पत्र-पत्रिकाबाट

स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

  • ३१ श्रावण बिहीबार, २०७५ | ०६:३९:०० मा प्रकाशित

जनसंख्याका आधारमा १ देखि ४ जनासम्म कर्मचारी रहने

स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो ।

अर्जुन अधिकारी नयाँ पत्रिकामा लेख्छन- मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ । दरबन्दी नभए पनि स्थानीय तहमा स्वास्थ्य क्षेत्रको काम–कारबाहीबारे जानकारी गराउन प्रत्येक स्थानीय तहमा हाल एकदेखि तीनजनासम्म स्वास्थ्यकर्मी काजमा कार्यरत छन् ।

अब चारजनासम्म कर्मचारी
मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ ।

प्रवक्ता दाउदका अनुसार नयाँ दरबन्दी स्वीकृत भएलगत्तै पाँचौँ तहदेखि १०औँ तहसम्मका स्वास्थ्यकर्मी स्थानीय तहमा पठाइनेछ । यसका लागि मन्त्रालयले कार्यविभाजनसमेत गरिसकेको छ । मन्त्रालयका अनुसार हालका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र जिल्ला सदरमुकामबाहिर रहेका १५ बेडका अस्पतालमा कार्यरत कर्मचारी भने यथावत् रहनेछन् ।

नेम शाही लेख्नुहुन्छ ४ भदौ, २०७५ ३:०६ pm

तपाईँको मत