प्रेरणा

तरकारीखेतीबाटै मासिक ६० हजार भन्दा बढी आम्दानी, आम्दानीले जीवनस्तर फेरियो

  • ३० असार शनिबार, २०७५ | २२:३८:०० मा प्रकाशित

बेनी, म्याग्दी । म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । 

तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । 

दस वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका हुन् । 

सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडि, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गरेका घिमिरेले यसबाट वार्षिक रु ६ लाख भन्दा बढी कमाइ हुनेगरेको बताए । 

गतवर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ । 

पहिला दुई÷चार सय आवश्यक पर्दा अरुसँग हातथाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा बचत, छोराछोरीको पढाइ र घरघडेरी समेत जोडेका छन् । 

सरकारले कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकलाई राहत पुग्ने विश्वास उनको छ । 

वैदेशिक रोजगारीमा जाने क्रम घट्यो     

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दी जिल्लाबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या घट्दै गएको छ । देशमा सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरूमा वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो । 

लामो समयको अस्थिर राजनीति र लगानीको ग्यारेन्टी नहुँदा युवाको विदेश मोह बढेको थियो । तर निर्वाचनपछि स्थिर सरकार र समृद्धिको आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिले बताएका छन् । 

‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका– २ का रमेश कार्कीले भने, “जापान जाने सोच फेरेर स्वदेशमै कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।” 

त्यस्तै नगरपालिका–३ डाँडाखानीका मनबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्केका छन् । गाउँका खाली जमीनमा सुन्तलाखेती र पशुपालन गर्ने योजना बनाएर आफू युएइबाट घर फर्केको उनले बताए । 

“त्यसका लागि पूर्ण योजना बनाएर आएको छु” उनले भने, “सदरमुकाम केन्द्रीत अधिकार गाउँमा नै पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।” 

जिल्ला प्रशासन कार्यालयका अनुसार, पछिल्लो समय विदेश जाने युवा घटेका छन् । गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको संख्यामा कमि आएको छ । राहदानी लिनेको संख्या करीब १५ प्रतिशत घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले खाडीमा रहेका युवालाई अबको पाँच वर्षभित्र देश फर्काउने बताउँदै जिल्लामा अहिले पाँच वटा जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसैगरी कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा छ । कालीगण्डकी करिडोर निर्माणसँगै उत्तर दक्षिण सिधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाको भनाइ छ । RSS
 

तपाईँको मत