पत्र-पत्रिकाबाट

सयमा ७४ जारको पानी दूषित

  • ६ असार बुधबार, २०७५ | ०७:०४:०० मा प्रकाशित

काठमाडौं । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन र परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।

नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो । ‘कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गरेका थियौं,’ पन्तले भने, ‘सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेला पर्‍यो ।’

राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ । केही कोलिफर्म हानिकारक नभए पनि मापदण्डमा शून्य हुनुपर्ने भएकाले त्यसको प्रमाणीकरण गर्नतिर नलागिएको उनले जानकारी दिए ।

‘परीक्षणका क्रममा कोलिफर्म ९२ प्रतिशत देखिएको छ । सबै हानिकारक नभए पनि छुट्याउन जरुरी पनि छैन,’ उनले भने, ‘मापदण्डअनुसार कोलिफर्मको मात्रा शून्य हुनुपर्ने भनिएको छ ।’ हानि गर्ने कोलिफर्मले आउँ, पखालालगायत हुन्छ । मापदण्डअनुसार भौतिक, रासायनिक, बाइलोजिकलगायत २२ वटा प्यारामिटर छन् । यसमा पीएच, धमिलोपन, आइरन, आरसेनिक, क्याडमियम, मरकरी, कोलिफर्म, इकोलाईलगायत पर्छन् । परीक्षणका क्रममा १२ प्रतिशतमा पीएच (अमिलोपना) एसिड फेला परेको जनाएको छ । मापदण्डअनुसार पीएच ६.५ देखि ८.५ बीचको हुनुपर्छ । तर, १२ प्रतिशतमा जारमा ६.५ भन्दा कम भएको पन्तले बताए । ‘पीएच कम हुँदा पानीको स्वाद हुँदैन । हात चिलाउने समस्या हुन्छ,’ उनले भने ।
दुई प्रतिशत जारमा आइरन बढी देखिएको छ । मापदण्डअनुसार एक लिटरमा ०.३ मिलिग्रामभन्दा बढी आइरन हुनुहुँदैन । ४८ जारको पानीमा अमोनिया फेला परेको छ । अमोनियाले श्वासप्रश्वासमा समस्या हुन्छ । पानीमा तिखो गन्ध हुन्छ । लामो समयसम्म प्रयोग गरे मुटुसम्बन्धी समस्या हुने नाष्टले जनाएको छ । मापदण्डअनुसार पानीमा फ्लोराइडको मात्रा ०.५ देखि १.५ हुनुपर्छ । तर, १८ प्रतिशतमा जारको पानीमा उच्च मात्रामा फ्लोराइड फेला परेको छ । २० प्रतिशतमा कम मात्रामा पाइएको नाष्टले जनाएको छ ।

पन्तका अनुसार कम मात्रामा फ्लोराइड हुँदा हड्डी कमजोर हुने, हड्डी लुलो हुने समस्या हुन्छ । बढी हुँदा हड्डी खिइने, दाँत प्वाल पर्नेलगायत समस्या उत्पन्न हुने नाष्टले जनाएको छ । नाष्टले अनुसन्धान मात्रै गर्छ । थप कारबाही प्रक्रियाका लागि परीक्षण प्रतिवेदन नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पठाएको नाष्टले जनाएको छ । ‘नियमन र कारबाही गर्ने निकाय खाद्य प्रविधि हो । जारको ब्रान्डसहित प्रतिवेदन पठाएका छौं,’ पन्तले भने, ‘थप कारबाही प्रक्रिया खाद्यले गर्छ ।’कान्तिपुर दैनिकमा खबर छ । 

तपाईँको मत