दृष्‍टिकोण

नेविसंघलाई कांग्रेसको नर्सरी मान्ने हो भने विषादी होइन मल हाल्नुहोस् नेताज्यू

नेपाल विद्यार्थी संघको विधानत समयमा अधिबेशन हुने हो भने उमेरको समस्या कहिल्यै आउँदैन । हरेक दुई वर्षमा नियमित अधिबेशन गराउने हो भने मात्र  पनि  कोही ३२ वर्षको उमेरसम्म नेविसंघ कुरेर बस्न पर्दैन । समस्या उमेरमा होइन, नेतृत्वको प्रवृतिमा रहेको छ । उमेर त अलमलाउने बहानाबाजी मात्र हो । उमेर हदबन्दीको बिषयमा सबैजना आ-आफ्नो स्वार्थ अनुसार बोलिरहेका छ्न । आफ्नो हैन स्वार्थ त संगठनको हेर्नुपर्ने हो । हामी यहीँ चुकेका छौं ।  यहि नेविसंघमा हो नबिन्द्रराज जोशी २२ वर्षको उमेरमा महामन्त्री बन्नुभएको । यहि नेविसंघमा एन पि साउद २८ वर्षसमा केन्द्रिय अध्यक्ष हुनुभयो र पछिल्लो चरणमा आएर पनि प्रदीप पौडेल ३२ वर्ष उमेरमा नै निर्वाचित केन्द्रिय अध्यक्ष बन्नुभएको थियो । त्यो बेला उमेरको कुनै कुरा आएको थिएन संगठनमा 'स्पिरिट' थियो नेविसंघ नेविसंघ जस्तो थियो । संघको छुटै मौलिकता देखिएको थियो र उहाँहरु बन्नुभयो । राजनीति सधैं बाठाहरुको खेल बन्ने गरेको र उनीहरुले नेविसंघमा पनि उमेरको कार्ड फालेर संगठनलाई बिभाजित बनाउन खोजेको छन् । यसबाट सबैको ध्यान मुख्य विषयवस्तु छाडेर अन्यत्र मोडिएको छ ।
 
यसअघि ८ वर्षसम्म चुनाव हुन नसकेर आएको नेविसंघभित्रको समस्या तुरुन्तै लगाईएको उमेर हदबन्दिले समाधान गर्न सक्दैन । त्यसको लागि अबको अधिबेशन कुनै पनि अवस्थामा समयमा गराउनु पर्छ र आउँने पिढीँलाई सहज वातावरण सिर्जना गरि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । नेविसंघ स्थापनको ४९ वर्षमा हामी १२ औं महाधिवेशनको कुरा गरिरहेका छौँ । संगठनका लागी यो ठूलो दुर्भाग्य हो हामी आज २५ औं महाधिवेशनको वहसमा हुनुपर्ने हो नि । बिगतमा कहाँ कहाँ चुक्यौं कहाँ बाटो बिरायौं । समिक्षा गर्ने र सच्चिने बेला हो यो । तर तेस्तो देखिएन अहिले पनि रुमल्लिने स्थिति देखिरहेका छौं ।
 
नेविसंघ स्थापना भएदेखि राजनीतिक सामाजिक परिविर्तनको विभिन्न आयाम परिवर्तनको लागि विभिन्न समयमा अफ्ठेरो परेको बेला देशको लोकतन्त्र गणतन्त्रको लागि रगत पसिना बगाएको  नेपाली कांग्रेसको भातृसंस्था हैन नेविसंघ ? लोकतान्त्रिक आन्दोलनमा स्वयं नेविसंघको भूमिका निर्णायक थियो नि । अहिले त्यति लोकतन्त्रको लागि त्यति ठूलो लगानी गरेको  नेविसंघ दुनियाँलाई लोकतान्त्रिक विचार प्रवाह गर्नुपर्ने संगठन भित्र नै लोकतन्त्र हराएको छ  यो कस्तो बिडम्बना !
 
