राष्ट्रिय सभा

खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

  • २४ असार आइतबार, २०७५ | १६:२२:०० मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उहाँले राष्ट्रिय बजेटको ०.३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताए । 

खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उनले आगामी तीन वर्षभित्र खेलकूद परिषद् पुनःनिर्माण पूरा हुने विश्वास दिलाउनुभयो । देशभरका ७५३ वटै स्थानीयस्तरमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिएको छ भन्दै उहाँले स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताए । 

खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने बताए । 

स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमितरुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ भन्दै उनले उच्चस्तरको प्रविधियुक्त तालीम तथा पूर्वाधारका लागि पर्याप्त बजेट नभएको बताए ।

काठमाडौँ र पोखरामा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ थियो । मितव्ययी तवरले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा योग्य खेलाडी र प्रशिक्षक पठाइने प्रतिबद्धता व्यक्त गर्दै उनले घुम्न जाने परम्परालाई तोडिने बताए । 

तपाईँको मत