खेल

हङकङ र मकाउ जाने खेलाडीको बिदाइ

  • २७ असार बुधबार, २०७५ | २३:१०:०० मा प्रकाशित

काठमाडौँ । दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ । 

बिहीबार प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते (जुलाई १४ र १५ तारिखमा) हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ । भट्टले क्याडेटतर्फ महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनले आगामी साउन ४ गतेदेखि ६ गतेसम्म (जुलाई २० देखि २२ तारिखसम्म) मकाउमा हुने प्रतियोगितामा भाग लिनेछन्। दुवै प्रतियोगितामा प्रशिक्षकको रुपमा मगरले भूमिका निर्वाह गर्नेछन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले आज बिदाइ गरे । अध्यक्ष श्रेष्ठले तीन महिनापछि अर्जेन्टिनामा हुने युथ ओलम्पिकको तयारीलाई मध्यनजर गरी ओलम्पिक कमिटीले खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन लागेको जानकारी दिए । भट्ट युथ ओलम्पिकका लागि छनोट भएका थिए ।  

आठ संघ खारेजीमा 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । खेलकूद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ ९संशोधित० सहित खेलकूद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको हो । 

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ छन् । रासस

तपाईँको मत