कला

कविता-नायग्राको नाममा

नायग्रा,
तिमी उत्ताउलिएर सुसेल्दै 
पातला पारदर्शी प्रकृत पोशाकमा 
असरल्ल कामदेवकि रती झैँ            
शरीर ओसाएर 
कपडा फर्काएर 
फदाल्दा पनि तिमी सुन्दरी मात्र रहेउ

बलात्कार सहनु परेन 
बाइफाला बनिनौ
नखर्मौउलि भैइनौ 
बेश्या कहलिएनौ
धन्य, तिम्रो भाग्य नायग्रा ।
तिम्रो भाग्य ।

नायग्रा 
तुइन चुढिएर खसेको दुधे बालकको स्वाद 
वर्षाको भेल बनेर खोसेको गरिबको गाँस 
माउसँग लुटेको पाठाको चित्कार 
आमा छुटेको बाछाको दुत्कार ,
तिमीले केहि भोग्नु परेन 
तिमी कति भाग्यमानी 
तिमी बोक्सी बन्नु परेन 
तिमी छौंडा भैनऊ 
र तिमीले दिसा खानु परेन,
तिम्रो भाग्य नायग्रा ।
तिम्रो भाग्य ।

नायग्रा,
तिमीलाई थाहा छैन होला 
मलाई मेरो पण्डितले भनेको-
"तिम्रो फिँजमा इन्द्रको ब्रम्महत्याको पाप छ"
त्यो पापको फोका,
मेरी आमाको रजस्वला जत्तिकै कलुषित छ 
छुनु हुदैन, भगवानले मन पराउँदैनन् 
रुखमा फल लाग्दैन
फलफुल कुहिञ्छ।।।
के गर्नु ,
तिमी उत्तरी ध्रुबमा जन्मिएउ 
तिमीलाई छाऊ जानु परेन 
सर्पले डसेन
तिमीमा अकाल मृत्य पसेन 
र 
मलामी जान कुरेर बसेका हामी 
बेरोजगार भएउ,
तिम्रो भाग्य नायग्रा ।
तिम्रो भाग्य ।
 

रविन थपलिया 

नेपाली साहित्य समाज क्यानाडाको आयोजनामा सम्पन्न भएको 'सीमा वारिपारि काव्य संगम' को अवसरमा मैले नायग्रा फल्समा वाचन गरेको कविता ।

तपाईँको मत