कला

घाँसीको प्रेरणाले जन्मिएका आदिकवि भानुभक्त, जसले 'भाषा' लाई 'भाका' मा बदले

 'घाँसी' कविता

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्

त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

-भानुभक्त आचार्य

आज असार २९ अर्थात् २०५ औं भानु जयन्ती । विसं १८७१ असार २९ तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म भएको थियो । ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशासनमा भएको थियो।

उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् । आचार्यले 'अध्यात्मरामायण'को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।

भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए । नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रती ग्लानीपनि लाग्दछ ।

भानुभक्तको बिल्कुलै फरक प्रकारको लय अझै पनि नेपाली जनजीब्रोमा छ ।

भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाज भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवीत छ ।

भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज बिश्वभर नै  मनाइन्छ ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्‍याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ।  

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् ।

नेपाली भाषाको अध्यन, अनुसन्धान अनि विकासनै भानुप्रतीको सच्चा श्रद्धासुमन हुनेछ ।

 

तपाईँको मत