सेवा

स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीबाट निवेदन फिर्ता

  • १५ श्रावण मंगलबार, २०७५ | १४:०८:०० मा प्रकाशित

काठमाडौँ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । 

सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । 

सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी हुन्। 

प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए । सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो । 

मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए । रासस

तपाईँको मत