सडक/यातायात

दुर्घटनाको कारणः सडकमा लाग्ने हटिया

  • १ श्रावण मंगलबार, २०७५ | १४:१४:०० मा प्रकाशित

विराटनगर । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा मानिसको भीड बढेर सवारी साधन आवतजावतमा समस्या उत्पन्न हुनाका साथै मानिसको ज्यानसमेत जाने गरेको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले बताए। 

शनिबार सुनसरीको खनारमा, बिहीबार सोनापुरमा, मंगलबार दुहबीमा तथा बिहीबार पहडगछ, मोरङको टङ्किसिनवारी, बासंवारी, नेमुवा र विराटनगरको कचनवारीमा साप्ताहिक हटिया लाग्ने गरेको छ । 

सडकमा खुल्ला रुपमा सवारी आवतजावत हुने भएकाले सवारी दुर्घटनालाई  न्यूनीकरण गर्न यस्ता ठाउँमा लाग्ने हटियालाई व्यवस्थित गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । 

सुनसरीको दुहबीबाट इनरुवा जोड्ने सडकखण्डमा सिमरिया, बुद्धचोक, भमरी, औरावनी र बर्छवामा लाग्ने हटियाले पनि निकै समस्या देखिएको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

बाटोकोे चौडाइ कम तर आवागमन बढी हुनाले पनि कतिखेर दुर्घटना हुन्छ भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । 

सुनसरी जिल्लाको साप्ताहिक हटियाको विषयमा जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीले दुहबी–इनरुवा सडक खण्डको भमरीमा शुक्रबार लाग्ने हटियालाई व्यवस्थित गर्न सडक उत्तरतर्फ व्यक्तिको निजी जग्गा भाडामा लिएर हटिया लगाउने गरेको भए पनि समग्र जिल्लाको हटियालाई व्यवस्थापन गर्न जनप्रतिनिधिसँग छलफल भइरहेको बताए । 

हटियाकै विषयमा समस्या बढ्दै गएपछि हाटबजारलाई व्यवस्थित बनाउन विराटनगरमा अभियान नै शुरु भएको छ । 

यो अभियान विराटनगर महानगरपालिकाको वडा नं ४ बाट शुरु भएको हो । कञ्चनबारी पश्चिम नोवेल अस्पताल जाने सडकमा शुक्रबार हाट लाग्दै आएको थियो । 

हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतबारदेखि शुरु गरिएको छ । 

व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै एक बिगाहा जमीनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई दुई मिटरको जग्गाको दरले चिह्न लाएर प्रदान गर्ने वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए । 

विगत केही दिनदेखि विराटनगर क्षेत्रमा सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसक्नुभएको छ ।

तपाईँको मत