दृष्‍टिकोण

दलाल समाजवाद !

भ्रष्ट, माफिया र नोकरशाहीसंग अंकमाल गर्ने सिद्धान्त कसरी लोकतान्त्रिक ?

  • हरि धिताल
  • २४ असार आइतबार, २०७५ | ०६:२५:०० मा प्रकाशित

कुनै पनि समाजवादी सिद्धान्त अंगिकार गर्ने सरकारले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षालाई असीमित नाफा सोहोर्ने खुल्ला बजारलाई सुम्पिएर आराम गर्न सक्दैन र मिल्दैन । यी महत्वपूर्ण चारवटा क्षेत्रलाई राज्यले नियन्त्रण, अनुगमन र दायित्व अन्तर्गत राख्दछ । 

खुद्रे ब्यापारीहरुको घरमा मेडिकलको ललीपप् दिँदै जाने कुरालाई सरकारी पार्टी कै राजनीतिक दस्तावेजले दलाल नोकरशाही मान्छ । दलाल, माफिया र नोकरशाही संग अंकमाल गर्ने सिद्धान्त कसरी लोकतान्त्रिक समाजवाद हुन्छ ? यो त दलाल समाजवाद भएन र ?

हामी यतिबेला समाजवादको परिभाषा र व्याख्याको अलमल मा परेको जस्तो लाग्छ । लोकतान्त्रिक र समाजवादी सरकारको राज्य निर्दिष्ट सिद्धान्त सेवा मुलक हो र हुनुपर्छ । संविधानमा उल्लेख भएको नागरिकको मौलिक हकलाई नाफा मुलक होइन सेवा मार्फत मुलुक र जनताप्रति उत्तरदायी हुनु लोकतान्त्रिक समाजवाद हो । फाँसीवाद र दलाल समाजवाद नक्कली समाजवाद हो, जो अहिले हाम्रो सामु अघिपछि गरेर घुम्दै छ । 

अहिले को चर्चामा रहेका गोविन्द केसी वर्तमान अवस्थामा लोकतान्त्रिक समाजवादको अग्रपंक्तिमा उभिएका छन् । हिजो के थिए, के के भयो, यो सबै मुल्यांकन अहिले हुनै सक्दैन । अहिले उहाँले उठाउनु भएको माग र आवश्यकता साँच्चै विपन्न र गरिबका रेखामुनि रहेका, स्रोत र साधन नभएका, योग्यता र क्षमता भएर पूँजिको अभावमा रुमल्लिएका तल्लो वर्गका छोराछोरीहरुको आवाजको प्रतिक हो । 

दलाल, माफिया र नोकरशाही संग आंकमाल गर्ने सिद्धान्त कसरी लोकतान्त्रिक समाजवाद हुन्छ ? यो त दलाल समाजवाद भएन र ?

सत्ता बाहिर हुँदा गुन्जयमान हुने वर्गसंघर्षका शब्दहरु सरकारमा प्रवेश संगै शव्दकोशमा खोज्नुपर्ने अवस्था आएको छ । जुम्लाको मार्सी चामल यतिबेला खुब चर्चाको शिखर मा छ । दुईजना अध्यक्षहरु मार्सी चामल को स्वादमा संगै जनताको स्वास्थ्य प्रति नागरिक को अधिकार लाई गुमनाम पारिएको छ । ठिक यति बेलै मार्सी धान फल्ने जुम्लामा नागरिक र विशेषगरी जुम्लीहरुको नागरिक र स्वास्थ्य अधिकारका लागि डा केसी जुम्लाको चिसो जाडोमा अनशनमा छन् । अब मार्सीको चामलसंगै जुम्लीहरुको न्याय र अधिकार राष्ट्रिय रूपमा उजागर भएको छ ।

अन्तमा सत्य र न्यायको यो सत्याग्रह मा अवश्यपनि सत्य र न्यायको किल्लामा लाग्नु तमाम् लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्ने नागरिकको धर्म र कर्तब्य हो । हिजो केसीकापनि गल्ती र कमजोरी पक्ष थिए होलान् यो नितान्त व्यक्तिगत विषय हो तर आज उनले जुन सत्य, न्याय र सामाजिक अधिकारको विषय उठाएका छन यो । मुलुकको लोकतान्त्रिक समाजवादी आन्दोलन कै प्रमुख मुद्दा रहने छ । यो सत्याग्रह मार्फत डा केसीको माग अब उहाँको मात्रै रहेन । मुलुकका दुर दराजमा रहने हरेक तह र तप्काका यो जायज र दुरगामी मागलाई राज्यले सम्बोधन गर्दै समाजवादी सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न सकोस् । 

शुभकामना ।
 

तपाईँको मत