दिगोविकास

नेविसंघको कार्यसमिति विघटन नहुने


काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसले भ्रातृ संगठन नेविसंघलाई आगामी भदौ २ गतेभित्रै महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएपनि त्यसको छनक नेविसंघले देखाएको छैन  ।

वर्तमान कार्यसमितिको दुई वर्षीय कार्यकाल सकिनै लाग्दा कांग्रेसले भदौ २ गतेसम्म तीन महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन दिएपनि आन्तरिक बिवादले गर्दा अहिले सम्म त्यसको छनक नदेखिएको हो ।  

पार्टीको निर्देशनपछि नेतृत्वले अनौपचारिक रुपमा नेविसंघको संस्थापन पक्षका पदाधिकारी र असन्तुष्ट पक्षसँग कार्ययोजना निर्माणका विषयमा छलफल गरिरहे पनि त्यसकले निकास ननिकाल्दा महाधिवेशनको टुंगाे लागेको छैन । 

नेविसंघ अध्यक्ष नैन सिँह महरले केन्द्रीय समितिमा मनोनयन गरेकाहरु मध्येबाट विधानको परिधिमा रहेर समझदारीमा २२ जना केन्द्रीय सदस्यको निक्र्यौल गर्नेपनि सहमति जुटेको छ । मनोनयन गर्न बाँकी २२ जना केन्द्रीय सदस्यका लागि महरले २६ जनालाई मनोनयन गरेको भन्दै असन्तुष्ट पक्षको विरोध जारी छ । यसअघि महाधिवेशन गराउन नसक्ने अवस्थामा कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाउने तयारी थियो । 

पार्टीले अध्यक्ष महरसँगै उपाध्यक्षद्वय नवीन राई र उर्मिला थपलिया तथा महामन्त्रीत्रय सरोजकुमार थापा, कुन्दनराज काफ्ले र आनन्दराज त्रिपाठीलाई संयुक्त रुपमा महाधिवेशनको कार्ययोजना बनाउन मौखिक निर्देशन दिएको थियाे । महाधिवेशनको कार्ययोजना बनाउने मौखिक निर्देशन पाएको ६ जनाको समूहले भदौ २ गतेभित्रै पार्टी समक्ष कार्ययोजना पेश गर्ने, कार्ययोजना पेश गरेको ७ दिनभित्रै विधान मस्यौदा तयार गर्ने र १५ दिनभित्रै विधान मस्यौदा पारित गर्ने गरी सिनेट बैठक डाक्ने मनस्थिति बनाएको महामन्त्री सरोज थापाले बताए । 

२०७३ भदौ २ गते ११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघ दुई वर्षे कार्यकाल साउन २३ गतेबाट सकिएको छ । माउ पार्टीले निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको दिन भदौ २ गतेसम्मलाई कार्यकालको मान्यता दिएको छ ।

यद्यपि दुईवर्ष पूरा भएपनि विधानतः नेविसंघको समायावधि ३ महिना समयावधि थप गर्न सकिने प्रावधान रहेको छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत