को उपदफा ९४०, २३५ र २३८ को उपदफा ९४० बमोजिमको कामबाट ज्यान मरेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ । अर्थात, इजाजत प्राप्त नगरेका व्यक्तिले उपचार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान गएमा वा अंग भंग भएमा, बदनियत चिताई अनि अत्यन्त लापरबाही उपचार गर्दा ज्यान गएमा वा अंग भंग भएमा, मञ्जुरीविना मानव शरीरमा परीक्षण भएमा उजुर गर्न कुनै हद म्याद छैन । अनि दफा २३० को उपदफा (१) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन । अर्थात, अनुमति नभएकाबाट गम्भीर असर नपर्ने गरि उपचार गर्ने लार्इ १ वर्षसम्म हद म्याद अनि गोपनियता भंग हुने काम गरेमा, बिरामीको मृत्यु नहुने गरि तर चिकितासकको सिफारिस बिना औषधि बेच्ने काम गरेमा लगायतका अन्य कसूरमा ६ महिनाको हद म्याद राखिएको छ । यी प्रावधान पनि जायज नै छन् ।

१३. दक्ष र इमान्दार चिकित्सकहरुले पनि खराब चिकित्सक हरुलार्इ निरुत्साहित गर्न अनि स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति र बिकृति अन्त्य गर्न सरकारलाइ सहयोग गर्नै पर्छ । नियतबस कसैको ज्यान जाने वा अंग भंग हुने गरि बदमासी गर्ने, अत्यन्त लापरबाही गर्ने, नक्कली सर्टिफिकेट भएका, कमिसन आउने नाममा अनावश्यक औषधि भिडाउने, अनावश्यक ल्याब टेस्ट गर्न लगाएर कमिसन खाने, आवश्यक नभर्इ अन्य अस्पताल र क्लिनिकमा रिफर गरेर कमिसन खाने, मरिसकेको बिरामीलार्इ २/३ दिन सम्म आकस्मिक कक्षमा राखेर पैसा धुत्ने, सामान्य बिरामीलार्इ पनि सघन कक्षमा राखेर पैसा लुट्ने, गैर कानुनी भ्रुँड हत्या गर्ने, आवश्यक नपरी कमिसनका लागि बच्चा जन्माउन अपरेसन गर्ने, परिक्षणका नाममा यौन शोषण गर्ने लगायत अमानवीय र चिकित्सकीय धर्म बिपरित क्रियाकलाप गर्नेहरु लार्इ निरुत्साहित अनि दण्डित गर्न इमान्दार चिकित्सकहरुले सक्दो सहयोग गर्नुपर्छ अनि अनुसन्धान गर्दा सरकारलेपनि हदै सम्म सावधानी अपनाउनु पर्छ ।

१४. नेपालमा नक्कली सर्टिफिकेटधारी चिकित्सक त पहिला पनि समातिएकै हो । हो, यस्तालार्इ खोजी—खोजी दण्डित गरौँ । हदैसम्म लापरबाही गरेको प्रमाणित हुनेलार्इ लाइसेन्स रद्द गरेर जेल हालौँ । अत्यन्त लापरबाही वा बदनियतका कारण कसैको ज्यान गएमा आजीवन जेल हालौँ । सकेसम्म असक्षम चिकित्सकले लाइसेन्स नै नपाउने व्यवस्था गरौँ । तर खराब चिकित्सक हुन्छन अनि केहिले बदनियत ले उपचार गर्छन भन्ने नाममा सबैलार्इ ज्यानमारा र अपराधी जस्तो व्यवहार गरेर इमान्दार र दक्ष चिकित्सकको मनोबल गिराउनु हुँदैन । नेपालमा अपवाद बाहेक सर्बहारा वर्गका धनी नेताहरु विदेशमा उपचार गराउँछन । अलिक हुने खानेहरु पनि सकेसम्म विदेश नै जान्छन गुणस्तरीय स्वस्थ सेवाका लागि । नेपालमा भएका केहि राम्रा अस्पतालहरु र इमान्दार चिकित्सकहरुबाट सेवा पाईरहेका सर्वसाधारणलार्इ समेत मार्का पर्ने गरि राम्रा चिकित्सकलार्इ निरुत्साहित गरिनु हुँदैन । अहिले बिबादमा रहेका केहि विषयलार्इ नप्रस्ट्याउने हो भने चिकित्सकहरु संग लाइसेन्स बुझाएर घरमा बस्ने, पेसा परिवर्तन गर्ने वा देशनै छाडेर हिँड्ने बिकल्प मात्रै रहन्छ । केहि प्रावधानलार्इ थप स्पष्ट बनाउन सम्बन्धित निकायका विज्ञ र नेता हरुले चाँडै पहल गर्नु पर्छ ।

तपाईँको मत