अधिबेशन हुन्छ कि हुंदैन भन्ने स्थितिमा आइपुग्नु नै दुर्भाग्य हो । यो त संगठनको नियमित प्रक्रिया हो प्राण हो स्वास हो । के जिवित मान्छेले स्वास फेर्छ कि फेर्दैन भन्ने गरिन्छ र ? फेर्नैपर्छ नि, संगठनका पनि नियमित प्रक्रिया स्वास जस्तै अनिवार्य हुन्छन् । उमेरहद लगाएर वा नलगाई जुनै सर्तमा पनि नेविसंघको विधिवत महाधिवेशन हुनुपर्छ । महाधिवेशनको विकल्प महाधिवेशन नै बन्नुपर्छ । जब मानिसको स्वास्थ्य गडबड हुन्छ अनि विधी चाहिन्छ के, कति, कुन समयमा खाने भनेर स्वस्थ रहुन्जेल जे गर्दा नि हुन्थ्यो  हो नेविसंघ पनि हिजो स्वस्थ थियो नेताहरुले धेरै मनोमानी गरे  संगठनले धान्यो, अब धान्न सक्दैन किनकी आफ्नो स्वस्थता गुमाइसकेको छ । अब तङ्ग्रन केहि समय लाग्छ तेतिन्जेल कसैले व्यक्ति स्वार्थको लहडमा नेविसंघभित्र नखेले हुने नत्र ठूलो प्रश्न उठ्नेछ । क्याम्पस , जिल्ला , क्षेत्र विश्वविद्यालय कांग्रेस उत्पादनको कारखाना हो कति धेरै भद्रगोल छ  त्यहाँ खै ध्यान ? नेतृत्व त उल्टो बाटो हिँडेको छ । पार्टी संगठनप्रति संवेदनहीन, गैरजिम्मेवार । नेपाली कांग्रेस पार्टीभित्र क्षमता भन्दा पनि दासता प्रधान बन्दै गएको र अवसर क्षमताले हैन दासहरुले 'एस् म्यान' पाउने गरेकोले अहिले कांग्रेसप्रति ठूलो विकर्षण भएको छ । यसको समाधान खोजिएको छैन ।
 
नियमित हुने अधिबेशनले नै नेविसंघमा नया नेतृत्व जन्माउन  सक्छ टिकाटालाले त नेता हैन दास जन्माउँछ । अहिले भैरहेको केन्द्रीय कार्यसमितिका गतिविधि निराशाजनक छ म पनि त्यसको भागेदार हुँ धेरै बैठक छलफलमा भनेको थिए हामी असफल हुँदै छौँ भनेर आखिर त्यस्तै देखियो नि । कसैको स्वार्थले संगठन बन्दक हुनु नहुने हो तर यहाँ त्यही भयो । कतिपय  जिल्ला, क्याम्पस र विश्वविद्यालयको अधिबेशन नभएको दशक भैसकेको छ धेरै विद्यार्थीले आफ्नो पढाइ सकेर विश्वविद्यालय छोडुन्जेलसम्म नेविसंघको सदस्यता देख्न पाएनन् । यो कत्रो अविवेक हो हाम्रो । अब पनि टिके प्रथा थेग्ला नेविसंघले ?  बाँस रहन्जेल मात्र बाँसुरी जसरी बजाए पनि हुन्छ ।
 
त्यसैले अब कार्यशैली बदल्दै यथाशीघ्र ईकाइ-इकाईमा अधिबेशनबाट नेतृत्व चयन गरौं । नेविसंघलाई विद्यार्थीहरुको भरोसायोग्य संगठन बनाऔं । बिगतको भन्दा परिस्थिति भिन्न भैसक्यो  नेपाल विश्वको छैटौं कम्युनिष्ट देश भनेर आईसक्यो अब संसारका देशहरुले नेपाललाई यहि दृष्टिकोणबाट हेर्दै छन्  हामी त यसलाई चिर्नपो लाग्नुपर्ने त कहाँ अल्झिरहेका छौँ । कत्रो ठूलो भुल भैरहेको छ । अब पनि निदाउने ? होसमा आउनु पर्दैन ?
 
लेखक ढुंगेल नेविसंघका केन्द्रीय सदस्य हुन् ।
तपाईँको मत