राजनीति

आठ सम्झौतापत्रमा हस्ताक्षरपछि प्रम ओलीकाे सम्बोधन

  • ६ असार बुधबार, २०७५ | १०:५४:०० मा प्रकाशित

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । 

सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए । 

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाए । 

“अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ । नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पु¥याउनेछ ।” प्रधानमन्त्री ओलीले भने, “आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु ।” प्रधानमन्त्री ओली पहिलोपटक सन् २०१६ को मार्चमा चीनको औपचारिक भ्रमणमा गएका थिए । 

उनले अघिल्लोपटक भएका व्यापार र पारवहन सम्झौता कोशेढुंगा भएको र त्यसले पूर्वाधार विकासका क्षेत्रमा अझ नयाँ उचाइमा पु¥याउन योगदान गर्ने र ती सम्झौतालाई अघि बढाउने पहल भइरहेको बताए । 

“हाम्रा स्रोत, साधनको परिचालन र छिमेकी र सहयोगीको साथ सहयोग लिएर अघि बढिनेछ । राजनीतिकरुपमा स्थिर र स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्छ । प्राकृतिक स्रोत र कच्चा पदार्थ सहज उपलब्ध छ । मजदूर हडतालका समस्या छैनन् । समृद्धि र विकासका लागि उपयुक्त वातावरण बनेको छ ।” प्रधानमन्त्री ओलीको भनाइ थियो । 

समृद्ध र गतिशील मुलुक बनाउन पर्यटन, कृषि, उद्योगका क्षेत्रमा सहकार्यमा जोड दिँदै उद्यमशीलताको वृद्धि गरी दक्ष जनशक्ति, कृषिका निम्ति आवश्यक पर्ने पूर्वाधारको तयारी र प्रविधि हस्तान्तरणको क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिए । 

“चीनको असाधारण क्षमता छ । सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,” प्रधानमन्त्री ओलीले भने । 

नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको पनि बताए । रासस

तपाईँको मत