गाउँ सहर

घटनाको १५ वर्षपछि दोरम्बा पुगेका प्रचण्डले भने 'सहिद परिवारका सदस्यहरुले मन दह्रो पार्नुहोस्'

रामेछाप । दोरम्बा हत्या काण्डको १५ औं स्मृति दिवसको अवसर पारेर दोरम्बा पुगेका प्रचण्डले सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरेका छन् । 

प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताउँदै २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्ताको हत्या शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएको जनाएका छन् । 

दोरम्बा हत्याकाण्डमा तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनाको हत्या भएको थियो । प्रचण्डले नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर सहिदहरुले गरेको वलिदान बिर्सन नसकिने बताए ।

स्मृति सभाको सम्बोधनमा उनले घटनामा ज्यान गुमाएका सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्दै दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताए । 

प्रचण्डले घटना स्मरण गर्दै 'सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको र सहीदले देखाएको सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको' भन्दै ऐतिहासिक बेथानबाट दोरम्बा हुँदै सैलुङसम्म गुरिल्ला पर्यटनको रुपमा विकास गरेर लैजान पार्टी र सरकारले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पीडितहरुले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गरेका थिए । उनीहरुलेअध्यक्ष प्रचण्डलाई  न्यायका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

उक्त घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रिय मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । तर, सरकारले पीडकलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो गर्दै आएपनि कतैबाट सुनुवाई भएको छैन । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत